हिमालय जेटको उडान तयारी अन्तिम चरणमा, विभिन्न पदमा रोजगारी खुला
सारांश
- हिमालय जेटले बेलायत, युरोप र अस्ट्रेलियासँग नेपाललाई प्रत्यक्ष लामो दूरीको हवाई सेवामार्फत जोड्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
- कम्पनीले ग्राहक सेवा र सञ्चालनसँग सम्बन्धित विभिन्न पदमा रोजगारीका लागि आवेदन आह्वान गरेको छ।
- हिमालय जेटले नेपालको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्पर्कलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
लन्डन। नेपाललाई बेलायत, युरोप र अस्ट्रेलियासँग प्रत्यक्ष लामो दूरीको हवाई सेवामार्फत जोड्ने लक्ष्यसहित अघि बढिरहेको हिमालय जेटले आफ्नो तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।
कम्पनीले पहिलो चरणमा ग्राहक सेवा तथा सञ्चालनसँग सम्बन्धित विभिन्न पदका लागि आवेदन आह्वान गर्दै रोजगारी खुला गरेको छ।
कम्पनीका अनुसार नेपालमा करिब तीन वर्षसम्म राजनीतिक तथा नियामकीय चुनौती सामना गरेपछि बहुप्रतीक्षित हिमालय जेट परियोजना अहिले अन्तिम तयारीको चरणमा पुगेको हो। कम्पनीले नेपाललाई बेलायत, युरोप र अस्ट्रेलियासँग प्रत्यक्ष हवाई सेवामार्फत जोड्ने आफ्नो दीर्घकालीन लक्ष्यलाई साकार पार्ने प्रारम्भिक तयारी पूरा गरिसकेको जनाएको छ।
नेपाल विश्वका आठ वटा अग्ला हिमालहरूको घर तथा प्रमुख पर्यटकीय गन्तव्य भए पनि विगत ३५ वर्षभन्दा बढी समयदेखि प्रत्यक्ष लामो दूरीको हवाई सेवाको अभावका कारण अन्तर्राष्ट्रिय पर्यटक र गैरआवासीय नेपाली सहज हवाई पहुँचबाट वञ्चित रहँदै आएको हिमालय जेटले उल्लेख गरेको छ। कम्पनीले आफ्नो परियोजनाले यो अवस्थाको अन्त्य गर्दै नेपालको पर्यटन, व्यापार र अन्तर्राष्ट्रिय सम्पर्कलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेको छ।
कम्पनीका अनुसार यो उपलब्धि पुस्तौँदेखिको समर्पण, निरन्तर मेहनत र अटल प्रतिबद्धताको परिणाम हो। विश्वका अग्रणी उड्डयन विज्ञ तथा परामर्शदाताहरूको सहयोग, अन्तर्राष्ट्रिय नागरिक उड्डयन निकायहरू तथा नीति निर्माताहरूसँगको समन्वय र बेलायत, युरोप तथा अस्ट्रेलियाका अन्तर्राष्ट्रिय मान्यता प्राप्त एयर अपरेटरहरूसँगको साझेदारीमार्फत प्रारम्भिक उडान सञ्चालनको व्यवस्था गरिएको छ।
हिमालय जेटले आफ्नै एयर अपरेटर सर्टिफिकेट (एआओसी) प्राप्त नगरेसम्म साझेदार एयरलाइन्समार्फत सेवा सञ्चालन गर्ने योजना बनाएको छ। त्यसपछि नेपाल युरोपेली युनियनको हवाई सुरक्षा सूचीबाट हटाइने अपेक्षासँगै आफ्नै एओसीअन्तर्गत पूर्ण रूपमा नियमित उडान सञ्चालन गरिने कम्पनीको भनाइ छ। कम्पनीले निकट भविष्यमा लन्डनमा आयोजना गरिने आफ्नो पहिलो अन्तर्राष्ट्रिय पत्रकार सम्मेलनमार्फत परियोजनासम्बन्धी विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ।
यसैबीच हिमालय जेटले पहिलो चरणमा यात्रु सेवा अधिकृत, ग्राहक सेवा कार्यकारी, विमानस्थल सञ्चालन सहायक, रिजर्भेसन तथा टिकटिङ अधिकृत, सम्पर्क केन्द्र (कल सेन्टर) सल्लाहकार, ग्राउन्ड सञ्चालन सहयोगी, प्रशासन तथा कार्यालय सहयोगी, वित्त तथा लेखा सहायक, मानव संसाधन अधिकृत, मार्केटिङ तथा बिक्री कार्यकारी, आईटी सहयोग अधिकृत तथा सञ्चालन संयोजक पदका लागि आवेदन खुला गरेको छ।
अनुभवी पाइलट तथा क्याबिन क्रूहरूको व्यवस्थापन साझेदार एयरलाइन्समार्फत गरिसकिएको छ भने बेलायत, युरोप र अस्ट्रेलियामा ग्राउन्ड ह्यान्डलिङ सेवा सम्बन्धित योग्य जीएसएमार्फत सञ्चालन गरिने कम्पनीले जनाएको छ।
नेपाल, बेलायत, युरोप र अस्ट्रेलियामा रहेका नेपाली युवासहित नेपाली भाषा धाराप्रवाह बोल्न सक्ने विदेशी नागरिकले पनि आवेदन दिन सक्नेछन्। इच्छुक उम्मेदवारहरूले आफ्नो सिभी [email protected] मा पठाउन सक्नेछन्। आवेदन दिने अन्तिम मिति ३० जुलाई २०२६ तोकिएको छ।
हिमालय जेटले यो परियोजना नेपाललाई विश्वसँग प्रत्यक्ष रूपमा जोड्ने, पर्यटन प्रवर्द्धन गर्ने तथा भविष्यमा हजारौँ रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजनाको महत्त्वपूर्ण सुरुवात भएको दाबी गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको परिवारलाई गगन थापाले गरे १ लाख सहयोग
-
आन्तरिक विवादले रुपन्देहीको कोटहीमाई गाउँपालिकामा अझै आएन बजेट
-
काठमाडौँमा एक वर्षमा २५ सय २८ विरोध प्रदर्शनका घटना
-
फुटबल क्लबका हस्ती प्रशिक्षकहरू धमाधम राष्ट्रिय टोलीमा जाँदै
-
प्रचण्डको प्रश्न : भदौ २३ र २४ गते हामी किन निरीह भयौँ ?
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण