शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय

मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

शनिबार, ०९ साउन २०८३, ०९ : २९
शनिबार, ०९ साउन २०८३

सारांश

  • मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ ।
  • पहिरोले च्यापिएका बालक रमेश बडुवाललाई प्रहरीले उद्धार गरी स्वास्थ्य चौकी पुर्याए पनि उपचारका क्रममा मृत्यु भएको हो ।
  • घटनामा बालकका बुबा र आमा सामान्य घाइते भएका छन् भने पहिरोले घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ ।

मुगु । मुगुको मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ  भने दुई जना घाइते भएका छन् ।

शनिबार साउन ९ गते बिहान करिब ४:०० बजे मुगम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल सञ्चालन गरी बस्दै आएका छायाँनाथ रारा नगरपालिका –१३ तिर्पका ३२ वर्षीय जगनाथ बडुवाल, उनकी २७ वर्षीया श्रीमती सृजना बडुवाल र ३ वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगा सहितको पहिरो घरमा खसेको थियो ।

पहिरोले च्यापिएका ३ वर्षीय रमेश बडुवाललाई प्रहरी चौकी डोल्फु पुलुबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए । बिहान ४:४८ बजे उनलाई पुलु स्वास्थ्य चौकी पुर्‍याइए पनि उपचारकै क्रममा बिहान ५:४५ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् । 

घटनामा जगनाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ ।

पहिरोले उक्त घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ । साथै, थप क्षति हुन सक्ने जोखिमका कारण आसपासका आठ घर उच्च जोखिममा परेपछि स्थानीयलाई सुरक्षित स्थानमा सारिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप