बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अष्ट्रेलियामा भेटियो वनमन्त्रीको पासपोर्ट, बाहक अझै गायब

शुक्रबार, ०४ असार २०७८, १५ : ३३
शुक्रबार, ०४ असार २०७८

केपी शर्मा ओलीको मन्त्रिपरिषदमा वन तथा वातावरणमन्त्री बनेका नारदमुनि रानाको नाममा रहेको रातो पासपोर्ट अष्ट्रेलियाको सिड्नीमा फेला परेको छ । तर, उनको पासपोर्टमा यात्रा गरेका व्यक्ति भने अझैसम्म गुमनाम छन् । ती व्यक्ति १० वर्षअघि अष्ट्रेलिया पुगेपछि गुमनाम बनेका हुन्

विशेष स्रोतले रातोपाटीलाई उपलब्ध गराएको मन्त्री रानाको १० वर्षअघिको कूटनीतिक पासपोर्टमा जन्म मिति १९७२ जुलाई १७ लेखिएको छ । पासपोर्ट नम्बर ०२१२४४ रहेको छ । तत्कालीन सभासद रानाको उक्त कूटनीतिक राहदानीको म्याद एक वर्षे रहेको थियो ।  सन् २०१० सेप्टेम्बर १९ मा बनेको पासपोर्टको म्याद २०११ सेप्टेम्बर १८ मा सकिएको थियो ।

तत्कालीन सभासद रानाले निकालेको कूटनीतिक राहदानीमा म्याग्दीका निर्मल बानियाँ आफ्नो फोटो टाँसेर अष्ट्रेलिया पसेको प्रहरीको अनुसन्धानबाट पुष्टि भएको छ । अष्ट्रेलिया पुगेपछि रानाका नामको पासपोर्ट फ्यालेर बानियाँ शरणार्थीका रुपमा बसेको र अहिले पीआरसमेत पाइसकेको स्रोतको दाबी छ ।

रानाका नामको पासपोर्टमा रहेको तस्वीर बानियाँकै रहेको प्रहरी स्रोतको भनाइ छ । उनलाई प्रहरीले ११ वर्षदेखि खोजिरहेको छ । मानव तस्करले नेताहरूबाट कूटनीतिक पासपोर्ट किनेर बेचेको र उनीहरु अस्ट्रेलिया र क्यानडातर्फ गएको प्रहरीको त्यसबेलाको अनुसन्धानले देखाएको थियो । यो विषयमा अख्तियारमा समेत मुद्दा परेको थियो । राहदानी दुरुपयोगमा ११ जनाविरुद्ध मुद्दा चलेको थियो ।

गोपनीयतासम्बन्धी कानून निकै कडा रहेको अस्ट्रेलियामा यात्रा गरेका व्यक्तिको बारेमा थप जानकारी लिन सम्भव नभएको भन्दै नेपालको सुरक्षा स्रोतले ती व्यक्ति अस्ट्रेलियामा अर्कै नाम र पहिचानसहित स्थापित भैसकेको हुन सक्ने बतायो .

सन् २०१० ताका नेपालमा ज्यान जोखिममा परेको भन्दै शरणार्थीका रुपमा कतिपय मानिसहरु अष्ट्रेलिया र युरोपमा देशहरुमा जाने गरेका थिए । रानाको राहदानी किनेका व्यक्ति पनि मानव तस्करको सहयोगमा अस्ट्रेलिया आउन सफल भएको स्रोतले बतायो ।

मानव तस्करले रानालगायत अन्य सांसदहरुको पनि कूटनीतिक पासपोर्ट किनेर बेचेको र विभिन्न व्यक्तिलाई अस्ट्रेलिया तथा क्यानडा पठाएको अनुसन्धानबाट देखिएको छ । नारदमुनि रानाजस्तै तत्कालीन सांसद शिव पुजन राय यादवको पनि रातो पासपोर्ट अष्ट्रेलियामै फेला परेको छ ।

यादवको पासपोर्टमा जन्म मिति १९७० अगस्त २६ र पासपोर्ट नम्बर ०२०४४५ उल्लेख छ । यो पासपोर्ट पनि एक वर्षका लागि जारी भएको थियो । यादवको पासपोर्टमा म्याग्दीकै केदार पौडेल नक्कली सभासद बनेर अष्ट्रेलिया पसेका हुन् । पौडेल पनि अहिलेसम्म गायव छन् ।

अस्ट्रेलियामा विगत दुई दशकदेखि कानून व्यवसाय गर्दै आएका प्रथम नेपाली कानून व्यवसायी डा. शमशेर सिंह थापाले विगतमा नेपालका नेताहरुले रातो पासपोर्ट बनाएर बेच्ने गरेको खबर सत्य भएको बताए । उनले भने, खोजी गर्ने हो भने एक/दुई होइन, दर्जनौ र सयौं त्यस्ता घटनाहरु भेटिन सक्छन् ।

तत्कालीन सभासद राना र यादवको पासपोर्टमा फोटो टाँसेर दुई व्यक्तिहरु अष्ट्रेलिया पस्न सफल भए पनि तत्कालीन सभासद वीपी यादव र गायत्री साहको पासपोर्टमा अष्ट्रेलिया हिँडेका दुई व्यत्तिहरु भने अबुधाबी विमानस्थल बाटै नेपाल फर्काइएका थिए ।

रातो पासपोर्ट  बिक्री गरेको अभियोगमा नारदमुनि राना र अन्य सभासद विरुद्ध रानाविरुद्ध अख्तियार र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बेग्लाबेग्लै अनुसन्धान गरेका थिए । यसक्रममा रानालाई प्रहरीले पक्राउसमेत गरेको थियो । पछि उनलाई विशेष अदालतले सफाइ दिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप