बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कविता : प्रेम एक अन्तहीन यात्रा

शुक्रबार, ०३ कात्तिक २०७४, २२ : ४४
शुक्रबार, ०३ कात्तिक २०७४

अजित क्षेत्री 

महिना दिनको माइत बसाइपछि
भेट्ने तीव्र चाहनामा
ऊ आई हुइकिँदै, दौडिँदै
एक सासमा बेगले
आँगन र आँगन हुँदै पिँडी
अनि भुइँतलाको त्यो सानो कोठा
जहाँ म आतुर थिएँ, ऊ अर्थात्
मेरी पत्नीसँग आलिङ्गनको
एउटा न्यानो अँगालोको भुमरीमा 
आफूलाई बिसर्जन गर्न ।

ऊ आई
चिसो प्रेमिल बतास आयो
सागरको लहर आयो सँघारमै
र त्यसमै म बगेँ
उसले हात दिई, 
समाई, काखमा राखी उसैगरी
जसरी काखमा राख्नु हुन्थ्यो
मलाई मेरी आमा

ऊ झुकी, बादल जस्तो घना कपाल
मेरो छातीमा बिसाई
ईनार जस्ता गहिरा आँखा
मेरो आँखामा जुधाई
म चितुवाको पञ्जामा परेको 
मृगसरी आत्मसमर्पण गरेँ
लाग्दैथ्यो, उसले सिकार गरिसकी
र, अब खान्छे पनि काँचै मलाई ।

सागरमा पानी बढ्दै थियो
लहर उठ्दै थियो
तुफान आउनु अगाडीको समुन्द्री किनार जस्तो
हलचल र कम्पन थियो
व्यग्र प्रतीक्षा थियो
उग्र चाहना थियो
मीठो मिलन थियो
ऊ ममा र म ऊमा
कैद थियौँ बेकसुर
प्रेमको अन्त्यहीन जेलमा

छोरो टिभी हेर्दै थियो
हामी एकअर्कालाई बेर्दै थियौँ,

लाग्दैथ्यो–
यो समयको सुई यहीँ रोकिदिऊँ
अनि बिताउँ एक युग
यही अवस्थामा यही हालतमा ।

आँखा बन्द थिए
तर हामी यात्रामा थियौँ
बिना पाइला, बिना बाटो
प्रेमको एक सुदूर यात्रामा ।

हामी सिमानामा थियौँ
दुई ज्यानको
दुई मनको ।
तर निसङ्कोच ऊ हस्तक्षेप गर्दै थिई
मेरो सिमानामाथि, मेरो अस्तित्वमाथि
म खुसी र आन्दले लुटिँदै थिएँ
मिचिँदै थिएँ
सोंच्न सकिन, यो कस्तो खेल हो
न हार हुने न जित ?

अनायसै उसले सोधी–
प्रिय तिमी कसलाई सबैभन्दा
बढ्दा प्रेम गर्छौ ?
मैले निशङ्कोच जवाफ दिएँ– आमा

प्रेमको यो महासागरमा 
डब्नै लाग्दा पनि मैले
आमालाई भुल्न सकिनँ
मेरो पहिलो प्यार त्यो ।

हो म आमालाई
संसारमै सबैभन्दा बढी मायाँ गर्छु
प्रिय, तिमीमा पनि त म
आमाको एक अंश भेटाउँछु

अचानक छोरो आइपुग्छ
आफ्नी आमाको काखमा 
र लुटपुटिन्छ उसैगरी
जसरी लुटपुटिन्थेँ म
काखमा मेरी आमाको ।

प्रिय, तिमी 
मेरो छोराको पहिलो प्रेम हौ
र मेरो अन्तिम प्रेम
एक अन्तहीन प्रेमको जननी तिमी ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप