वीरेन्द्रनगर नै सुर्खेत हो भन्ने भाष्यले ‘पश्चिम सुर्खेत’ उपेक्षामा

समाचार सारांश
- पश्चिम सुर्खेतका नागरिकले लामो समयसम्म यातायातको सुविधा पाउन सकेनन्, जसका कारण उनीहरूले कैलालीमा निर्भर रहनुपरेको थियो।
- गुटुमा सडक पुगे पनि पश्चिम चौकुनेका धेरै बस्तीहरू अझै पनि विकासबाट टाढा छन्, जहाँका बासिन्दाहरू यातायात र अन्य आधारभूत आवश्यकताका लागि संघर्ष गरिरहेका छन्।
- स्थानीय सरकारले सडक निर्माणमा प्रयास गरे पनि बजेट अभाव र अन्य समस्याका कारण पश्चिम सुर्खेतका जनताले अझै पनि यातायातको सहज सुविधा पाउन सकेका छैनन्।
५० को दशकको सुरुवाततिर हाम्रा दिदीहरू नुन ल्याउन चिसापानी हुँदै कट्टाँसे पुग्नुहुन्थ्यो । बजार त आफ्नै जिल्लाको वीरेन्द्रनगरमा पनि थियो, तर हाम्रो सम्बन्ध वीरेन्द्रनगरसँग सहज थिएन । हाम्रो ठाउँबाट नुन लिन जान दुई दिन लाग्थ्यो । ल्याएको नुनलाई मालुको पोका बनाएर राखिन्थ्यो । त्यो वेला सबैभन्दा महँगो केही लाग्थ्यो भने त्यो नुन नै थियो ।
त्यतिवेला सडक सञ्जाल थिएन । विकासको ‘व’ सम्म पनि हामीलाई थाहा थिएन । म ६/७ वर्षको हुँदा गुटुमा डोजर आयो भन्ने चर्चा चल्यो । वरपरका गाउँबस्तीका मान्छे आश्चर्य मान्दै डोजर हेर्न जान्थे । डोजरलाई हामी ‘रमाइलो’ का रूपमा लिन्थ्यौँ । डोजरले विकास गर्छ भन्ने कुरा हामीलाई थाहा थिएन ।
गुटुको विशाल बजारमा त्यो वेला खासै बस्ती थिएन । बिउरेनीमा मुख्य बजार थियो । गुटुमा डोजर आउँदा हेर्न जानेहरूको ठुलो भिड नै लाग्थ्यो । त्यसपछि ट्याक्टरहरू आउन थाले । त्यो क्षेत्रबाट निर्वाचन जितेका कांग्रेसका नेता शिवराज जोशी राज्यमन्त्री हुनुहुन्थ्यो । उहाँ मन्त्री हुनुभयो । अब हाम्रो क्षेत्रमा बस चल्छ भन्ने हल्ला चल्थ्यो । ट्याक्टर भनेकै गाडी हुन् भन्ने सोचका हामीलाई बस कस्तो हुन्छ होला ? कति ठुलो हुन्छ होला, के गर्छ होला ? भन्ने कौतुहलता हुन्थ्यो ।
मन्त्री फेरिए, पटक–पटक चुनाव भए । यद्यपि पश्चिम सुर्खेतका नागरिकले ६० को दशकसम्म पनि सहज रूपमा बस चढ्न पाएनन् । गुटुमा ट्याक्टर पुगेपछि हामीले नुनका लागि चिसापानी, कट्टाँसे धाउनुपर्ने अवस्था त हट्यो । ट्याक्टरसँगै हाम्रा सपनाहरू पनि नजिक–नजिक पुगे ।
०६२/०६३ तिर माओवादी सशस्त्र युद्ध चरम उत्कर्षमा थियो । त्यही वेला हुनुपर्छ सायद वीरेन्द्रनगरदेखि ६० किलोमिटरको दुरीमा रहेको गुटुमा ‘भालेगाडी’ पुग्यो । अहिले बसलाई हामीले त्यो वेला ‘भालेगाडी’ भन्थ्यौँ । फाट्टफुट्ट कसैले ल्याए आउँथ्यो, नभए आउँदैनथ्यो ।
शान्ति प्रक्रियापछि पहिलो पटक संविधान सभाको चुनाव हुने भयो । त्यो वेला सुर्खेतको पश्चिम क्षेत्र निर्वाचन क्षेत्र नम्बर ३ मा पर्दथ्यो । माओवादीबाट नरबहादुर विष्ट, कांग्रेसबाट शिवराज जोशी, एमालेबाट नवराज रावत उम्मेदवार बने । त्यही वेला गुटुवासीले सबैभन्दा धेरै वटा गाडी एकै पटक देखे । चुनाव प्रचार भएर पनि होला, बस, जीप धेरै थिए । उक्त चुनावमा शिवराज जोशी हार्नुभयो । उहाँ त्यसअघि ०४९ मा यातायात सहायक मन्त्री, ०५१ र ०५६ सालमा गरी दुई पटक राज्यमन्त्री बन्नुभयो । यद्यपि पश्चिम सुर्खेतले विकास पाएन ।
पहिलो संविधान सभाको चुनाव माओवादीका नरबहादुर विष्टले सुर्खेत–३ बाट जित्नुभयो । युद्धकालमा पश्चिम क्षेत्रमा अन्य राजनीतिक दलभन्दा माओवादी जनतामा भिजेकाले माओवादीप्रति सुर्खेत पश्चिमका नागरिकको आशा धेरै थियो । त्यो वेला सडकको नामकरण गरिएको थिएन, बड्डीचौर—गुटु पश्चिम सडक भनिन्थ्यो । यो कुरा गुटुसम्मको मात्रै हो, जो वीरेन्द्रनगरदेखि ६० किलोमिटरको दुरीमा छ । गुटुभन्दा पनि ५० किलोमिटर पश्चिममा रहेका लगाम, बेतानका गाउँबस्तीको अवस्था कस्तो होला ? यसै कल्पना गर्न सक्नुहुन्छ ।
०६६ सालपछि मात्रै गुटुबाट पश्चिमतिरको बिजौरामा सडक विस्तारको काम भयो । कहिले त गाडी चढ्न पनि हिँडेर बाबियाचौरसम्म आउनुपर्थ्यो । मलाई सम्झना छ—पहिलो पटक म बड्डीचौरसम्म ट्याक्टरमा आएर बस चढेको हो । ०५० को दशकमै गुटुसम्म सडक त पुग्यो तर त्यसले यातायात सुविधामा सहज भएन । जसका कारण हामी वीरेन्द्रनगरभन्दा कैलालीसँग बढी निर्भर भयौँ । अझै पनि सरकारी कामकारबाही बाहेक अन्य गतिविधि हाम्रो प्रायः कैलालीसँग बढी हुन्छ । सम्बन्धहरू वीरेन्द्रनगरभन्दा कैलालीसँगै छ ।
०६६ पछि गुटुमा सार्वजनिक यातायात चल्न थाले, तर त्यसभन्दा पश्चिमका लगाम, बेतानहरू अझै राज्यबाट विमुख थिए । बिजौराबाट लगाम, बेतान सडक माओवादीको नेतृत्वमा जनता अग्रसर भएर खनियो । मायातालदेखि बिजौराको बाटो पनि जनश्रमदानबाटै बनेको हो । पहिलो संविधान सभाको चुनावपछि बजेट आउन सुरु भयो, तर त्यो रकम दलगत रूपमा समिति बन्ने र दुरुपयोग हुन्थ्यो । अहिले पनि जनता त्यो समितिले पारदर्शी काम नगरेको कुरा सुनाउँछन् । यो क्रम ०७४ सालसम्मै रह्यो ।
०७० को दोस्रो संविधान सभाको चुनावमा कांग्रेसको तप्तबहादुर विष्टले जित्नुभयो । उहाँले अन्य विकासे गतिविधिमा केही ध्यान दिए पनि मुख्य सडकको विकासमा खासै पहल गर्न सक्नु भएन । ०७४ पछि स्थानीय तह बनेपछि गुटुबाट बिजौरासम्म गाडी चल्ने अवस्था आएको हो । पहिला सडक खनिए पनि गाडी चलेनन् । चले पनि आम सर्वसाधारणको सहज पहुँचमा थिएनन् । ०७५ मा उक्त सडकलाई मदन भण्डारी राजमार्ग भनेर नामकरण गरियो । यद्यपि बजेट आएन । स्थानीय तहको चुनावपछि पालिकाको बजेटबाट गाउँमा सडक खन्ने काम भयो । मुख्य सडकको अवस्था भने ज्युँका त्युँ रह्यो ।
स्थानीय तहले गाउँमा सडक त खन्यो, ती सडकमा अहिलेसम्म गाडी चल्दैनन् । मुख्य सडक नै स्तरोन्नति नहुँदा सडक झनझन जीर्ण बन्दै गयो । स्थानीय सरकारले मुख्य सडकमा कहीँकतै बिग्रेको ठाउँमा गाडी चल्ने बनाउने बाहेक अरु काम गर्न सक्थेन । केन्द्रबाट बजेट नआउने, जनताले यातायातको सहज सुविधा नपाउने भएपछि ०७८ सालतिर उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य विन्दमान विष्टले प्रदेशबाटै बजेट विनियोजन गर्नुभयो । उहाँ अर्थमन्त्री पनि हुनुहुन्थ्यो ।
प्रदेशको बजेटबाट सुरुको खण्डमा बड्डीचौरबाट खम्बागाडेसम्म काम भइरहेको छ । स्थानीय तथा प्रदेशका सांसदहरूको निरन्तर पहलले ०७८ सालपछि त्यहाँभन्दा पश्चिमको खण्डमा टेण्डर भएका छन् । ठेकदारले काम गरिरहेका छन् । विद्यापुरदेखि बल्देको खण्डमा अबको केही समयभित्र सडक कालोपत्रे हुने देखिन्छ । जनताले कालोपत्रे सडक देख्न पाउने छन् ।
पश्चिम सुर्खेत अर्थात् अहिलेको चौकुने क्षेत्र सुर्खेतभित्रै पर्छ । तर हामीलाई सुर्खेतभित्रको हौँ भन्ने अपनत्व छैन । गुटुमा गाडी पुग्नुभन्दा एक दशकपछि मात्रै माथिल्लो कर्णालीमा गाडी पुगेको हो ।
सुरुवाती खण्डको काममा विलम्ब भइरहेको छ । अघिल्लो वर्षमै काम सम्पन्न हुनुपर्ने भनिएको सडकको अहिलेसम्म ३० प्रतिशत पनि काम भएको छैन । जसका कारण पश्चिमका जनताले गाडी चढ्नका लागि अझै कुर्नुपर्ने अवस्था छ । अघिल्लो वर्ष सडकको बेहाल अवस्था भनेर यातायात व्यवसायीहरूले गाडी लगेनन् । नागरिकहरूलाई निकै समस्या भयो । अनि जनताको आवाजलाई मध्यनजर गर्दै हामीले टिपर आन्दोलन गर्नुपर्यो । ०५० को दशकमै पहिलो पटक गाडी पुगेको थियो, ०८० सालमा गाडी चढ्न आन्दोलन गर्नुपर्यो । यो ठुलो विडम्बना हो ।
विकासको प्रमुख पूर्वाधार भनेको सडक हो । पश्चिमका जनताको मेरुदण्डका रूपमा रहेको यो राजमार्ग पूर्ण रूपमा बन्न अझै केही वर्ष कुर्नुपर्ने स्थिति छ । लगामदेखि कर्णाली नदी किनारसम्मको खण्डमा अझै स्रोत सुनिश्चित भएको छैन । अहिले पनि पश्चिम चौकुनेवासीको एउटै चिन्ता हुन्छ– बर्खा लाग्यो भने वीरेन्द्रनगर कसरी जाने ?
बर्खामा भौगोलिक रूपमा हाम्रो वीरेन्द्रनगरसँग सम्बन्ध टुट्छ । बर्खामा उता चिसापानी जोड्ने सडक पनि राम्रो हुँदैन । त्यहाँ पनि गाडी चल्न समस्या हुन्छ । त्यो तीन महिना चौकुनेवासी ‘बन्धक’ बन्छन् ।
हामी एउटा टापुमा छौँ । वरिपरि भेरी र कर्णाली बगिरहेका छन् । बर्खामा हाम्रो न वारी (वीरेन्द्रनगर) जाने ठाउँ हुन्छ, न पारी (कैलाली)। यो समस्याबाट हामीले मुक्ति चाहिरहेको छौँ । विद्यापुर—बल्दे सडकमात्रै बनेर भएन, सुरुवाती खण्डको समस्याले असारपछि गाडी चल्न मुस्किल छ । चौकुनेवासीहरू असार, साउन, भदौमा वीरेन्द्रनगर, कैलाली जान कठिन हुन्छ भनेर त्यो वेला गर्नुपर्ने काम जेठमै ‘प्रि–प्लान’ गरिसक्छन् ।
यदि बड्डीचौर—पाल्पाघाट (कर्णाली किनार)सम्म मदन भण्डारी राजमार्गले पूर्णता पाउने हो भने पश्चिम सुर्खेत गुलजार बन्ने छ । यातायातमा सहजता मात्र आउने छैन, पश्चिम सुर्खेतलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने छ । मुख्य सडकको विकाससँगै गाउँमा मान्छेको आवत–जावत बढ्ने छ, स्थानीय बजारहरू व्यवस्थित हुन्छन् । कृषि र पशुपालनमा सम्भावना रहेको पश्चिम सुर्खेतमा उत्पादन भएका बस्तुको बजारीकरण हुनुका साथै नागरिकहरू आर्थिक रूपमा सबल बन्ने छन् ।
पश्चिम सुर्खेत अर्थात् अहिलेको चौकुने क्षेत्र सुर्खेतभित्रै पर्छ । तर हामीलाई सुर्खेतभित्रको हौँ भन्ने अपनत्व छैन । गुटुमा गाडी पुग्नुभन्दा एक दशकपछि मात्रै माथिल्लो कर्णालीमा गाडी पुगेको हो । अहिले जुम्ला, कालिकोट, मुगुका गाउँबस्तीहरू सडक यातायात, शिक्षा, स्वास्थ्यका हिसाबले निकै अगाडि छन्, तर प्रदेशकै सुगम जिल्ला मानिएको सुर्खेतभित्रकै भए पनि हामी कर्णालीभित्रको कर्णाली बन्यौँ । अथवा सुर्खेतको लुकेको कर्णाली हो ।
स्थानीय तह बनेपछि गुटुमा केही बदलाव आए पनि चौकुनेका कतिपय बस्ती त्यस्ता छन्, जहाँ सङ्घीयता नै पुगेको छैन ।
वरिपरि नदीले पनि घेरेको छ । कर्णाली प्रदेशकै सुगम जिल्ला सुर्खेत हो । सुर्खेत भन्ने बित्तिकै वीरेन्द्रनगर भन्ने भाष्य बनाइयो । वीरेन्द्रनगरलाई नै हेरेर पश्चिमका दुर्गम गाउँको मूल्याङ्कन गरिन्छ । यही कारण हामी पछि पर्यौँ । चौकुनेका कतिपय स्थानीय हामी सुर्खेतभन्दा बरु कैलालीसँग जोडिएको भए छिटो विकास पाउथ्यौँ भन्ने ठान्छन् । चौकुनेवासी अझै पनि वीरेन्द्रनगर जानुपर्यो भने ‘सुर्खेत’ जाने भन्छन् ।
हामी भन्छौँ– वीरेन्द्रनगरले हामीलाई उपेक्षा गरेको छ । सिङ्गो राज्य वीरेन्द्रनगरमा छ, तर त्यही जिल्लाको पश्चिमका नागरिक अहिले पनि वीरेन्द्रनगरलाई मात्रै सुर्खेत भन्छन् । त्यो भनेको हिजोदेखि वीरेन्द्रनगरले पश्चिमवासीलाई गरेको उपेक्षा हो । विगतमा हामी केन्द्रीय नेतृत्वको प्राथमिकतामा परेनौँ । वीरेन्द्रनगरको प्राथमिकतामा परेनौँ । किनकि विगतमा वीरेन्द्रनगर जिल्लासँगै क्षेत्रीय सदरमुकाम थियो । विकासे कार्यालयदेखि राज्यका अधिकारीहरू वीरेन्द्रनगर बस्थे । हाम्रो बुझाइमा राज्य नै वीरेन्द्रनगर थियो । ०७० सालसम्म पनि जिल्लाका अधिकारीहरू प्रायः पश्चिम पुग्थेनन् । अहिले वीरेन्द्रनगर विकासका दृष्टिकोणले अग्रस्थानमा छ, तर त्यही राजधानीको क्षेत्रसँग जोडिएका हामी आधारभूत आवश्यकताका लागि पनि संघर्ष गरिरहेका छौँ ।
स्थानीय तहको निर्वाचनपछि ‘गाउँ–गाउँमा सिंहदरबार’ भनियो । उक्त संरचना अन्तर्गत पश्चिमका केही गाविस गाभेर चौकुने गाउँपालिका बनायौँ । यद्यपि भौगोलिक रूपमा स्थानीय तहमा आएको बजेटले सबै गाउँबस्तीलाई समुचित विकासतर्फ डोर्याउन कठिन छ ।
स्थानीय तह बनेपछि गुटुमा केही बदलाव आए पनि चौकुनेका कतिपय बस्ती त्यस्ता छन्, जहाँ सङ्घीयता नै पुगेको छैन । तालागाउँ, पाल्पाघाट, केलागाउँ, रेक्चा, कोइरालबास लगायतका दर्जन बढी बस्तीका नागरिकहरू गाडी चढ्न लगाम, बिजौरा र गुटु पुग्नैपर्छ । गाडी चढ्न अहिले पनि एक दिनभर पैदल हिँड्नुपर्ने अवस्था छ । ती गाउँमा जाँदा अहिले पनि ‘कुनै अर्को देश वा संसारमा पुगेजस्तो’ लाग्छ । नागरिकको दयनीय अवस्था छ ।
१८/२० वर्षअघि हटारुमार्ग हो यो क्षेत्र । तर अन्य क्षेत्रको सडक विकाससँगै हटारु हिँड्दैनन् । यो क्षेत्र (चौकुने) मा १५–२० प्रतिशत मान्छे पूर्वबाट, करिब ४० प्रतिशत अछाम र ५ देखि बढी डोटी र बाँकी दैलेखदेखि माथिल्लो कर्णालीबाट आएका मान्छेको बसोबास छ । संस्कार, संस्कृतिले भरिपूर्ण छ ।
(पश्चिमको चौकुने गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष धनीराम धमालासँग रातोपाटीका लागि पंखबहादुर शाहीले गरेको कुराकानीमा आधारित ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफलः परराष्ट्रमन्त्री
-
प्रतिनिधिसभा बैठक सोमबारसम्म स्थगित
-
‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’
-
भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण
-
बाबिल खानले लिए करियरबाट ‘ब्रेक’
-
सुकदेव उपाध्यायको दोस्रो उपन्यास ऐँजेरुको लोकार्पण