आइतबार, ०४ जेठ २०८२
ताजा लोकप्रिय

बेलायतमा नेपाली डायस्पोराको विगत र वर्तमान

आइतबार, ०४ जेठ २०८२, १५ : २१
आइतबार, ०४ जेठ २०८२

समाचार सारांश

  • बेलायत र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको लामो समय भइसकेको छ, जसमा गोर्खाहरूको ठूलो योगदान छ।
  • बेलायतमा नेपालीहरूको बसोबास १९३० को दशकबाट सुरु भएको विश्वास गरिन्छ । गोर्खा, विद्यार्थी र विभिन्न पेशाका मानिसहरूले बेलायतमा जीवन बिताए।
  • बेलायतमा नेपाली समुदायले विभिन्न क्षेत्रमा सफलता हासिल गरेको छन् । तर जीवनशैली र सांस्कृतिक भिन्नताका कारण केही चुनौतीहरू पनि छन्।

विश्व इतिहासमा बेलायतले आफ्नो नाम सुनौलो अक्षरले लेखेको छ । जुन इतिहास लेखन प्रक्रियामा नेपाली गोर्खाहरूको पनि अतुलनीय योगदान छ । 

सन् १८१६ मा सुगौली सन्धि भएपछि लप्टन बोयल कार्यवाहक रेजिडेन्ट भएर काठमाडौँ आएका थिए । पछि ई. गार्डनर स्थायी रेजिडेन्ट भएर आएका थिए । यसरी नेपाल र बेलायतबिच कूटनैतिक सम्बन्ध स्थापना भएको थियो । नेपालको सबैभन्दा पहिले कूटनैतिक सम्बन्ध भएको मुलुक बेलायत हो । 

१८५२ मा जङ्ग बहादुर राणाले बेलायत भ्रमण गरेका थिए । १९ औ शताब्दीको पूर्वार्धको समयसम्म कुनै पनि हिन्दु राजा महाराजाहरूले सात समुन्द्र पार गरेर युरोप गएका थिएनन् । जङ्ग बहादुर राणाले बेलायतमा रानी भिक्टोरिया लगायत राज परिवारका सदस्यहरू, प्रधानमन्त्री लर्ड जोन रसल, परराष्ट्रमन्त्री लर्ड पाल्मरस्टन, मन्त्रीहरू, सांसदहरूसँग भेटघाट गरी संसद् भवन समेत अवलोकन गरेका थिए ।

यसरी जंगबहादुर राणाले बेलायतको भ्रमण गरेका थिए । इतिहासमा जङ्ग बहादुर राणालाई बेलायत भ्रमण गर्ने पहिलो नेपाली हुन् भनिएको छ । तर, जङ्ग बहादुर राणाको भ्रमणमा दोभासे गर्ने मोतीलाल सिंह बेलायत भ्रमण गर्ने पहिलो नेपाली हुन् भन्ने तथ्य प्राज्ञ डा. कृष्ण प्रसाद अधिकारीद्वारा लिखित बेलायतमा पहिलो नेपाली भन्ने पुस्तकमा उल्लेख छ ।

 १९२३ मा बेलायत र नेपालबिच भएको सन्धि पत्रमा बेलायतको तर्फबाट लेफ्टिनेन्ट कर्णेल डब्लूएफटी ओकोनर र नेपालको तर्फबाट प्रधानमन्त्री चन्द्र शमशेरले हस्ताक्षर गरेका थिए । सन्धि लागू भएपछि काठमाडौँस्थित ब्रिटिस रेजिडेन्सी लिगेसनमा परिणत भयो र नेपालमा राजदूतावास खोल्न पाउने भयो । २१ डिसेम्बर १९२३ का दिनदेखि भाय सराय लर्ड रिडिङ्ले नेपालको राजालाई हिज म्याजेस्टी भनी पत्र लेखि पठाए । सन्धि पत्रमा हस्ताक्षर गर्नु अगाडि राजालाई हिज हाइनेस किंग अफ नेपाल भनी सम्बोधन गरी लेखि पठाउँथे । यसपछि बल्ल नेपाललाई विश्व जगतले सार्वभौम सम्पन्न स्वतन्त्र राष्ट्र भनेर चिनेको हो (प्रमोद शमशेर राणा–राणा शासनको वृतान्त )।

बेलायतमा १९३४ देखि मात्रै नेपाली दूतावास स्थापना भएको हो । बेलायतका लागि पहिलो नेपाली राजदूत थिए बहादुर शमशेर । यसरी सुरु भएको बेलायतको नेपालीहरूको इतिहास आजसम्म आइपुग्दा झन्डै दुई लाख नेपाली भएको आकलन छ । यद्यपि यसको कुनै आधिकारिक अभिलेख दूतावास र नेपाली सङ्घ संस्थाहरूमा रहेको पाइँदैन । बेलायतमा नेपालीहरूको बसोबास १९३० को दशकबाट सुरु भएको पाइन्छ । १९६० को दशकमा बेलायत आउने नेपालीहरूको पहिलो पुस्तामा बेलायती सेनामा कार्यरत गोर्खाहरू नै थिए । बेलायतमा पहिलो नेपालीको जन्म १९६२ मा टिडवर्थमा भएको देखिन्छ । टिडवर्थ गोर्खा सैनिकहरूको पहिलो क्याम्प थियो । बेलायत सरकारबाट भूपू गोर्खाहरू र उनका परिवारलाई बेलायत बस्ने आवासीय मान्यता प्राप्त गरेपछि सन् २००० बाट बेलायतमा बसोबास गर्ने नेपालीको सङ्ख्या बढेको देखिन्छ ।

१९६५-६६ ताका केही नेपालीहरू होटेल र रेस्टुरेन्ट व्यवसायमा वर्क परमिटमा आएको देखिन्छ । वर्क परमिटमा आउने पहिलो नेपाली काठमाडौँस्थित पारस होटेलको हेड सेफ स्व. कृष्ण बहादुर थापा र ग्रिन होटेलको हेड सेफ श्याम महर्जन थिए । त्यसपछि कालुराम तामाङ, रामदास महर्जन, हरि विभोर कार्की, मुहमद अलि, ईश्वर मानन्धर र पूर्ण दास मधुकर्मी थिए (ईश्वर मानन्धर स्मृतिका पानाहरुबाट)।

१९६० को दशकमा बेलायतमा अध्ययन गर्न आएका नेपालीहरूले “यती” नाम गरेको संस्था स्थापना गरिसकेका थिए । 

यसरी ६० को दशकदेखि नै अध्ययन गर्न आएका विद्यार्थीहरू, वर्क परमिट लिएर आएकाहरू, नेपाली राजदूतावासका कर्मचारीहरू, बीबीसी नेपाली सेवामा कार्यरत सञ्चारकर्मीहरू र बिग्रेड गोर्खाजको गोर्खा सैनिकहरु बेलायतमा भएको देखिन्छ । विस्तारै डाक्टर, इन्जिनियर, नर्स र एकाउन्टेन्टहरू पनि आउन थाले । जनयुद्ध भएपछि द्वन्द्व पीडित केही राजनैतिक शरणार्थीहरू पनि बेलायत प्रवेश गरेका थिए । सन् १९९७ पछि गोर्खाहरूलाई आवासीय सुविधाप्राप्त भएपछि बेलायतमा नेपालीहरूको जनघनत्व बाक्लिन थालेको हो । 

बेलायत सरकारले विद्यार्थीहरूलाई बेलायत आउने प्रक्रिया सरल बनाएपछि धेरै नेपाली विद्यार्थी पनि बेलायत भित्रिए । अहिले प्रोभिजनल भिसा र गोर्खा भूपूका सन्तानलाई दिने सरल भिसा प्रक्रियाले प्रत्येक वर्ष धेरै नेपालीहरू बेलायत आइरहेको अवस्था छ । प्रत्येक वर्ष २२० जना नेपाली युवाहरू ब्रिटिस सेनामा भर्ती भएर आउँछन् र ब्रिटिस गोर्खामा झन्डै ३५०० जना गोर्खा कार्यरत छन् भन्ने तथ्याङ्क छ । यसरी बेलायतमा नेपालीहरूको सङ्ख्या बढ्दो क्रममा छ ।

सुनौलो र सुरक्षित भविष्यको सपना बोकेर आएका नेपालीहरू बेलायतको प्राय सबै ठाउँहरूमा भेट्न र देख्न सकिन्छ । तापनि अल्डरसट, फार्नवोरो, रिडिङ, प्लमस्टिड, स्वीन्डन, असफोर्ड र फोक्स्टोन नेपाली बाहुल्य भएका सहर हुन् । विदेशमा गएपछि दुःख नगरी सजिलै पैसा कमाउन सकिन्छ, रुखमा फलेको फल जस्तै सजिलै टिप्न सकिन्छ भन्ने भाष्य छ । तर, परिस्थिति ठिक त्यसको उल्टो हुन्छ । विदेशमा गएर गरेजस्तो परिश्रम नेपालमा गर्ने हो भने विदेशमा जस्तो पैसा नेपालमै कमाउन सकिन्छ भन्ने विदेशमा गएर दुःख गरेका भुक्तभोगीहरू सबैको भनाइ छ । हुन पनि यति धेरै दुःख गर्नु पर्छ कि त्यसको वर्णन गर्न नै गाह्रो छ । बिहान ४-५ बजे मोबाइलको आलराम सँगै उठ्नुपर्छ । बेलुकी तयार बनाई राखेको बासीभात पोको पारेर निस्कनुपर्छ । 

दिनभरि काम गरेर घरमा आएपछि पुन भोलिपल्टको कामका लागि खाना तयार गर्नुपर्छ । यो निरन्तर चलिरहने प्रकृया हो । थाकियो, अल्छी लाग्यो, बिरामी भइयो भनेर गुनासो गर्न विकल्प नै हुँदैन । कसैको काम दिउँसो र कसैको काम राती हुन्छ । कसैको श्रीमान् श्रीमतीबिच भेटघाट हुन पनि गाह्रो हुन्छ । श्रीमान् राती काम गरेर दिउसो घरमा आएर सुत्नुपर्छ । राती काममा जानुपर्छ । दिउँसो काममा गएर श्रीमती घर आउँदा श्रीमान् काममा गइसकेको हुन्छ । भेटका लागि छुट्टी नै मिलाउनु पर्ने बाध्यता हुन्छ । काम गर्न सक्ने उमेरको श्रीमान-श्रीमती काममा गएपछि घरमा सानुनानी केटाकेटीहरूको हेरचाह काम गर्न नसक्ने उमेरको बाबु आमाले गर्छन् ।

 केटाकेटीलाई विद्यालय पुर्‍याउने, विद्यालयबाट घरमा ल्याउने काम बाजे बजैको हुन्छ । तर बाजेबजै र नाति नातिनी बिचको माध्यम हातको इशारा हुन्छ । बाजे बजैले अङ्ग्रेजी नबुझ्ने नाति नातिनीले नेपाली नबुझ्ने, घरमा पुगेपछि टिभी खोलेपछि बाजेबजैहरु नेपाल सम्बन्धी कार्यक्रम हेर्न रुचाउँछन् भने नाति नातिनीले भिडियो गेम र कार्टुन हेर्न मन पराउँछन् । यस्तो समस्या भएपछि आफ्नो कोठामा गएर बस्नुको विकल्प हुँदैन ।

 घरमा आफ्ना इष्टमित्रहरू आउँदा अभिभावकले आफ्ना छोराछोरीहरूले चलिआएको संस्कार अनुसार शिष्टाचार गरिदिए हुन्थ्यो भन्ने चाहना राख्नु स्वाभाविक हो । तर आजभोलिका केटाकेटीहरू कोठाबाट बाहिर निस्कँदैन । जति बोलाएपनि फकाए पनि नसुने झैँ गर्छन् । यो आम नेपाली अभिभावकले भोगेको नियति हो । एकै परिवारको पुस्तान्तरणको भाषिक समस्याको उपज हो । भाषा, विषय, रुचि, सङ्गत र परिस्थितिले सृजना गरेको अवस्था पनि हो । बेलायतमा चिया बनाएर दिने कोही हुँदैन, आफैँले बनाएर खानुपर्छ, खाना आफैँले बनाएर खानुपर्छ, ट्वाइलेट, बाथरुम र घर आफैँले सफा गर्नुपर्छ । बाबु आमा बिरामी भए अथवा वृद्धा भएर केयर होम (बृद्धाश्रम) लगेर राख्छन् छोराछोरी कहिलेकाहीँ मात्र भेट्न जान्छन् ।

हामी नेपालमा अभिभावकको गाली, पिटाई खाएर हुर्केका पुस्ता हौँ । विद्यालयमा पनि पाठ बुझाउन नसक्दा गुरु र गुरुमाको ठुलो स्वर, गाली र पिटाई पनि खाएका भुक्त भोगी हौँ । आफ्ना नानी केटाकेटीलाई सम्झाउनु भन्दा ठुलो स्वर गर्ने, गाली गर्ने, पिट्ने गर्यौं भने डराउँछ र हामीले भनेको मान्छ भन्ने मानसिकता भएका पुस्ता हौँ । तर, बेलायतमा आफ्ना छोरा छोरीलाई उनीहरूको इच्छा विपरीत ठुलो स्वर गरेमा, गाली गरेमा, उनीहरूको जिउमा छोएमा मेरो अभिभावकले मलाई ह्यारेसमेन्ट गर्यो भनेर पुलिस बोलाउँछन् र बाबा आमालाई समातेर लैजान आग्रह गर्छन् । यस्तो किसिमको असहज र नमिठो परिस्थिति धेरैले भोगेका सुनिन्छ । त्यस्तै श्रीमान् श्रीमतीबिच पनि असमझदारी र एउटाको इच्छा विपरीत अर्कोले व्यवहार गरे मलाई जबरजस्ती गर्यो भनी उजुरी हालेर कानुनी प्रक्रियामा गएर सम्बन्ध विच्छेद गरेका पनि धेरै छन् । सानातिना विषयमा झगडा गरेर घरबार बिग्रिएको धेरै परिवार छन् ।

बेलायतको नेपाली युवा युवतीहरू धेरैले आफ्ना परम्परा र चलनलाई छाडेर आफ्नो खुसीले रोजेको साथीहरूसँग विवाह गरिरहेका छन् । युनिभर्सिटीको साथी, कामको साथी, सामाजिक सञ्जालमा भेटेको साथी, जो सँग माया प्रेम बस्छ उसैसँग विवाह गरिदिनुपर्छ परिवारले पनि । अभिभावक विवश भएर उनीहरूको इच्छा अनुसार तयार हुनुपर्छ । त्यो अफ्रिकन, चाइनिज, इन्डियन, युरोपियन मूलको नै किन नहोस् ।

बेलायत संसारभरकै मानिसहरूको सपनाको देश हो । जो कोही पनि यहाँ आउन लालायित हुन्छ । संसारकै धनाढ्यहरू, प्राज्ञिक व्यक्तिहरू, कुख्यात तानाशाहरु सबै अटाउन सक्ने कानुन भएको देश हो यो । यो देश प्रजातन्त्रको जननी मात्रै नभएर मानवअधिकारको पूर्ण प्रत्याभूति हुने मुलुक पनि हो ।

 प्राज्ञिक स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकबाट सुसज्जित हुन पाउने कानुन भएको मुलुक हो । यहाँ आफ्नो पहिचानका लागि आफ्ना धर्म, संस्कार, संस्कृति अवलम्बन गर्न पाउँछन् । इथनिक माइनरिटीजको हक अधिकार सुनिश्चित छ, त्यसैले बेलायतको संस्कृति मिश्रित छ ।

यहाँ संसारभरकै संस्कृति देख्न सकिन्छ । यहाँका मानिसहरू सबै व्यस्त जीवन बिताउँछन् । कोही कसैसँग बोल्ने समय नै हुँदैन । समयको ठुलो महत्त्व हुन्छ । सबै आ–आफ्नो सुरमा दौडिरहन्छन् । लाग्छ सबै मानिस मानिस नभएर यन्त्र मानव (रोबट) हो । सबैले आफ्नो छुट्टै वाहन कार, गाडीको व्यवस्था गरेको हुन्छ । त्यसैले बाबाआमा, छोराछोरी सबै आफ्नो निजी वाहन (कार) मा हिँडिरहन्छन् । कसैले २-३ ठाउँमा पनि काम गर्छन् । यहाँ जाँगर चलाउन सक्नेले धेरै कमाउन सक्ने अवसर पनि छ । धेरैले आफ्नो निजी घर जोडेका छन् । 

उमेर पुगेकाहरूलाई काउन्सिलले वृद्धा भत्ता र बस्ने घर पनि उपलब्ध गराउँछ । यहाँ काम ठुलो, सानो, राम्रो, नराम्रो भनेर विभेद हुँदैन । काम भनेको काम हो भन्छन् र कामको ठुलो महत्त्व हुन्छ । यहाँका नेपालीहरूले वीरता, बहादुरी, इमानदारी, शिष्टता, सहिष्णुता, सरलता र मिलनसारतालाई आफ्ना परिचय बनाएका छन् । मिहिनेत र क्रियाशीलतालाई आफ्ना पर्याय बनाएका छन् । यहाँको सरकार, नेपालको राजा र बेलायत सरकारको सल्लाहकार भएर काम गरिसकेका डा. सूर्य सुवेदी जस्ता व्यक्ति पनि छन् यहाँ । नेपालीहरू विश्व विद्यालयका प्राध्यापक, अस्पतालको चिकित्सक, बहुराष्ट्रिय कम्पनीमा इन्जिनियर, आइएनजिओमा व्यवस्थापक, सूचना प्रविधिमा दक्ष प्राविधिक, सरकारी कर्मचारी, प्रहरी र सेनाको उच्च पदमा अधिकृत, वित्तीय संस्थामा व्यवस्थापक भएर काम गरिरहेका छन् । त्यस्तै आफ्ना निजी लगानीमा सुपर मार्केट, ट्राभल एजेन्सी, ब्युटी पार्लर, निजी विद्यालय र कलेज चलाइरहेका छन् । यहाँबाट संसारको कुना कुनामा आफ्ना व्यापारको फ्रेन्चाइज फैलाएका छन् । हजारौँलाई जागिर दिलाएका छन्, उद्योग चलाएका छन् । बेलायतको नेपालीहरूको पुरानो र स्थापित व्यवसाय रेस्टुरेन्ट सञ्चालन हो । रेस्टुरेन्ट व्यवसायले नाम र दाम मात्रै हैन विश्व जगतमा नेपाली स्वाद र नेपाललाई पनि चिनाएका छन् । 

अहिले बेलायतको कुना कुनामा नेपाली रेस्टुरेन्ट सञ्चालनमा छ । अल्डरसट सहरमा मात्रै सयौँ नेपाली रेस्टुरेन्ट सञ्चालनमा छन् । अल्डरसटको ठमेल रेस्टुरेन्टमा दोहोरी, डी लन्च रेस्टुरेन्टमा पप र मालिङ्गो रेस्टुरेन्टमा गजल गायन हुन्छ । थकाली भान्छा घर, नेवारको भिन्तुना, लालीगुराँस मिठाई पसल, मोमो कर्नर, पानस रेस्टुरेन्ट, गोर्खा किचन जस्ता नितान्त नेपाली स्वादको लागि मात्र खोलिएको रेस्टुरेन्ट पनि छन् । यहाँ गोर्खा ट्राभल्स, सगरमाथा र चाइना ओरियन्टल सुपर मार्केट, क्वालिटी सुपर मार्केट र एभरेष्ट क्यास एण्ड क्यारी जस्ता सुपरमार्केटहरु नेपालीहरुले सञ्चालन गरिरहेका छन् । 

हजारौँ मानिसको क्षमता भएको अम्पायर हल यहाँको सर्वाधिक चल्ने सभा हल हो । विवाह, पार्टी, सभा सेमिनारका लागि यो हल प्रयोग हुन्छ । यहाँ बुद्धधर्मवलम्बीहरुका लागि गुम्बा, हिन्दुधर्मवलम्बीका लागि हिन्दु मन्दिर र बोनबादीहरुको लागि कोंईबो निर्माण गरिएको छ । नयाँ ठाउँ, नयाँ परिवेश र रहनसहनमा एक आपसमा सहयोग, सरसल्लाह र सुझावको आवश्यकता बोध भएर होला यहाँ थुप्रै संघ संस्थाहरुको स्थापना भएको छ । नेपाली डायस्पोरामा स्थापना भएको पहिलो संस्था यती यही स्थापना भएको हो । नेपालीहरूको संख्या बढ्दै गएपछि संघ संस्थाको संख्या पनि बढ्दै गएको देखिन्छ । संसारभरि फैलिएको नेपालीहरूको साझा संस्था गैर आवासीय नेपाली संघको जन्म २००३ मा लन्डनमा नै भएको थियो । नेपाल सरकारसँग दर्ता भएको ८६ मुलुकमा फैलिएको एनआरएनएले विदेशमा बस्ने झन्डै ८० लाख नेपालीको प्रतिनिधित्व गर्छ भनिन्छ ।

गैर आवासीय नेपाली संघ, जातीय संस्थाहरू, नेपालको राजनैतिक पार्टीहरूको भ्रातृ सङ्गठन, नेपालको क्षेत्रीय संस्थाहरू, बेलायतको क्षेत्रीय संस्थाहरू, भूपू सैनिकहरूको सङ्गठन, नम्बरीहरूको सङ्गठन, कलाकार संघ, साहित्यकार संघ, चलचित्रकर्मी संघ, खेलकुद संघ, व्यवसायी संघ, धार्मिक संघ जस्ता बग्रेल्ती संघ संगठनहरु स्थापित भएका छन् । एउटै उद्देश्य र सिद्धान्त भएका एउटै संस्था भए पनि हुने ठाउँमा एकभन्दा बढी संस्थाहरू स्थापना गरेका छन् ।

गैर आवासीय नेपाली संघ, राजनैतिक भातृ संघ, भूपू सैनिक संघ, जातीय संस्थाहरू प्राय सबैमा एकभन्दा बढी संस्थाहरू छन् । आफूले भनेजस्तो भएन भने आफैँ समानान्तर संस्था स्थापना गरी छाड्छन् । एउटा कार्यक्रममा प्रमुख अतिथिले दीप–प्रज्वलन गरे हुनेमा ६-७ जनाले दीप प्रज्वलन गर्छन्, सबैले खादा र ब्याच लगाउनुपर्छ । आसन ग्रहणमा आफ्नो नाम सम्बोधन हुनुपर्छ । सानो भने पनि संस्था खोल्ने, खादा, ब्याच लगाउने फोटो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने जस्ता अव्यवहारिक परम्परा भइरहन्छ ।

१९५० बाट नै नेपाली डाक्टरहरू बेलायतमा आएर अध्ययन गर्ने गरेको पाइन्छ । उनीहरू प्राय सबै छात्रवृत्तिमा आउँथे । डा. हेमाङ दीक्षित बेलायत आएर एमबिबिएस गर्ने पहिलो नेपाली हुन् । अहिले बेलायतमा हजारौँ डाक्टर छन् (ताप्लेजुङ देखि अक्सफोर्डसम्म पुस्तकबाट) ।

इन्जिनियर्सहरुको पनि छुट्टै संस्था छ । इन्जिनियर्सहरु पनि हजारौँ सङ्ख्यामा रहेका छन्। विवाह, व्रतबन्ध पार्टीको भोजमा फेसन र गहना लगाउने प्रतिस्पर्धा हुन्छ । आफ्नो पुरानो संस्कार झल्किने फेसन (लुगा) भन्दा भड्किलो र अनावश्यक देखासिकी बढी हुन्छ । तर पनि हामीले मनाउँदै आएको नेपाली चाडपर्व दशैं, तिहार, छठ, ल्होछार, ताक्सङ, इङनाम, माङी, माघे सक्रान्ति, उभौली, उधौली, भिन्तुना भन्दा जन्मदिन, वैवाहिक वर्षगाठ, क्रिसमस, न्यू इयर इभ, हलोइन, वेवी सावर, एनिभर्सरी, मेहेन्दी सेरोमनी जस्ता नयाँ पर्व र उत्सवहरू बढी महत्वका साथ मनाइन्छ । हाम्रा नयाँ पिँढीका युवा युवतीहरू बजारमा गएर किनमेलको सट्टा घरमै बसेर अनलाइन किनमेल गर्छन् ।

भूपू गोर्खाहरु नेपाललाई चिनाउने गौरवशाली इतिहास बोकेको अमर कथाको बहादुर पात्र हुन् । बेलायतका लागि रगत र पसिना बगाएको वीरताको गाथाको साहसी, मिहिनेती, सरल र वफादार लडाकु हुन् । बेलायतका लागि उनीहरुको योगदानको जति कुरा गरेपनि थोरै हुन्छ । तर, मानव अधिकारको देश भनेर चिनिने बेलायतले आफ्नो देशकै सैनिक र नेपाली मुलको सैनिकबीचको व्यवहार आकाश जमिन जस्तो छ । एउटै युद्ध मोर्चाको सैनिक बीचको विभेदलाई सम्बोधन गर्न भूपू गोर्खाहरुले आन्दोलन नै गर्नु परेको छ ।

 जुन आज सम्म पनि यथावत चलिरहेको छ । समान पेन्सन र सुविधा पाउन गोर्खाहरुबीच एक आपसमा एकता हुन जरुरी छ । तर, विडम्बना नेपालमा जति राजनैतिक पार्टी छन् त्यति नै गोर्खाहरुको पनि सङ्गठन स्थापना भएका छन् । एउटा संस्था बनाएर आफ्ना भनाईहरु बुलन्द गर्ने हो भने सजिलै गोरा सरह पेन्सन र सुविधा पाउने थिए । अथवा आफ्ना हक अधिकार छिट्टै सजिलोसंग सुनिश्चित हुने थियो । 

अहिले वंशजको नागरिकता पाउनुपर्ने माग उठिरहेको छ, जुन जायज र समय सान्दर्भिक छ, यस्मा सबैको ऐक्यवद्धता हुनुपर्छ । राम्रो सबैको भलाई हुने मुद्दा भएपनि जस अर्कैले पाउने देखेपछि सहयोग गर्नु पर्नेमा विरोध गर्न पछि नपर्ने प्रवृत्ति छ यहां । नेपालको संस्कार र तरिका ठ्याक्कै यहाँ भइरहेको छ । यहाँ निम्न भूपू सैनिक सङ्गठनहरू सकृय छन् । १. गेसो २. नेसा ३. बिगेसो ४. बिजिडब्लुएस ५. सत्याग्रह ६. जिटी टु जिटी (गभर्नमेन्ट टु गभर्नमेन्ट – ब्रिटिश) ७. गोर्खा नागरिकता निरन्तरता ।

त्यसरी नै नेपालको राजनैतिक पार्टीहरूको पनि आफ्ना छुट्टाछुट्टै भातृ सङ्गठन स्थापना भएका छन् । नेपालमा भएका राजनैतिक आन्दोलनमा यी सङ्गठनहरूले खेलेको भूमिका सराहनीय थियो । अहिले नेपालबाट घुम्न आएका आफ्ना नेताहरूलाई सपिङ गराएर पठाउनु लेभि दिनु अधिवेशनमा नेपाल जानु सिवाय अरू केही छैन । गैर आवासीय नेपालीहरूको जल्दो बल्दो मुद्दा नेपाली नागरिकता निरन्तरताको विषयमा नेताहरू यहाँ सबैले ठिक छ । हामी पो पुरा गर्छौ भन्छन्, नेपाल पुगेपछि बिर्सन्छन् । सबै राजनैतिक दलका भातृ संस्थाहरू एक हुने भए नेताहरूलाई चाहिँदो दबाब पुग्थ्यो । त्यसमा पनि नेपाली सङ्गठनहरू गुट उपगुटमा विभाजित छन् । एउटै दलको दुई वटा भातृ संस्थाहरू पनि छन् । 

नेपालीहरू संसारको जुनसुकै कुनामा रहे पनि आफ्नो मन मुटुलाई नेपाल प्रति नै समर्पित गरिरहेको पाइन्छ । सपना नेपालकै देख्छ, माया नेपाललाई नै गर्दछ  । जहाँ जान्छन्, पुग्छन् त्यहाँ आफ्नो संस्कार, संस्कृति सबै आफ्नै मनाउँछन् । चाड पर्वहरू दसैँ, तिहार, छठ पर्व, ल्होसार, माघे सक्रान्ति, साकेला, उँधौली, उभौली, म्ह पूजा आस्था र विश्वासको साथ मनाउँछन् । साथै देउसी, भैलो, चण्डी नाच, धान नाच, स्यावनाच, घाटु, सोरठी, सालैजो र लोकदोहोरी पनि नाचिरहन्छ । पहिले अल्डरसटकै निरमाया रोधी घर, अल्डरसटकै भेटघाट रोधी घर, प्लमस्टिडको चौतारी र रिडिङ्को छहारी रेस्टुरेन्टमा दोहोरी गाइथ्यो ।

 नेपालको नाम चलेको स्थापित गायक गायिका, कलाकार, मोडलहरू प्राय बेलायतमा कार्यक्रमका लागि बोलाउँछन् । नेपालमा रिलिज भएको चलचित्रहरू यहाँ हेर्न पाइन्छ (गणेश गुरुङ सञ्चालक निरमाया रोधी घर)। त्यसरी नै नेपाली साहित्यकारहरूले पनि नेपाली साहित्यको पठन र लेखन संस्कृतिलाई अगाडि बढाइरहेका छन् । सन् १९९५ मा नेपाली साहित्य विकास परिषद् यूके, २००० मा प्रवासी नेपाली साहित्य समाज, २००४ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, २००४ मा नेपाली प्रतिभा प्रतिष्ठान, २०१० मा विश्व नेपाली साहित्य महासंघ, २०१२ मा अनलाइन नेपाली साहित्य समाज, २०१० मा अन्तर्राष्ट्रिय नेपाली वाङ्मय प्रतिष्ठान, २०१२ मा नेपाली मुक्तक प्रतिष्ठान, २०१५ मा तरङ्ग चौतारी लगायत थुप्रै साहित्यिक संघ संस्था नेपाली भाषाको कक्षा सञ्चालन गरेर संरक्षण र प्रवर्धनमा लागिरहेका छन् ।

बेलायतमा सबैभन्दा पहिले १९६० मा पशुपति शमशेरको सम्पादनमा “यती पत्र” प्रकाशन भएको हो । त्यसपछि सगरमाथा टाइम्स् “गोविन्द टण्डन” को सम्पादनमा प्रकाशित भएको थियो । बिग्रेड अफ गोर्खाजले गोर्खा परिवारका लागि “पर्वते” प्रकाशन गरेको थियो । पल्टन जहाँ जहाँ जान्छन् त्यहीँ त्यहीँ पर्वते प्रकाशन हुने गर्दथ्यो, अहिले बेलायतबाट यसको प्रकाशन हुन्छ ।

१९९९ मा विश्वास दीप तिगेलाको प्रमुख सम्पादनमा “प्रवासी वेदना” प्रकाशन भएको थियो । २००३ मा दीपक न्यौपानेको सम्पादनमा “गोर्खा मिरर”, २००३ मा सुरेश जंङ्ग शाहको सम्पादनमा “लण्डन पोष्ट”, २००४ मा गोविन्द बेल्बासेले नेपाली सन्देश बजारमा ल्याएका थिए, जुन लामो समयसम्म चलेको थियो । २००५ मा डा चन्द्र लक्सम्बा र नवीन पोख्रेलको सम्पादनमा “युरोपका नेपाली पत्र” प्रकाशन भएको थियो र २००८ मा हरि कुमार गुरुङको सम्पादनमा “एभरेस्ट टाइम्स” प्रकाशन भएको थियो । यस अतिरिक्त विभिन्न संघसंस्था जस्तै मगर संघ यूकेले “कानुङलाघा”, तमु धीं यूकेले “फ्रेंसी”, जिआरएनसीले “चिनारी”, सहरा यूकेले “सहारा”, लमजुङ समाज यूकेले “लमजुङ दर्पण”, दक्षिण पूर्वी क्षेत्रिय तमु धीं ईकाईले “आशिमला”, चारभञ्ज्याङ तमु समाज यूकेले “मुख पत्र”, राई यायोख्खाले “सुम्निमा पारुहाङ”, किरात याक्थुङ चुम्लुङले “मिथला लादे”, एनआरएनएले एनआरएनए भ्वाइस,  पत्रकार महासंघ यूकेले एफएनजे स्मारिका, फोनिज यूकेले “द जर्नालिष्ट”, नेफिन यूकेले “नेफिन यूकेको डेढ दशक मुख पत्र” प्रकाशन गरेको थियो ।

रेडियो पत्रकारितामा सबैभन्दा पहिले १९६९ मा पुरन अग्रवालले रेडियो कार्यक्रम सञ्चालन गरेका थिए । १९९८ मा विजय थापाले रेडियो एभरेस्ट टाइम्स सञ्चालन गरेका थिए । व्रिटिश गोर्खा परिवारका लागि सिंगापुरमा बिएफबिएसको स्थापना भएको थियो । अहिले नेपाल, बेलायत र ब्रुनाईमा यो सञ्चालन हुन्छ । यसको पहिलो सञ्चालिका लिना दोधराज थिइन् । सामुदायिक रेडियो, गोर्खा वेलफेयर सोसाइटी रेडियो बिजिडब्लुएस् फार्नवरोमा सञ्चालन गरेको थियो । २००७ मा मोहन गुरुङ्गले नेपाली टिभी सञ्चालन गरेका थिए । डिटिजल युग सबैलाई हात हातमा मोबाइलबाट सूचना र मनोरञ्जनको सामग्री सजिलै उपलब्ध हुने भएकाले पत्रकारिताको स्वरूप, कार्यविधि र शैलीमा फरकपन देखिन थालेको छ ।

हाल बेलायतमा नेपाली समाचार डट कम, नेपाली लिट्रेचर, नेपाली पत्र, एभरेस्ट टाईम्स, गोर्खा मिडिया, वी नेपाली, नेपाली लिंक, नेपाल संसार, ग्लोवल नेप्लिज, ग्लोवल दैनिक, सिलिचुङ, नेपाल व्रिटेन डटकम, च्यानल लण्डन, सितल पाटी, सिलौटी डट कम, नेपाल मामिला, लन्डन नेपाल न्यूज डट कम, हिमालय मेल, खवर यूके डट कम आदि सक्रिय अनलाइन पत्रिकाहरु पनि छन् । 

१९८६ मा कोशेली नेपाली सांस्कृतिक परिवार यूके, १९९७ मा नेपाली कलाकार संघ यूके, लोक दोहोरी प्रतिष्ठान यूके, सयपत्री नेपाली सांस्कृतिक परिवार यूके, तमु कलाकार सांस्कृतिक मञ्च यूके, सेवारो सांस्कृतिक कलाकार मञ्च यूके र किराँत राई सांस्कृतिक कलाकार मञ्च यूके, नेवारी कलाकार संघ यूके, सुनगाभा परिवार यूके स्थापना गरेर नेपाली गीत संगीत र कलामा उल्लेखनीय सहयोग गरिरहेका छन् ।

नेपाली पत्रकारितालाई स्तरीय, मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासंघ बेलायत स्थापना भएको हो । साथै आदिवासी जनजातिहरुको नेपाल आदिवासी जनजाति पत्रकार महासंघ स्थापना भएको छ । बेलायतमा स्थापना भएको जातीय संगठनहरुको छाता संस्थाको रूपमा नेपाल आदिवासी जनजाति महासंघ यूके स्थापना भएको छ । यसमा दुरा, तामाङ घेदुङ, मगर संघ, राई योयोख्खा, याक्थुङ्ग चुम्लुङ, छन्त्याल, तमुधीं, शेर्पा संघ, ताप्के गोला, सुनुवार, ह्याल्मो संघ र किरात राई यायोक्खा गरि जम्मा ११ जातीय संस्थाहरू आबद्ध भएका छन् । बेलायतमा संघ संस्थाहरुको संख्याको कुनै अनधिकारिक गणना छैन । यी सबैको छाता संस्था गैर आवासीय नेपाली संघ हो जसलाई एनआरएनए भन्ने गर्छौ । नेपाल सरकारसंग दर्ता भएको यसको शाखा संसारभरि छरिएको छ । तर अहिले एनआरएनए केन्द्रदेखि राष्ट्रियस्तर देश देशमा विवाद छ । 

बेलायतको नेपालीहरुको बसाई एक पुस्ता मात्रै भइरहेको छ । अर्थात् नेपालीहरू यहाँ बस्न थालेको दुई दशक हुन लागेको छ । छोटो अवधिमा यहाँको नेपालीहरूले धेरै सकारात्मक र सुखद पक्षको उजागर गरिरहेका छन् । यहाँको प्रसिद्ध विश्व विद्यालयहरूमा छात्रवृत्तिमा नाम निकाल्ने, संयुक्त राष्ट्रसंघसंग सम्बन्धित बहुराष्ट्रिय कम्पनीहरुमा नाम निकाल्ने, यहाँका सरकारी सेवा, पुलिस र सेनाको उच्च पदहरुमा पुग्न सफल भएका छन् । कानुन व्यवसायी, वित्तीय संस्थामा विज्ञ, सूचना प्रविधिको विज्ञ लगायत हरेक क्षेत्रमा आफ्ना पहुँच बढाएका छन् । आफ्नो निजी व्यवसाय चलाएर एउटै व्यक्तिले युरोप, एसिया सम्म फ्रेन्चाइजको सञ्जाल फैलाएका छन् । 

बेलायतका नेपालीहरूले बंगलादेश, चाइनामा उद्योग संचालन गरेका छन् । यहाँबाट बेल्जियम, फ्रान्स र जर्मनमा पनि आफ्ना होटेल व्यवसायको सञ्जाल फैलाएका छन् । उसो त यहाँको मूल धारको राजनीतिमा पनि नेपालीहरू सक्रिय भएर लागेका छन् । १०-१५ जना काउन्सिलर भएका छन् । केहि मेयर पनि भएका छन् । 

बेलायतमा २०६९ को जुनमा चिन्डित दिवसको अवसरमा ग्रेट वेस्टर्न रेल्वेले एउटा रेलको नाम भि.सी. तुल बहादुर पुन भनेर नामाकरण गरेको छ । बेलायतको सेनाहरूको घर भनेर चिनिने अल्डरसट सहरको बीच भागमा प्रथम भिसी कुलवीर थापाको सालिक निर्माण भएको छ । मलाया, सिंगापुर र हङकङमा बृटिश सेना रहेको समयमा बेलायतमा तालिममा आउंदा बस्ने आर्मी क्याम्प चर्चक्रुकाम अहिले हटाएर बस्ती बसालेको छ । त्यो बस्तीको बाटो, चोकहरुको नाम थापा, पुन, गुरुङ, लामा, राई र लिम्बु जस्ता गोर्खालीहरूको थरको आधारमा राखिएको छ । बेलायतको रक्षा मन्त्रालयको अगाडी एउटा गोर्खा सैनिकको सालिक नै राखिएको छ । यसरी वीर गोर्खाको गाथा संसारभरि फैलिरहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप