शनिबार, ०९ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

७ लाख ५० हजार घुससहित सिँचाइ कार्यालय सर्लाहीका डिभिजन प्रमुख र अधिकृत पक्राउ

शनिबार, ०९ साउन २०८३, ०९ : ४९
शनिबार, ०९ साउन २०८३

सारांश

  • भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरीलाई साढे सात लाख रुपैयाँ घुससहित अख्तियारले पक्राउ गरेको छ।
  • सेवाग्राहीसँग बोरिङ र मोटर जडान कार्यको भुक्तानीका लागि घुस माग गरिएको सूचनाका आधारमा अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • उनीहरूको साथबाट घुसको साढे सात लाख रुपैयाँसहित स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र ३ थान मोबाइल फोनसमेत बरामद गरिएको छ।

सर्लाही । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, सर्लाहीका डिभिजन प्रमुख र एक अधिकृतलाई साढे सात लाख रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेहरूमा डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन्। उनीहरूलाई आयोगको बर्दिबासबाट खटिएको टोलीले साउन ८ गते नियन्त्रणमा लिएको हो।

अख्तियारका अनुसार, बोरिङ र मोटर जडान गर्ने कार्य सम्पन्न भएपछि सो कार्यको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग घुस माग गरिएको थियो। "काम सम्पन्न भएपछि रकम भुक्तानीका लागि दुःख हैरानी दिई घुस/रिसवत माग गरिरहेको" भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई पछ्याएको थियो।

टोलीले डिभिजन प्रमुख ढकाल र अधिकृत चौधरीलाई सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा बागमती नगरपालिका वडा नं. १२ स्थित डिभिजन प्रमुखको क्वार्टरबाट नियन्त्रणमा लिएको हो।

खानतलासीका क्रममा उनीहरूको साथबाट घुसबापतको साढे ७ लाख रुपैयाँका साथै स्रोत नखुलेको थप ७१ हजार ११५ रुपैयाँ र ३ थान मोबाइल फोनसमेत बरामद गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप