शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित

शनिबार, ०९ साउन २०८३, १० : ४६
शनिबार, ०९ साउन २०८३

म्याड्रिड । फ्रान्स र स्पेनमा फैलिएको भीषण डढेलोका कारण एक लाख ६० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । तीव्र हावा र लामो खडेरीका कारण डढेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली सङ्घ (इयू) सँग सहयोग मागेका छन् ।

फ्रान्सको दक्षिणपश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी म्याड्रिड आसपासका क्षेत्रमा डढेलोले व्यापक क्षति पु¥याएको छ । फ्रान्समा करिब एक लाख ४१ हजार तथा म्याड्रिड क्षेत्रमा करिब २५ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन् ।

विस्थापितमध्ये एक हजार २०० भन्दा बढी वृद्धवृद्धा तथा अपाङ्गता भएका व्यक्ति रहेका छन् ।

बोर्डोको दक्षिणस्थित पर्यटकीय क्याप फेरेट प्रायद्वीपबाट मात्र करिब ४४ हजार मानिसलाई उद्धार गरिएको छ । आगोका कारण त्यहाँ ५० भन्दा बढी घर नष्ट भएका छन् । डुङ्गा र सवारी साधनमार्फत् स्थानीय बासिन्दा तथा पर्यटकलाई सुरक्षित स्थानमा पुर्याइएको छ ।

फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले डढेलो नियन्त्रणका लागि युरोपेली सङ्घसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ । फ्रान्सका गृहमन्त्री लरेन्ट नुनेजले यो देशले अहिलेसम्मकै सबैभन्दा भीषण डढेलोको सामना गरिरहेको बताए ।

स्पेनमा म्याड्रिड क्षेत्रीय आपतकालीन व्यवस्थापन प्रमुख कार्लोस नोभिलोले राजधानी आसपासको डढेलो अग्निनियन्त्रकहरूको नियन्त्रण क्षमताभन्दा बाहिर पुगेको बताउनुभएको छ । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले प्रभावित क्षेत्रको निरीक्षण गर्ने कार्यक्रम तय गरिएको छ ।

फ्रान्सले डढेलो नियन्त्रणका लागि करिब एक हजार सैनिक परिचालन गरेको छ । साथै, धुवाँबाट प्रभावित क्षेत्रका बासिन्दा र उद्धारकर्मीका लागि १५ लाखवटा एफएफपी–२ मास्क वितरण गरिने जनाइएको छ ।

क्याप फेरेट क्षेत्रमा आगो नियन्त्रणमा खटिएका करिब एक हजार अग्निनियन्त्रकमध्ये ४० जना घाइते भएका छन् । यसै साता फ्रान्स र इटालीमा डढेलो नियन्त्रणका क्रममा तीन अग्निनियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

युरोपेली आयोगले सहयोगस्वरूप फ्रान्सका लागि तीन र स्पेनका लागि चारवटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ ।

अधिकारीहरूका अनुसार फ्रान्समा हालसम्म १३ हजार ५०० हेक्टरभन्दा बढी र म्याड्रिड क्षेत्रमा करिब छ हजार हेक्टर वन तथा जमिन डढेलोले नष्ट गरिसकेको छ । ग्वाडालाजारा क्षेत्रमा फैलिएको अर्को डढेलोले ३२ हजार हेक्टरभन्दा बढी क्षेत्र जलेको छ ।

वैज्ञानिकहरूले मानव गतिविधिका कारण भएको जलवायु परिवर्तनले खडेरी र अत्यधिक गर्मी बढाएकाले युरोपमा डढेलोको जोखिम झन् तीव्र बन्दै गएको बताएका छन् ।

---

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप