बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वारेन बफेटले यस वर्ष दिएनन् गेट्स फाउन्डेसनलाई दान

बुधबार, ३१ असार २०८३, १२ : ०१
बुधबार, ३१ असार २०८३

सारांश

  • वारेन बफेटले यस वर्ष आफ्नो वार्षिक दान गेट्स फाउन्डेसनलाई नदिई परिवारसँग सम्बन्धित चार परोपकारी संस्थालाई दिएका छन् ।
  • वाल स्ट्रिट जर्नलका अनुसार गेट्स फाउन्डेसनको समीक्षा पूरा नभएसम्म बफेटले दान रोक्ने निर्णय गरेका हुन् ।
  • बफेटले आफ्ना तीन सन्तानले सन् २०३४ सम्म बर्कशायर ह्याथवेको सम्पूर्ण सेयर दानमार्फत वितरण गरिसक्ने अपेक्षा व्यक्त गरेका छन् ।

न्युयोर्क । अमेरिकी अर्बपति लगानीकर्ता वारेन बफेटले यस वर्ष आफ्नो परम्परागत वार्षिक दान गेट्स फाउन्डेसनलाई नदिई आफ्नै परिवारसँग सम्बन्धित चारवटा परोपकारी संस्थालाई हस्तान्तरण गरेका छन् । बफेट गेट्स फाउन्डेसनका संस्थापक ट्रस्टीमध्ये एक थिए ।

उनले बिल गेट्स र उनकी तत्कालीन पत्नी मेलिन्डा फ्रेन्च गेट्ससँग मिलेर अर्बपतिहरूलाई आफ्नो सम्पत्तिको ठुलो हिस्सा दान गर्न प्रोत्साहित गर्ने द गिभिङ प्लेज अभियान पनि सुरु गरेका थिए । सन् २०२१ मा फाउन्डेसनको बोर्डबाट राजीनामा दिएपछि पनि उनले प्रत्येक वर्ष अर्बौँ डलर बराबरको दान गर्दै आएका थिए ।

तर यस वर्ष बफेटले आफ्नो नियमित दान रोकेका छन् । वाल स्ट्रिट जर्नलका अनुसार गेट्स फाउन्डेसनले बाह्य कानुनी विज्ञमार्फत सञ्चालन गरिरहेको समीक्षा पूरा नहुन्जेल उनले दान रोक्ने निर्णय गरेका हुन् । उक्त समीक्षामा फाउन्डेसन र यौन अपराधीका रूपमा दोषी ठहरिएका जेफ्री एपस्टिनबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको छ । 

गेट्स फाउन्डेसनलाई दान नदिएपनि आफ्नो परोपकारी अभियान निरन्तर चल्ने ९५ वर्षीय बफेटले बताएका छन् । उनले एक विज्ञप्तिमा आफ्ना तीन सन्तानले सन् २०३४ डिसेम्बर ३१ भित्र बर्कशायर ह्याथवेमा रहेको आफ्नो सम्पूर्ण सेयर दानमार्फत वितरण गरिसक्ने अपेक्षा व्यक्त गरेका छन् ।

हाल बर्कशायर ह्याथवेको बजार मूल्य करिब ११ खर्ब डलर छ भने बफेटसँग कम्पनीको करिब ३० प्रतिशत स्वामित्व छ । यसअघि बफेटको अधिकांश दान गेट्स फाउन्डेसनलाई जाने गरेको थियो । फाउन्डेसनका अनुसार सन् २०२२ सम्म बफेटले ३६ अर्ब अमेरिकी डलरभन्दा बढी दान गरिसकेका थिए । त्यसपछि पनि उनले हरेक वर्ष बर्कशायर ह्याथवेको अर्बौँ डलर बराबरको सेयर दान गर्दै आएका थिए ।

बिल गेट्स र जेफ्री एपस्टिनबिचको सम्बन्ध सार्वजनिक भएपछि भने बफेट र गेट्सबीचको मित्रतामा असर परेको बताइएको छ । बफेटले यस वर्षको मार्चमा दिएको एक अन्तर्वार्तामा आफू अहिले गेट्ससँग संवाद गर्ने नगरेको तर आफूले विगतमा गेट्स फाउन्डेसनलाई दिएको दानप्रति कुनै पछुतो नरहेको स्पष्ट पारेका थिए ।

उता, बिल गेट्सले गत महिना अमेरिकी प्रतिनिधिसभाको एक समितिसमक्ष आफूलाई एपस्टिनका अपराधबारे कुनै जानकारी नभएको बताएका थिए । उनले यसअघि फाउन्डेसनका कर्मचारीसँग एपस्टिनसँगको सम्बन्धलाई ठुलो गल्ती भएको स्वीकार्दै माफी मागेका थिए, तर आफूले कुनै व्यक्तिगत गलत काम नगरेको दाबी गर्दै आएका छन् ।

बफेटले भने आफूले जीवनमा कहिल्यै जेफ्री एपस्टिनलाई नभेटेको र उनीसँग कुनै सम्पर्क नरहेको बताएका छन् । साथै, एपस्टिन प्रकरणबारे आफूले बिल गेट्ससँग पनि कुनै छलफल नगरेको उनको भनाइ छ । यो विषय स्पष्ट नभएसम्म धेरै कुरा गर्नु उचित नहुने बताउँदै उनले अदालतमा शपथ लिएर एपस्टिन–गेट्स सम्बन्धबारे साक्षी दिनुपर्ने अवस्था नआओस् भन्ने चाहना व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप