शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बूढानीलकण्ठमा शेरबहादुर र बिमलेन्द्रबीच सवाल–जवाफ

सभापतिमा म लड्छु–देउवा, म पनि लड्छु–निधि
शनिबार, ०५ असार २०७८, २२ : ०७
शनिबार, ०५ असार २०७८

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिबीच पक्षबाट १४ औं महाधिवेशनको नेतृत्वबारे सवाल–जवाफ चलेको छ । शनिबार दिउँसो देउवानिवास बूढानीलकण्ठमा प्रदेश २ का आफू पक्षीय केन्द्रीय सदस्यहरुको आन्तरिक छलफलमा देउवा र निधि दुबैले सभापतिमा लड्ने अडान राखेपछि उनीहरुबीच सवाल–जवाफ भएको हो ।


त वर्ष साउन २९ गते देउवा निवास पुगेर आफूले राखेको अडान निधिले शनिबार पनि दोहोर्याएका छन् । उता देउवाले पनि एकचोटिलाई सभापतिमा आफूलाई समर्थन गर्न निधिसँग आग्रह गरे । तर, निधिले आफ्नो अडान नछाडेपछि काँग्रेसको संस्थापन पक्षबाट देउवा र निधि दुईजना मैदानमा आउने/नआउने विषयले मूर्त रुप पाउन सकेन ।

देउवा सभापतिमा लड्ने गरी अगाडि आइसकेका छन् भने निधिले  पनि आफू पछाडि नहट्ने भन्दै देउवाको समर्थनको अपेक्षा राखेका छन् ।

विहीबार र शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमा भदौ १६–१९ मा महाधिवेशन गर्ने कार्यतालिका पारित भएपछि देउवाले प्रदेशका नेताहरुसँग परामर्श थालेका छन् । शनिबार उनले प्रदेश १ र २ का नेताहरुसँग बेग्लाबेग्लै छलफल गरे ।

बूढानीलकण्ठमा गर्मागर्मी !

काँग्रेस सभापति देउवाले शनिबार बिहान प्रदेश १ र दिउँसो प्रदेश २ का केन्द्रीय सदस्यहरुसँग आफ्नै निवास बूढानीलकण्ठमा आन्तरिक छलफल गरे । प्रदेश १ का केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्की, मीन विश्वकर्मा र सीता गुरुङले सभापतिमा लड्दा सुरुमा आफ्नो टिम मिलाउन देउवालाई सुझाव दिएका थिए ।

 


 

विमलेन्द्र निधिजीले उम्मेदवारी दिन्छु भनिरहनुभएको छ, तपाईंसँग पनि भनिरहनुभएको छ । पहिला आफ्नो टिममा सहमति गरेर मिलाउनुपर्यो । त्यसले राम्रो परिणाम दिन्छ,’ देउवालाई प्रदेश १ का काँग्रेस नेताहरुको सुझाव थियो ।

सोही कुरा देउवासँगको छलफलमा जानुअघि उनीहरुले सभापतिका दाबेदार विमलेन्द्र निधिलाई पनि सुनाएका थिए ।  उनीहरुसँगको कुराकानीपछि निधि बूढानीलकण्ठतर्फ लागेका थिए ।

प्रदेश २ का केन्द्रीय सदस्य आनन्द ढुंगाना, जंगीलाल राय र शम्भुलाल श्रेष्ठ निधिभन्दा अगाडि नै बूढानीलकण्ठ पुगिसकेका थिए । फरमुल्लाह मन्सुर, महेन्द्र यादव, नसिर सिद्धिकी, हेमराज तातेड लगायतका केन्द्रीय सदस्यहरु उपत्यका बाहिर भएकाले छलफलमा सहभागी हुन सकेनन् । देउवाले प्रदेश २ का चारजना नेतासँग छलफल थाले ।

दिउँसो साढे ३ बजेपछि प्रदेश २ का नेतासँग आन्तरिक छलफल सुरु भयो । निधिले यसअघि नै सभापतिमा आकांक्षा प्रकट गरिसकेको हुनाले शनिबार सुरुमा देउवा खुलेर प्रस्तुत भएनन् ।

निधिलाई उनले आफ्नो प्रदेशबाट अधिकतम महाधिवेशन प्रतिनिधिहरू ल्याउने गरी तयारी अगाडि बढाउन भने । तर, निधिले खुलेर कुरा गर्न आग्रह गरेपछि देउवाले ‘म सभापति लड्छु’ भन्ने जवाफ दिए ।

त्यसपछि देउवा र निधिबीच सवाल–जवाफ चल्यो ।

देउवाको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले रातोपाटीलाई भने ,‘म सभापतिमा लड्छु । यो पक्का हो । महाधिवेशनमा तपाईं (निधि) को प्रदेशबाट धेरै महाधिवेशन प्रतिनिधि ल्याउने तयारी गर्नुपर्यो।’

जवाफमा निधिले आफू पनि सभापतिमा लड्ने सुनाउँदै देउवालाई भने, ‘सभापतिमा म पनि लड्छु । तपाईंलाई पूर्वजानकारी गराएको हुँ ।’

निधिले देउवालाई प्रधानमन्त्री बनेर पार्टी सभापतिमा आफूलाई सहयोग गर्न आग्रह गरे । उनले भने, ‘तपाईंलाई प्रधानमन्त्री हुने अहिले राम्रो अवसर छँदैछ । आगामी निर्वाचनपछि पनि तपाईं प्रधानमन्त्रीका लागि तयारी गर्नुस् । मलाई प्रधानमन्त्री बन्न हतारो छैन । सभापतिमा मचाहिँ लड्छु ।’

निधिले देउवालाई आफ्नो प्रस्तावक वा समर्थन बसिदिन आग्रह गर्दै भने, ‘अब तपाई समर्थक वा प्रस्तावक बसिदिनुस् । तपाईंको समर्थन लिएर म लड्न चाहन्छु ।’

देउवासामु निधिले अडान राखे तर, देउवाले उनको प्रस्तावमा सहमति जनाएनन् । देउवाले, ‘सभापतिमा लड्ने तपाईंको पनि अधिकार छँदैछ नि । लड्नुस् न त ।’

निधिले सभापतिमा लड्ने अधिकारसँगै देउवाबाट समर्थन पाउने अधिकार पनि रहेको बताए । उनले भने, ‘मेरो अधिकार छँदैछ, तर मेरो अधिकार सभापतिमा लड्न पाउने मात्र होइन, तपाईंसँगको यति लामो संगत र सम्बन्ध छ, त्यसको आधारमा चुनाव लड्ने अधिकार मात्र होइन कि चुनाव लड्नका लागि तपाईंको समर्थन र शुभेच्छा पाउने पनि मेरो अधिकार हो ।’

देउवाले त्यो कुरा आफूले बुझेको बताउँदै यसपटक सभापतिमा लड्ने अडानबाट पछि नहट्ने अडान दोहोर्याउँदै भने, ‘मैले बुझेको छु, त्यो हो । तर, यसपालि म लड्छु । तपाईं लड्ने कुरा तपाईंको अधिकार हो ।’

निधिले आफू पनि लड्ने र आफ्नो कुरा यही नै भएको अडान दोहोर्याए । साथै, निधिले देउवालाई सभापतिमा नलड्न सुझाव दिए ।

नेताहरुका अनुसार निधि र देउवाबीच करिब ४५ मिनेट सभापतिको उम्मेदवारीबारे सवाल–जवाफ भएको थियो । छलफलमा सहभागी अन्य नेताहरुले दुवै मिलेर जानु पार्टी र समूहका लागि हितकर हुने सुझाव दिएका थिए ।

यसैबीच, आइतबार बिहान ९ बजे देउवाले गण्डकी प्रदेशका आफ्नो समूहका केन्द्रीय सदस्यहरुलाई बूढानीलकण्ठ बोलाएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप