दशा बन्यो मिर्गौला बेच्नेको दशैं, आफ्नै शरीर बेच्नेहरु पश्चातापमा जल्दै
दिनेश घिमिरे
काभ्रे– काभ्रे जिल्लामा मिर्गौला बेचबिखनका घटना दिनप्रतिदिन बढिरहेका छन् । राजधानी नजिकको काभ्रे जिल्ला मानव अंग बेचविखनमा निकै कहलिएको छ । काभ्रेको पाँचखाल नगरपालिक स्थित होक्से गाउँ मिर्गौला बेच्ने गाउँको रुपमा देशविदेशमा समेत परिचित छ । बैंक अफ किड्नीको नामले चिनिएको होक्सेबजारका साथै जिल्लाको ज्याम्दी, जैसीथोक, बालुवा, अनेकोट, मथुरापाटी फुलबारी, पाँचखाललगायत ठाउँहरुमा मानव अंग बेचविखनसँगै मानव बेचविखन बढ्दो छ । हालसम्मको तथ्याङ्कअनुसार होक्सेमा १ सय १२ जना, पाँचखालमा १ सय २ जना र ज्याम्दीका ५६ जनाले आफ्नो एउटा मिर्गौला विभिन्न समयमा बेच्ने गरेको पाइएको छ ।
दलालको जालमा परेर भारतको एक मदरास अस्पतालमा बाध्यतामा मिर्गौला बेचेका काभ्रे होक्सेका ५२ वर्षीया छन्द दर्जीको एक वर्ष अघि मात्र मृत्यू भयो ।
दर्जीको अकालको मृत्यु हुनुको एक मात्र कारण थियो, उनको मृगौला तस्कर हुनु । दर्जीले मृत्युअघि रातोपाटीसँग कुरा गर्दै आफूले मृर्गौला बेच्नुपर्दाको बाध्यता गरिवी भएको सुनाएका थिए । गरिबीका कारण दलालहरु सित्तैमा भारत घुम्न लगिदिने भन्दै दर्जीलाई भारत पु¥याएका थिए ।
भारत पुगेपछि धेरै खर्च भयो । लहलहैमा घुम्न गएका दर्जीलाई दलालहरुले भारत घुम्दा लागेको रकम तिर्न दवाव दिए । पैसा नभएका दर्जीलाई कि पैसा देउ कि त मिर्गौला देउ भन्दै बाध्यतामा पारी उनको मृगौला तस्करहरुले झिकेको दर्जीले बताएका थिए । छन्द दर्जीले भारत घुम्ने रहरमा दलालको फन्दामा परी आफ्नो मृगौला बेच्न बाध्य भए । दलालको फन्दामा परी मृगौला बेचेका छन्द दर्जीको मृत्यु भएको छ ।
मृत्यूअघि दर्जीले काठमाडौंको पुतली सडकमा बस्ने देवीलाल भन्ने व्यक्तिले आफूलाई भारत पुर्याएर मिर्गौला झिकेको तथ्य खुलासा गरेका थिए । दर्जीको मृत्यूसँगै उनको परिवारको वेहाल भएको छ । कमाउने कोही छैन र काम गर्ने कुनै उपाय नहुँदा दर्जीको परिवारले दशैं मनाउन समेत सकेन ।
स्वर्गीय दर्जीको जस्तै पीडा स्थानीय कृष्ण बजगाईँको परिवारको पनि दशैँ राम्रो हुन सकेन । कारण बजगाईँको स्वास्थ्य अवस्था राम्रो छैन । मिर्गौला झिकेकै उनको स्वास्थय समस्या जटिल हुँदै गएको छ । उनलाई पनि दलालले विभिन्न प्रलोभनमा पारी भारत पु¥याई मिर्गौला झिकेका थिए ।
काभ्रे जिल्लाको सदरमुकाम भन्दा करिब १५ किलोमिटरको दुरुमा पर्ने पाँचखाल नगरपाकिा वडा नं ६ स्थित होक्से बजारका १ सय ५० स्थानीयको अवस्था दर्जी र बजगाईँको भन्दा भिन्न छैन । दलालको प्रलोभन र षडयन्त्रमा आफ्नो मिर्गौला बेचेकाहरु यतिखेर परिवार समाजबाट अपहेलित जीवन मात्र बिताइरहेकामा छैनन्, दुखाई भुलाउन भन्दै उनीहरु मदीराको लतमा लागेका छन् । जसका कारण धेरै जसो रोगी छन् । शरीर कमजोर भएका कारण कुनै काम गर्न नसक्दा उनीहरुको जीवन कहालीलाग्दो छ र दशैं तिहार लगायतका पर्वमा उनीहरुको कुनै रौनक आउँदैन ।
दलालको फन्दामा परी मिर्गौला बेच्नेहरुको शारीरिक अवस्था पहिलाको तुलनामा कमजोर भएको छ । मृगौला बेच्नेहरु यसै कारण दिनप्रतिदिन थला परिरहेका छन । मिर्गौला बेचेकाहरु पहिलाको तुलनामा धेरै गाह्रो हुन थालेको अनुभव सुनाउँछन् । गरिबी र अभावका कारण मिर्गौला बेचेपछि उनीहरुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको छ । मृगौला झिकेपछि भारी बोक्न नसकिने, मृगौला झिकेको ठाउँ भतभत पोल्ने, दिसा र पिसाबमा रगत आउने शरीरका विभिन्न अंग सुन्निने र श्वास फेर्न गाह्रो हुने जस्ता समस्या हुने गरेकोे उनीहरु बताउँछन् ।
गरीवी र आर्थिक समस्याको फाइदा उठाउदै मृगौला तस्करीहरुको प्रलोभन र लहैलहैमा लागेर मिर्गौला बेच्ने होक्सेगाउँभरिका सयौ मृगौला पीडितहरुले दुखाई र पिडा भुलाउन औषधिका रुपमा मदीरा सेवन गर्न थालेका छन् । रहरमा होस या करमा, आफ्नै शरीरको मिर्गौला बेचेका अधिकाशलाई रोगबाट ग्रसित हुन थालेपछि दुखाई र पीडा भुलाउन रक्सी पिउन थालेका हुन् । तस्करहरुको जालमा परी मिर्गौला बेच्नेहरु अहिले दैनिक रक्सी खाएर आफ्नो पीडा भुलाउने गरेको स्थानीय कृष्ण घिमिरे बताउँछन् ।
होक्सेमा एउटै परिवारका सात जना सदस्यहरुले समेत मृगौला बेचेका छन् । होक्सेका रामकुमार ठकुरी मृगौला बेच्नेमा घरभित्र एक्ला छैनन् उनीसहित सात जना परिवारले मृगौला बेचीसकेका छन् । २०५९ सालमा उनका बुबा कृष्णबहादुर ठकुरीले पैसाका लागि मिर्गौला बेचेका थिए । रामकुमारका अनुसार तीन वर्षअघि मृगौला बेचेकै कारण बिरामी भएर कृष्णबहादुरको मृत्यु भयो । उनकी दिदी शान्ति थापा भिनाजु अशोक थापा मगर भाई श्याम ठकुरी बहिनी इन्दिरा थापा र दिदि पुना दाहालले पनि मृगौला बेचेका छन् ।
रहरमा र करमा मिर्गौला बेच्ने ३ सय भन्द बढी रहेका छन् । अधिकांशको शारिरीक अवस्था कमजोर भएकाले ओछ्यानमै थलिन थालेका छन् । मिर्गौला बेचेका मध्ये होक्सेका कृष्ण ठकुरी र महादेवस्थानका सुब्बा सापकोटार होक्सेकै छन्द दर्जी लगायतको यसै कारणले मृत्यु भइसकेको छ ।
प्रहरीले तुलनात्मक रुपमा पहिले भन्दा मिर्गौला बेचबिखन कार्य रोकिदै गएको दावी गरेपनि जिल्लाका १० गाविस मृगौला प्रभावित भएको अनुमान छ ।
पीडितहरुले मिर्गौला तस्करविरुद्ध उजुरी नपरेकाले नियन्त्रण गर्न कठीन भएको जिल्ला प्रहरी कार्यलय प्रमुख शकुलबहादुर थापा बताउँछन् ।
आर्थिक समस्याका कारण मिर्गौला तस्करीहरुको प्रलोभन र लहैलहैमा लागेर मिर्गौला बेच्ने गाउँभरी छन् । गरीबीको कारण मृगौला बेचेपनि उनीहरुको परिवारमा झनै आथिर्क संकट बढेको छ । जसकारण हरेक जसोको दशैंमा चुल्हो बल्नै धौधौ हुने गरेको छ ।
कसरी हुन्छ त मिर्गौलाको तस्करी ?
आर्थिक अवस्था कमजोर भएका काभ्रेको होक्से र आसपासको क्षेत्रका बासिन्दालाई मृर्गौला तस्करीहरुले एउटा मिर्गौला बेच्दा केही हँुदैन भनेर फकाउँने गर्दछन् । ज्यालादारी गरेरै पेट पाल्न सक्ने हुँदा पनि यस क्षेत्रका बासिन्दा मृगौला बेच्न सहमत हुनुको कारण बाध्यता भन्दा बढी प्रलोभन नै भएको देखिन्छ । ६० हजारदेखि दुई लाख रुपैयाँ सम्म मृगौला बेचेवापत लिन सक्ने आश्वासन दिने तस्करहरु भने एउटा मिर्गौलाबाट ९ लाख रुपैयाँसम्म प्राप्त गर्दछन् । नेपालको कानुनमा मिर्गौला बेचबिखनमा प्रतिबन्ध लगाइएको छ ।
दलालहरुले नै गाउँका सर्वसाधरणलाई आथिर्क प्रलोभन देखाएर भारतसम्म पु¥याउने गर्दछन् । भारतका विभिन्न स्थानमा घुमाएपछि घर फर्कन समेत रकम नहुने अवस्थामा पु¥याउँछन् । त्यसपछि आफ्नो धेरै खर्च भएको र उक्त खर्च तिर्नु पर्ने भन्दै उनहरुले मिर्गौला झिक्न बाध्य पार्छन् ।
गाउँकै दलालमार्फत गाउँको सोझो व्यक्तिलाई फकाएपछि काठमाडौका विभिन्न निजी तथा सरकारी अस्पतालहरुमा रगत जाँच गरी भारतका विभिन्न अस्पतालहरुमा पुगी मिर्गौला झिकिन्छ । विशेष गरी भारतको तालिमनाडु, चेन्चेई, मद्रास, लखनऊ, चण्डीगढ लगायतका क्षेत्रमा मिर्गौला बेच्नेहरुलाई लगिन्छ ६० हजारदेखि १ लाख ८० हजार रुपीयाँसम्ममा मिर्गौला बेचेवापत रकम दिने आश्वासन मिर्गौला तस्करीहरुले दिने गरेका छन् तर तस्करले तोके अनुसारको मुल्य समेत नपाएको गुनासो उनीहरुको छ । मिर्गौला तस्करीहरुले भने एक मृगौला बेचेवापत ९ लाख रुपैयाँसम्म लिने गरेका छन् । ‘साना सहयोगले अर्काको जीवन बच्छ, एउटा मिर्गौला बेचेर मरिँदैन, बेचौँ भनेर फकाउने, नमाने धाक धम्की र त्राससमेत देखाउने गरेको पीडितहरु बताउँछन् ।
मृगौला तस्करीमा उच्च चिकित्सकको समेत मिलोमतो हुन्छ । मृगौला पत्यारोपण गर्नु पर्ने बिरामीलाई मृगौला आवश्यक परेपछि सम्बन्धित निकायमा खोजी गदैं विरामीका आफन्त वा विरामी आफैं अस्पताल र सम्बन्धित निकायमा पुग्छन् ।
मृगौला पिडितहरुका अनुसार चिकित्सकहरुले हामीसँग मृगौला छैन्, तपाई यो नम्वरमा फोन गर्नुस् भन्दै मृगौला तस्करी गर्ने दलालहरुको नम्बर दिन्छन् र, विरामीले दलाललाई भेटेर विरामीको आवश्यक जानकारी लिएपछि सोही अनुसार मिर्गौला र रगतको समूह मिल्ने ब्यक्तिको खोजीमा दलालहरु लाग्छन् ।
मान्छे भेटिएपछि दलालले विभिन्न प्रलोभनमा पारेर मिर्गौला त लिन सफल हुन्छन् तर मिर्गौला विक्री गर्नेलाई पचासदेखि एक लाख रुपैयाँसम्म दिएर मिर्गौला पत्यारोपण गराउनेबाट दुईदेखि १० लाखरुपैयाँसम्म लिने गर्छन् ।
मिर्गौला तस्करी गर्ने दलालहरुले एउटै घरको मान्छे भएको प्रमाण जुटाउन नक्कली नागरिकता बनाउनेदेखि सम्पूण आवश्यक कागजात जुटाउँछन् । त्यसपछि मात्र भारतको मद्रास, चन्द्रीगड, गंगाराम, एपोलो जस्ता अस्पतालमा लगेर मिर्गौला प्रत्यारोपण गराइन्छ ।
होक्सेमा २०४९ सालदेखि शुरु भएको मिर्गौला तस्करी अझै रोकिएको छैन । मिर्गौला बेच्न जाँदा मृगौला तस्करीहरु चिनेपछि मिर्गौला बेच्नेहरु नै स्थानीय दलाल बनेका छन् । मृगौला बेच्नेहरुलाई लाने अधिकांश व्यक्तिहरु स्थानीय नै छन् । तस्करहरुले गाउँलेहरुको नक्कली नागरिकता बनाई र विशेष गरी आफन्त देखाएर बेच्ने लैजाने गरेका छन् ।
के छ कानुनी प्रावधान
कानुनमा मानव बेचबिखन तथा ओसारपसार ऐन, २०६४ अन्तर्गत १० वर्ष कैद र दुई लाखदेखि पाँच लाखसम्म रुपैया सम्म सजाय र जरिवाना हुने व्यवस्था रहेको छ ।
नेपाल सरकारले मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, ल्याउनु भन्दा पहिले मानव अ)ग भन्दा पनि महिला बेचविखन भनेर बुझिन्थ्यो । महिलाहरुलाई भारतको कोठीमा लगेर बेच्ने कार्यलाई महिला बेचविखन भनिन्थ्यो । तर मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४, ले फराकिलो परिभाषा गर्दै महिला बेचविखनलाई मात्र नभएर बैदेशिक रोजगार, मानव अंग बेचविखन, घरेलु श्रमका रुपमा बालबालिका लैजानु लगायतलाईपनि मानव बेचविखनको कार्यभित्र समावेश गरेको छ ।
साथै ऐनले पीडकलाई कानुनी सजाय र पीडितलाई न्याय सहितको क्षतिपूर्ती दिलाउने विषयमा समेत प्रष्ट बोलेको छ । सरकारले ऐनको नियमावली २०६५, राष्ट्रिय कार्ययोजना २०६८, कार्यान्वयन कार्ययोजना २०७१ को साथै विभिन्न मापदण्ड र निर्देशिकाहरु कार्यान्वयनमा ल्याएको छ । नेपाल सरकारले महिला तथा बालबालिका बेचविखनविरुद्धको सार्क महासन्धिलाई प्रतिनिधिसभाबाट अनुमोदन गरेको दिन २०६३ साल भदौ २० गतेदेखि प्रत्येक वर्ष भदौ २० गते मानव बेचविखन विरुद्धको राष्ट्रिय दिवस मनाउँदै आइएको छ । त्यस्तै संयुक्त राष्ट्रसंघको साधारण सभाले जुलाई ३० का दिनलाई मानव बेचविखन विरुद्धको विश्व दिवस पनि मनाइन्छ । देशभर विभिन्न सरकारी तथा गैरसकारी संघसंस्थाहरुले पनि मानव वेचविखन विरुद्धको विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।
मानव बेचविखन तथा ओसारपसार ऐन २०६४ मा मानव अंग बेचविखन गर्नेलाई १० वर्ष कैद सजाय र २ देखि ५ लाख रुपैयाँ र मानिस किन्ने वा बेच्नेलाई २० वर्ष कैद र २ लाख जरिवाना हुने कानुनी व्यवस्था छ । तर कानुन अनुसार कारबाही हुन उजुरीको प्रक्रिया समेत नआउने गरेको प्रहरी अधिकारीहरु बताउँछन् ।
जानकारहरुका अनुसार २२ वर्ष पहिलेदेखि काभ्रेमा मृर्गौला बेचविखन भइरहेको छ । अरनिको राजमार्गको १ किमि. उत्तरमा पर्ने होक्सेको पुरै गाउँमा तस्करहरुले राज गरीरहेपनि प्रहरीको मा भने उजुरी नै पर्ने गरेको छैन । पिडीतहरुले मृगौला तस्कर विरुद्ध उजुरी नपरेकाले नियन्त्रण गर्न कठीन भएको जिल्ला प्रहरी कार्यलयकी प्रमुख पुँजा सिह बताउँछिन् ।
पक्राउ परे तर धेरैले पाए उन्मुक्ति
काभ्रे प्रहरीले २०६९ साल चैत्र मा मानिसको अंक बेचबिखनमा संलग्न मूख्य अभियुक्त होक्सेबजार गाविस वडा नम्बर १ का प्रेमबहादुर बजगाई नेतृत्वको १० जनालाई पक्राउ गरेपनि पर्याप्त प्रमाणको अभावमा धेरै जनाले कारबाहीबाट उन्मूक्ति पाएका थिए । बजगाईको बयानका आधारमा प्रहरीले संलग्न अन्य व्यक्तिहरुलाई समेत पक्राउ गरेको थियो ।
तस्करीको आरोपमा पक्राउ पर्नेहरुमा काभ्रे पनौतीका मनोज रावत, नुवाकोट मदानपुर–१ का पुना ठकुरी तथा मिना दाहाल भन्ने मिना दर्जी, सोही स्थानकै कृष्णबहादुर दर्जी, ललितपुर उपमहानगरपालिका–२१ का सचिन मर्हजन, ललितपुरकै सानुलाल महर्जन, तनहुँ मिलुंग–३ का कुमार अधिकारी, काभ्रेको काभ्रे गाविस–४ का सुमन श्रेष्ठ र काभ्रे पााचखाल–६ का राजन दर्जी र विनोद ढकाल थिए । त्यतिखेर पक्राउ परेका अधिंकास व्यक्तिहरुले आफ्नो मृगौला समेत बेचेको पाईएको थियो । आफ्नो मृगौला बेचेपछि उनीहरुले तस्करहरुसँग मिलेर अन्य व्यक्तिको समेत मिर्गौला बेच्ने गरेको तथ्य सार्वजनिक भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण