बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
पत्रपत्रिका

प्रतिनिधिसभाका कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर

शुक्रबार, ०७ जेठ २०७८, ०६ : ५६
शुक्रबार, ०७ जेठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठनका लागि दिएको समय सीमाभित्र प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधारसहित प्रधानमन्त्री दाबी गर्ने सम्भावना कमजोर देखिएको छ।

शुक्रबार साँझ ५ बजेसम्म कुनै पनि सदस्यले प्रधानमन्त्री दाबी नगरे ओली नेतृत्वको सरकारले प्रतिनिधिसभाको नयाँ निर्वाचन मिति घोषणा गर्नेछ। विपक्षी नेपाली कांग्रेससहितका दलहरूले शुक्रबार साँझसम्ममा नयाँ प्रधानमन्त्री दाबी गर्न नसके ओली नेतृत्व सरकारले संवैधानिक सबै प्रक्रिया पूरा गरी मंसिर दोस्रो साताका लागि निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ।  

नयाँ सरकार गठनका लागि जनता समाजवादी पार्टी निर्णायक देखिएको छ। यसअघि कांग्रेस नेतृत्वमा संयुक्त सरकार गठनका लागि जसपाले अस्वीकार गरेको थियो। जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष तयार नहुँदा ओलीको विकल्प दिन विपक्षी दल असफल भएका थिए। संवैधानिक प्रक्रिया अनुसार संयुक्त सरकार गठन गर्न सम्भव नभएपछि संसद्को ठूलो दलको हैसियतमा केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका थिए। जसपाको एउटा पक्षको समर्थनमा विश्वासको मत लिने तयारी ओलीले गरिरहेका बेला जसपाका अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले आफ्नो दलको नेतृत्वमा बाहेक अर्को दलको नेतृत्वमा सरकारमा सहभागी नहुने सहमति गरेका छन्।  

राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्थामा भने सरकारमा सहभागी हुने जसपाले जनाएको छ। जसपाको उक्त सहमति कायमै रहेको अवस्थामा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूको नेतृत्वमा सरकार गठनको सम्भावना कमजोर देखिएको छ। ओली नेतृत्व सरकारको विकल्प दिन कांग्रेस र माओवादीले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्रीमा अघि सारेर जान सक्ने झिनो विकल्प रहेको नेताहरू बताउँछन्। 

यो समाचार आजको नागरिक दैनिकमा छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप