बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सात महिना सुनसान रहेको रारामा आन्तरिक पर्यटकको चहलपहल बढ्यो

शुक्रबार, २८ कात्तिक २०७७, १० : ०५
शुक्रबार, २८ कात्तिक २०७७

सिञ्जा । कोरोना महामारीका कारण सुनसान रहेका पर्यटकीय क्षेत्रमा बिस्तारै चहलपहल बढ्न थालेको छ । सोही क्रममा पछिल्लो समय मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको संख्या बढेको छ ।
दसैँतिहारमा बिदा परेका कारण रारा ताल घुम्न जानेको संख्या बढेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

कोरोना महामारीका कारण आन्तरिक तथा बाह्य पर्यटकको अभावमा करिब सात महिना सुनसान रहेको रारामा अचेल दैनिक १ सय ५० जनासम्म आन्तरिक पर्यटक आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढा बताउँछन् ।

‘विगतमा सुनसान रहेको रारामा अहिले घुम्न आउनेको संख्या बढ्दै गएको छ,’ उनले भने, ‘अहिले राराका आसपासका होटेल र गाउँ भरिभराउन हुन थालेका छन् ।’
रारा राष्ट्रिय निकुञ्जका अनुसार गत असोज यता रारामा झन्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । आन्तरिक पर्यटकहरु प्रायः मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेका निकुञ्जका निमित्त संरक्षण अधिकृत बुढाको भनाइ छ ।

रारामा घुम्न आउने पर्यटक बढेका कारण सुर्खेत र नेपालगञ्जबाट रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म उडान भर्ने गरेका छन् ।
रारा घुम्न चैत, वैशाख, जेठ, भदौै, असोज, कात्तिक महिना उपयुक्त मानिन्छ । ‘प्रायः पर्यटक हिउँद र वर्षा सकिएपछि रारा घुम्न आउने गरेका छन्,’ मुगु झ्यारिका रमेश रावतले भने, ‘त्योबाहेक अरू समयमा निकै कममात्र पर्यटक आउने गरेका छन् ।’

बिदामा रारामा जानेको संख्या वृद्धि भएपछि कर्णाली राजमार्गमा रहेका होटेलमा पनि चहलपहल बढेको सिञ्जा गोठिज्युलाका  होटल ब्यवसायी भक्तबहादुर बुढाले बताए । ‘रारा घुम्न आउने पर्यटकका कारण कर्णाली राजमार्गका होटल तथा अन्य व्यवसायमा चहलपहल बढेको छ,’ उनले भने ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

उपेन्द्र न्यौपाने
उपेन्द्र न्यौपाने
लेखकबाट थप