कुनै बेला नाकाबन्दीका लागि धर्नामा बसेकाहरु अहिले नाका खुलाउन धर्नामा

काठमाडौं । कोरोना महामारीका कारण बन्द गरिएको नेपाल–भारत सीमा नाका खुलाउन माग गर्दै विभिन्न नाकामा धर्नासहितको आन्दोलन सुरु भएको छ । विगत ९ महिनादेखि नेपाल–भारत सीमा नाका बन्द रहेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैतदेखि बन्द गरिएको नाका मंसिर मसान्तसम्म नखुल्ने भएको छ । भारतका तर्फबाट नाका खुला गरिए पनि नेपालतर्फ बन्द नै छ ।
आन्तरिक रुपमा लकडाउन खुले पनि सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । लामो समयदेखि नाका बन्द हुँदा सीमा क्षेत्रमा रहेका दुवै देशका नागरिकलाई समस्या भइरहेको भन्दै ठाउँ ठाउँमा धर्नासहितका आन्दोलन हुन थालेको छ ।
सीमा बन्द रहेका कारण सामाजिक, आर्थिक, साँस्कृतिक सम्बन्धमा सिधै असर परिरहेको वीरगञ्जमा कार्यरत पत्रकार चन्द्रकिशोरले बताए । दुई देशबीच यातायात पूर्ण रुपमा ठप्प छ भने अत्यावश्यक कामका लागि मानिसहरु पैदल एकअर्का मुलुकमा ओहोर दोहोर गरिरहेका छन् । भारतसँग जोडिएका विभिन्न नाकामध्ये अहिले १० वटा नाकामात्र खुला छ ।
नाका बन्दले गर्दा विवाह, व्रतबन्ध, मृत्यु संस्कार, उपचार तथा व्यापार व्यवसायमा सिधै असर परिरहेको नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष राजिव झाले बताए । धनुषा जिल्लाको दुहवी नाकामा विगत ६ दिनदेखि स्थानीयबासी धर्नामा रहेको र सर्लाही, बारा, पर्सा लगायतका जिल्लामा पनि धर्नाका कार्यक्रमहरु भइरहेको उनले जानकारी दिए । सो धर्नामा दुवै देशका सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको सहभागिता रहेको उनको भनाइ छ ।
सोमबारदेखि महोत्तरीको मनरा सिसवा नगरपालिका र सिरहाको माडर सीमा क्षेत्रमा पनि धर्ना सुरु भएको उनले बताए । केही दिन धर्ना तथा अनसनका कार्यक्रममार्फत सरकारलाई सीमा खुला गर्न ध्यानाकर्षण गराउने तर त्यसबाट पनि माग पूरा नभए सशक्त आन्दोलन गर्ने उनले जनाए । उनले भने, ‘अब बिहेको सिजन सुरु हुँदैछ, दुवै देशका नागरिकको एक अर्काको देशमा बिहे हुने चलन छ, त्यसमा समेत असर परेका कारण अब नागरिकस्तरबाटै आन्दोलनको सुरुवात हुनेछ ।’
महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले सीमा नाका बन्द हुँदा दुवै देशका जनतालाई सास्ती भइरहेको आफूले पनि महसुस गरेको बताए । यसबारे गृह मन्त्रालयलाई जानकारी गराईसकेको उनको भनाइ छ ।
मन्त्रिपरिषद्बाट निर्णय गरी नाका बन्द गरेका कारण मन्त्रिपरिषदबाटै खुलाउनुपर्ने बताउँदै उनले आफूहरुले चाहेरमात्र नाका खोल्न नमिल्ने प्रस्ट पारे । ‘सीमा नाकामा आन्दोलन भइरहेको छ, जनस्तरबाटै नाका खुलाउन माग भइरहेको भन्नेबारे हामीले मन्त्रालयलाई जानकारी दिइसकेका छौँ,’ उनले भने, ‘माथिबाट आउने निर्देशन अनुसार नै हामीले काम गर्ने हो ।’
अध्यक्ष झा भने नेपाल–भारत खुला सीमालाई सधैँका लागि बन्द गर्ने उद्देश्यले सरकारले अहिलेसम्म नाका बन्द जारी राखेको बताउँछन् । ‘इपीजी समूहको प्रतिवेदनमा खुला सीमा नाका बन्द गर्न प्रस्ताव गरिएको छ,’ उनले भने, ‘सोही अनुसार लामो समय सीमा नाका बन्द गरेर जनताको मनोभावना र त्यसको असरबारे सरकारले अध्ययन गरिरहेको छ ।’
जसपाको साथ
नाका खुलाउने विषयमा जनता समाजवादी पार्टी नेपालले औपचारिक निर्णय नगरे पनि सो दलका नेताहरु नाका खुलाउन माग गर्दै भइरहेका धर्नामा प्रत्यक्ष रुपमा सहभागी भएका छन् । राजिव झा स्वयं जसपा नेपालका नेता हुन् । उनी संवाद समूहमार्फत आन्दोलनमा लागेका छन् । रौतहटमा भएको धर्ना कार्यक्रमा जसपा नेपालका कार्यकारिणी समितिका सदस्य अनिलकुमार झा स्वयं सहभागी भएका थिए र उनले सीमा नाका खुलाउन सरकारलाई आग्रह पनि गरेका थिए । दुई देशको खुल्ला नाका बन्द रहेको कारण जनताले सास्ती व्यहोरिरहेको र यसले दुई देश बीचको सम्बन्धमा असर परेको उनले बताए ।
जसपा नेपालका केन्द्रीय सदस्य एवं प्रदेश २ प्रदेशसभा सदस्य योगेन्द्र राय यादव पनि बन्द नाका खुला हुनुपर्नेमा जोड दिन्छन् । उनले सीमा नाका खुलाउनका लागि भइरहेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको र यसका लागि आन्दोलनलाई अझै सशक्त बनाउनुपर्ने बताए । उनले भने, ‘जिल्ला जिल्लामा धर्ना दिने काम भइरहेको छ, यदि त्यो धर्नालाई पनि सरकारले देखेन र सुनेन भने जनस्तरबाटै आन्दोलनको सुरुवात गर्नुपर्छ ।’
उल्लेखनीय छ, संविधान जारी हुनासाथ तत्कालीन मधेसवादी दलका नेताहरुले सीमा नाकामा धर्ना दिँदै लामो समय नाकाबन्दी गराएका थिए । सीमा नाकामा उनीहरुको धर्नालाई नै देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेको थियो । त्यतिबेला सीमा नाका बन्द गराउने उद्देश्यले धर्नामा बसेका नेताहरु नै एकीकृत हुँदै अहिले जनता समाजवादी पार्टी नेपालमा आवद्ध छन् ।
संवाद समूहका अध्यक्ष झा भने यो आन्दोलनमा पार्टीको कुनै संलग्नता नरहेको बताउँछन् । ‘पार्टीले आन्दोलन गर अथवा नगर भनेको छैन,’ उनले भने, ‘त्यसैले यसमा पार्टीको संलग्नता भन्न मिल्दैन ।’
आफूहरुले संवाद समूहमार्फत आन्दोलन गरिरहेको तथा अन्य ठाउँमा पनि नागरिकस्तरबाटै आन्दोलन भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सञ्जालमा लेखेकै आधारमा केसीलाई जेल हालियो : सांसद शाही
-
सामाजिक सुरक्षा कोषमा अर्बौं रकम जम्मा, वैदेशिक रोजगारीमा जानेहरु धेरै आवद्ध
-
बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले २४ अर्ब निक्षेप उठाउँदै
-
ऐतिहासिकस्थल ‘गोल्मे राजा, गोल्मे रानी’ पर्यटकको पर्खाइमा
-
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
-
अस्ट्रेलियाको बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर