नेपालमा यसरी मनाइयो भारतको ७२ औं गणतन्त्र दिवस, तस्विरमा हेर्नुहोस्

काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो अवसरमा नेपालका लागि भारतका राजदूत विनय मोहन क्वात्राले झण्डोत्तोलन गरी भारतको राष्ट्रिय झण्डा फहराएका छन् । त्यसपश्चात उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाए ।
दूतावसमा आयोजित कार्यक्रममा राजदूत क्वात्राले वीर नारी, मृतक सैनिकका श्रीमती र मृतक सैनिकका निकटतम नातेदारलाई ३.६८ करोड रुपैयाँ नगद तथा कम्मल वितरण गरी सम्मान गरे । राजदूतावासले नेपालका ५० पुस्तकालय तथा शैक्षिक संस्थाहरुलाई पुस्तक उपहारस्वरुप प्रदान पनि गरेको छ ।
दिवसको अवसरमा राजदूतले इंडिया हाउसमा स्वागत समारोहको आयोजना गरेका थिए । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली सो समारोहको मुख्य अतिथिका रुपमा सरिक थिए ।
सो समारोहमा नेपालका भूतपूर्व सम्माननीय राष्ट्रपति रामवरण यादवले Sampark-India-Nepal Alumni Network का साथै www.samparkbharatnepal.com वेबसाइटको शुभारम्भ गरे । समारोहमा भारतमा अध्ययन गरेका नेपालका शीर्ष नेता, अधिकारी, पत्रकार तथा चर्चित व्यक्तित्वहरुको उपस्थिति थियो । भारत र नेपालबीचको जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन उनीहरुले पु-याएको योगदानलाई कदर गर्दै सम्मान पनि गरिएको गरियो ।
त्यस्तै, भारतीय राजदूतावासद्वारा आयोजित Maitri Through My Lens’ फोटो प्रतियोगिताका तीन उत्कृष्ट प्रतियोगीलाई चेक तथा प्रमाणपत्र प्रदान गरियो ।