आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय
राजनीति

वाईसीएल अध्यक्ष पदका लागि आकांक्षीको लर्को

आइतबार, ०४ जेठ २०८२, १६ : ०४
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलन काठमाडौंमा जेठ १७ देखि १९ सम्म हुँदैछ, जसमा अध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी दिने तयारी छ।
  • वर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने भएपछि उपाध्यक्ष, उपमहासचिव र सचिवबाट नेतृत्वका लागि आकांक्षी देखिएका छन्, जसमा केहरसिंह कुँवर, पुष्प ओली र माधव बस्नेत लगायत छन्।
  • सम्मेलनमा २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्यीय पदाधिकारी बनाइनेछ, भने करिब दुई हजार प्रतिनिधि सहभागी हुनेछन् र सहमतिमा नेतृत्व चयनको प्रयास हुनेछ।

काठमाडौँ । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसीएल)को भावी नेतृत्वका लागि आकांक्षीको लर्को लागेको छ । जेठ १७ देखि १९ सम्म काठमाडौँमा हुने तेस्रो राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा १२ जनाको हाराहारीमा उम्मेदवारी दिने तयारी गरेका छन् । 

वर्तमान अध्यक्ष सुबोध शेर्पाली नदोहोरिने घोषणा गरेकाले भावी नेतृत्वका लागि उपाध्यक्ष, उपमहासचिव र सचिवबाट १२ जनाको हाराहारीमा आकांक्षी देखिएको वाईसीएलका एक पदाधिकारीले जानकारी दिए । 

ती पदाधिकारीका अनुसार महासचिवभन्दा माथिका लगभग सबै ४० वर्षे उमेरहदका कारण पदाधिकारीबाट बाहिरिँदैछन् । उपाध्यक्षबाट एक्ला प्रतिस्पर्धी रहेका केहरसिंह कुँवर अध्यक्षका दाबेदार रहेका छन् । उपमहासचिवबाट पुष्प ओलीले भावी नेतृत्वका लागि दाबी गरेका छन् ।

सचिवबाट माधव बस्नेत(रुपन्देही), डम्बर पुलामी ‘कर्मा’(झापा), गणेश शाही ‘विद्रोही’ (कालिकोट)ले पनि अध्यक्षमा उम्मेदवारी दिने बताउने गरेका छन् । पुलामी कोशी प्रदेशका इन्चार्ज हुन् । शाही कर्णाली प्रदेशका इन्चार्ज हुन् । अध्यक्षका अन्य दाबेदारमा ठाकुर सौराग, नवराज एैर, शिव बोगटी, प्रेम श्रेष्ठ लगायत रहेको अर्का एक पदाधिकारीले जानकारी दिए ।

‘भावी नेतृत्वको लागि पदाधिकारीबाट अहिलेसम्म १२ जनाले आकांक्षा राखेपनि सहमतिमै नेतृत्व चयन गर्नका लागि अन्तिमसम्म प्रयास रहनेछ । सर्वसम्मत भएन भने विकल्पमा निर्वाचनबाट प्रक्रिया अगाडि बढ्छ’, ती पदाधिकारीले रातोपाटीसँग भने ।   

वाईसीएल माओवादीको प्रभावशाली युवा संगठन भएकाले पार्टी नेतृत्वको समेत चासो हुने गर्छ । जसका कारण सहमतिमै नेतृत्व छनोट गर्न कठिन रहेको अर्का एक पदाधिकारीले बताए । 

 यसअघि अनेरास्ववियु(क्रान्तिकारी) र प्रेस सेन्टर नेपालको नेतृत्व छनोटमा पार्टी नेतृत्वले सहमतिमै छनोट गर्ने पहल गरेपनि असफल भएको थियो । क्रान्तिकारीको नेतृत्वमा पार्टीले अनावश्यक रूपमा गिजोल्दा बन्द सत्र सुरु भएको तीन महिनासम्म नेतृत्व चयन अवरुद्ध भएको थियो ।

यस्तै वाईसीएलमा अध्यक्षपछि महत्त्वपूर्ण पद मानिने महासचिवका लागि झन्डै ६ जना आकांक्षी देखिएका छन् । महासचिव पदका लागि शोभराम भण्डारी(सल्यान), धनकुमार मैनाली(ललितपुर), मुकेश थापा, हरि ढकाल लगायत आकांक्षी छन् ।

अहिले ३१५ सदस्यीय केन्द्रीय समिति रहेको वाइसिएलमा ६१ जना पदाधिकारी रहेका छन् । आगामी सम्मेलनबाट २५१ सदस्यीय केन्द्रीय समिति र ३५ सदस्य पदाधिकारी बनाउने कार्यविधि बनिसकेको छ ।

सचिव डम्बर पुलामीले अहिलेसम्म करिब ५७ जिल्लामा सम्मेलन सम्पन्न भइसकेको बताए । उनले लगभग १५ प्रतिशत पालिकामा सम्मेलन हुन बाँकी रहेको जानकारी दिए । पुलामीका अनुसार अबको एक हप्ताभित्र सबै पालिका, जिल्ला र प्रदेश सम्पन्न हुनेछ ।

यता उपमहासचिव तथा प्रचार विभाग प्रमुख पुष्प ओलीले सम्मेलनमा करिब दुई हजार प्रतिनिधि सहभागी हुने उनले बताए । ओलीका अनुसार ७५३ पालिकाबाट एक÷एक जना, जिल्लाबाट सात÷सात जना र प्रदेशबाट १४÷१४ जना प्रतिनिधि चुनिएर आउने छन् । 

‘प्रदेश अन्तर्गत विशेष, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश सम्मेलन सम्पन्न भइसकेको छ । सुदूरपश्चिममा बन्तसत्र जारी छ । बागमती प्रदेशमा सोमबार सम्मेलन हुनेछ । जिल्ला र पालिकाको सम्मेलन धमाधम भइरहेको छ’, उनले भने ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप