शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राजस्थानमा महामारी घोषणा भएको ब्ल्याक फङ्गस के हो ?

यसबाट कसरी बच्ने ?
बिहीबार, ०६ जेठ २०७८, १२ : ३९
बिहीबार, ०६ जेठ २०७८

भारतको राजस्थान सरकारले ब्ल्याक फङ्गसलाई महामारी घोषित गरेको छ । त्यहाँ कोरोनाबाट निको भएका मानिसहरुमा यो रोग फैलिरहेको छ । यसबाट राज्यका दुई जनाको मृत्यु भइसकेको  छ । जयपुर, जोधपुर, सीकर, पाल बान्डमेर, बीकानेर, कोटा र अन्य जिल्लामा पनि यो रोग तीव्ररुपमा फैलिरहेको छ । यस रोगलाई प्रभावकारी तरिकाले निगरानी गर्न र उपचारमा सजगता अपनाउन सहज होस् भनेर महामारी घोषणा गरिएको राज्य सरकारले जनाएको छ । राजस्तानको जयपुर, अजमेर, जोधपुर, कोटा, उदयपुरलगायत जिल्लामा ब्ल्याक फङ्गसका झन्डै ४ सय बिरामी भेटिएका छन् । जयपुरको एसएमएस अस्पतालमै ४५ जनाभन्दा धेरै बिरामी भर्ना भएका छन् ।

ब्ल्याक फङ्गस के हो र यसले कसरी असर गर्छ ? यसबारे भोपालको क्यान्सर अस्पतालमा आबद्ध डाक्टर पुनम चंदानी भन्छिन् :

के हो ब्ल्याक फङ्गस ?

यो एक फंगल रोग हो । जो म्यूकोर्माइकोसीस (Mucormycosis) नामक फंगाइलका कारण हुन्छ । प्रायः पहिल्यै बिरामी भएका,  शरीरको प्रतिरोधी प्रणालीलाई कमजोर बनाउने औषधीहरु सेवन गरिरहेका वा रोगसँग लड्न प्रतिरोध प्रणाली कमजोर भएका व्यक्तिहरुमा यस्तो रोग लाग्छ । यो शरीरको कुनै पनि हिस्सामा हुनसक्छ ।

कसरी शरीरमा पुग्छ र के असर गर्छ ?

प्रायः श्वासको माध्यमबाट वातावरणमा मौजुद फङ्गस हाम्रो शरीरमा पुग्छ । यदी शरीरमा कुनै घाउ छ वा शरीर कहीँ जलेको छ भने त्यहाँबाट पनि संक्रमण शरीरमा फैलन सक्छ । यदी समयमै यसको पहिचान गर्न सकिएन भने आँखाको ज्योति पनि गुम्नसक्छ । वा, शरीरको जुन हिस्सामा फङ्गस फैलिएको छ, त्यो हिस्सा सड्न सक्छ ।

फङ्गस कहाँ पाइन्छ ?

यो निकै गम्भीर तर एक दुर्लभ संक्रमण हो । वातावरणमा फङ्गस जहाँसुकै पनि रहनसक्छ, प्रायः जमिन र सढेका अर्गानिक वस्तुमा यो रहन्छ । जस्तो, पात–पतिङ्गर, कुहिएका–सडेका दाउरा, कम्पोस्ट खाद आदिमा ब्ल्याक फङ्गस पाइन्छ ।

यसको लक्षण के हो ?

शरीरको कुन हिस्सामा संक्रमण छ, त्यसैका आधारमा यस रोगको लक्षण निर्भर गर्छ । अनुहार एकातर्फबाट सुन्निनु, टाउको दुख्नु, नाक बन्द हुने, उल्टी आउनु, ज्वरो आउनु, छाति दुख्नु, साइनस कन्जेशन, मुखको माथिल्लो हिस्सा वा नाकमा कालो घाउ हुनु र चाडैं गम्भीर हुनु ।

यो संक्रमण कस्ता व्यक्तिलाई हुन्छ ? कोरोनासँग यसको के सम्बन्ध छ ?

डाक्टर पुनमका अनुसार यो रोग ती व्यक्तिलाई हुन्छ, जसलाई डाइबेटिज छ, जसलाई क्यान्सर छ, जसको अंग प्रत्यारोपण भएको छ वा जसले लामो समयदेखि स्टेरोइड औषधी प्रयोग गरिरहेका छन् । छालामा लागेको चोट वा समयभन्दा अघि जन्मिएका बच्चामा पनि यस्तो हुनसक्छ ।

जो व्यक्तिलाई कोरोना भइरहेको छ । ती व्यक्तिको प्रतिरोध प्रणाली पनि कमजोर हुन्छ । यदी डाइबेटिजको उच्च रोगी रहेका व्यक्तिलाई कोरोना भयो भने उसको प्रतिरोध प्रणाली अझै धेरै कमजोर हुन्छ । यस्ता व्यक्तिमा ब्ल्याक फङ्गसको संक्रमण फैलने आशंका अझै हुन जान्छ ।

अर्कोतर्फ कोरोनाका बिरामीलाई स्टेरोइड औषधी दिइएको छ । यसबाट बिरामीको प्रतिरोध क्षमता कमजोर हुन्छ । यसकारण पनि ती बिरामीमा यो रोग फैलनसक्ने आशंका गरिएको छ ।

यो फङ्गस कति खतरनाक छ ?

यो संक्रामक रोग होइन, अर्थात् एक बिरामीबाट अर्को बिरामीमा फैलदैन । तर यो निकै खतरनाक छ । यस्तो रोग लागेका ५४ प्रतिशत बिरामीको ज्यान जान्छ । शरीरमा संक्रमण कहाँ भएको छ, त्यस आधारमा मृत्युदर तय हुन्छ । जस्तो– साइनस इन्फेक्सनका हकमा मृत्युदर ४६ प्रतिशत हुन्छ । त्यस्तै, फोक्सोको इन्फेक्सन हुँदा मृत्युदर ७६ प्रतिशत तथा डिसमेन्टेड इन्फेक्सनमा मृत्युदर ९६ प्रतिशतसम्म हुन्छ । अमेरिकी एजेन्सी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को रिपोर्टले यस्तो जनाएको हो । यस रिपोर्टअनुसार विश्वका हुने हरेकखाले संक्रमणमा म्यूकाेर्माइकोसीस संक्रमणका घटना केवल २ प्रतिशतमात्रै हुन्छ ।

डाक्टरहरुका अनुसार यो फङ्गस शरीरको जुन क्षेत्रमा विकास हुन्छ, त्यसैलाई यसले समाप्त गरिदिन्छ । यस्तोमा यदी तपाईंको टाउकोमा भयो भने ब्रेन ट्युमरसहितका रोग देखिन्छन्, जो प्राणघातक साबित हुनसक्छ । समयमै उपचार गरेर यसबाट बच्न सकिन्छ । यदी यो दिमागसम्म पुग्यो भने मृत्यु हुने दर ८० प्रतिशत हुन्छ । कोरोनाका कारण धेरै मानिस कमजोर भइसकेका छन्, यस्तो अवस्थामा यो संक्रमण पनि बढ्नसक्छ ।

यसबाट बच्न कसरी सकिन्छ ?

डाक्टर पुनमका अनुसार निर्माण क्षेत्रबाट टाढा रहनुपर्छ । धुलो भएका क्षेत्रमा जानु हुँदैन । बगैँचामा जाँदा वा खेती गर्दा पुरै बाहुला भएका कपडा वा पञ्जा लगाउनुपर्छ । जहाँ पानी चुहिरहने ठाउँ छ, ती ठाउँमा जान हुँदैन ।

जो व्यक्तिलाई कोरोना भाइरसकोे संक्रमण भएको छ, उनीहरुले सकारात्मक दृष्टीकोण राख्न जरुरी छ । कोरोना ठिक भइसकेपछि पनि नियमित स्वास्थ चेकजाँच गराइरहनुपर्छ । यदी फङ्गसका कुनै पनि लक्षण देखियो भने डाक्टरलाई देखाउनुपर्छ । जसकारण, सुरुमै फङ्गस नियन्त्रणमा आउँछ र यसको समयमै उपचार हुनसक्छ ।

उपचारमा थोरै पनि ढिलाइ भयो भने बिरामीको शरीरको त्यो हिस्सा जहाँ फंगल इन्फेक्सन भएको छ, त्यो कुहिन थाल्छ । यस्तो अवस्थामा त्यसलाई काटेर निकाल्नुपर्ने हुनसक्छ । यस्तो नगर्दा बिरामीको ज्यानै पनि जानसक्छ ।

स्रोत : दैनिक भास्कर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप