बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कथा : बर्थ डे केक

शुक्रबार, ०३ कात्तिक २०७४, २२ : ४४
शुक्रबार, ०३ कात्तिक २०७४

विकास रेग्मी 

अप्राकृतिक तरिकाले मेरो निन्द्रा खुल्यो मतलव बेडमा मस्त सुतिरहेको बेला, बिहानै टेवलको मोबायल बजेर निन्द्राले सबन्ध बिच्छेद गर्यो । भैतिक वस्तुहरूले खुलाउने निन्द्रालाई म प्राकृतिक मान्दिन । किनकी यस्तो बिउँझाइले त्यति आनन्द दिँदैन । यति बिहानै कसले फोन गर्यो मनमा रिस, राग र उत्सुकता सबै पैदा भयो । फोन उठाए । 
“हेलो बर्थ डे ब्वाइ, गुड मर्डिङ” एउटा सुमधुर स्त्री आवाज मेरो कानमा गुन्जियो । आवाज सुनेझैँ लाग्यो तर मान्छे चिन्न साकिनँ । मैले हजुर मात्र भने ताकि उनले अलिक धेरै बोलोस् र चिन्न सकूँ भनेर । 
“जन्म दिनको लाखौँ लाख शुभकामना छ । सोचेका सबै कामहरू पूरा हुन । “उताबाट आवाज आयो । म छक्क परेँ । मेरो आज जन्म दिन ? होइन । लाग्यो यो केटी गलत नम्बरमा फोन गरिरहेकी छ ।
“नम्बर एकपटक फेरि चेक गरेर फोन गर्नुहोला, तपाईं गलत नम्बरमा फोन गर्दै हुनुहुन्छ । आज मेरो जन्म दिन होइन ।” मैले भने । 
“म गलत हुनै सक्दिनँ । यो नम्बर तपाईंले नै दिनुभएको हो । सायद तपाईंको आजको बर्थ डेको पहिलो शुभकामना दिने म नै होला है ? ।” उसले हाँस्दै भनी । 
म शब्दविहीन भएँ । आज मेरो बर्थ डे थिएन तर ऊ चिने झैँ गरी बोलिरहेको थई ।
“किन नबोल्नु भएको ? केही त बोल्नु होस् ।” उताबाट फेरि आवज आयो । 
बिस्तारै कहाँ बस्ने के गर्ने उसँग धेरै कुराहरू भयो । उसको नाम कञ्चन रहेछ । बत्तीसपुतलीमा घर रहेछ । मसँग धेरै पटक देखादेख भएको तर बोल चाल एक पटक मात्र भएको कुरा उसले खुलाई । कलेज जाने बाटो एउटै रहेछ, जहाँ कहिले ऊ अगाडि कहिले म पछाडि हुन्छौँ रे । यी सब कुरा हुँदा पनि मैले उनलाई चिन्न साकिनँ । “दिनभरिको समय दिन्छु । म को हो चिन्नुहोस् ।” उनले अन्त्यमा हाँस्दै यति भनेर फोन काटी । 

मन खुलदुल भयो । कसैले मलाई जिस्काए झैँ लाग्यो किनकि आज यथार्तमा मेरो गर्लफ्रेडको बर्थ डे थियो । गर्लफ्रेड आफैले त यसो गरिनन् किनकि उनको बोली र व्यावहारसँग म परिचत थिएँ । ऊनी यसरी जिस्किने केटी नै होइनन् । उनी सबन्धलाई सिरियस लिन्छिन् । सानो घटनालाई पनि उनी धेरै तरिकाबाट सोच्छिन् । उनी अन्तरमुखी स्वाभावकी छिन् । काठमाडौँमा घर भएकी एक धनी र प्रतिष्ठित परिवारकी कान्छी छोरी थिइन् उनी । उनका बुबा राजनीति गर्थे । पञ्चायतकालमा धेरै पटक मन्त्री पनि भए रे । परिवारमा धेरै समय दिन सक्दैनन् थिए । आमा विदेशी एनजीओमा काम गर्थिन् । उनको पनि घर आउने त्यति फुर्सद हुन्न थियो । घरमा उनी दाइभाउजूसँग बस्थिन् । घरमा एक पटक मेरो बारेमा चर्चा चल्यो रे । हामी एकअर्कालाई धेरै माया गर्छौं भनेर उनले परिवारमा भन्दा उनको बाबाले पहिलो प्रश्न नै खानदान कस्तो हो ? तराईमा कति बिगा जग्गा छ भनेर सोधेका थिए रे । केटो इमानदार छ उनले यति भनिछिन् । भयो धेरै सङ्गत नगर्नु त्यसको भनेर बाबाले गाली गर्नुभएछ । त्यसपछि ऊ दुई महिना बोलिन मसँग । हाम्रो प्रेमको भविष्य छैन, अन्त्य गुरौँ भनिरहिन् तर आजभोलि घरमा सबन्ध अन्त्य भयो भनेर भए पनि मसँग मायामा थिइन् उनी । जे होस् उनको परिवारमा मेरो नाम परिचित थियो । 

आज उनको बर्थ डे थियो । तर म उनको घरमा जान बन्देज थियो । साँझमा उनको घरमा ठूलो पार्टी हुँदै थियो । घरमा सबै व्यस्त हुने भएका कारण केक आफै किनर ठीक पार्नु भनेर बाबाले हिजो बिहान नै उनलाई भन्नु भएको थियो रे । अनि हिजो दिउँसो उनले मलाई फोन गरेर केक अर्डर गर्दिनु भनिन् । मैले हिजो साँझ नै उनको घर नजिकैको बेकरीमा केक अर्डर गर्दिएको थिएँ । आज दिउँसो उनले मसँग बर्थ डे पार्टी मनाउन बोलाइन् । दिनभरी हामी एकअर्कासँग दुःख सुखका कुरा गर्दै बस्यौँ । आज दिनभरी पनि उनले हाम्रो अनिश्चित प्रेमको दुःख पोखिरहिन् । ‘छुट्न नसक्ने तर छुट्नुपर्ने सत्य बाध्यता छ हामीसँग ।’ उनले मेरो काँधमा टाउको राख्दै भनिन् । मैले धैर्य गरदेखि बाहेक केही भन्न साकिनँ । साँझ परेपछि हामी छुटियाँै । “बेकरीमा केक अर्डर छ लिएर जाऊ ।’ जाने बेला मैले भने । केकको पैसा दिन लाग्दै थिइन्, मैले यो वर्षको गिफ्ट नै केक भयो भनेर टारेँ ।

राति खाना खाएर सुत्न लाग्दै थिए फोन बज्यो । गलफ्रेन्डको फोन रहेछ । उठाएँ–
“हेलो मायालु” मैले भने 
“आई हेट यू । तपाईंको केही कमन सेन्स छैन । आज मेरो बर्थ डे हो, थाहा छ नि ?” उनले रुखो र चर्को स्वरमा भनिन् । 
के भयो ? म अलमल भएँ । “थाहा छ, बेवी किन र ?” मैले भनेँ ।
 उनी रुन लागिन् । म फकाउन सकिरहेको थिइनँ ।
 रुँदैरुँदै उनले भनिन्– “केकमा कसको नाम लेख्नुभएको थियो ? तपाईंलाई घरका सबैले चिन्छन् । केक काट्नलाई बक्स खोल्दा केकमा तपाईंको नाम देख्दा बाबा पार्टीबाट नै बाहिरिनुभयो । बिस्तारै सबै जना गए । बाबाले हाम्रो नाक काटिस् भनेर गाली गर्नुभयो । अब म तपाईंसँग रिलेसनमा बस्न सक्दिन ।” 
म निःशब्द भएँ, उनले फोन काटिन् ।

मनमा हिजो साँझको घटना खेल्न लाग्यो । उनको घर नजिकैको बेकरी सपमा गएँ । एउटी केटी पसलमा थई । गोरो र बाटुलो अनुहार, कालो र लामो कपाल, छिनेको कम्मर, पुस्ट छाती र मिलेको शारीरमा निलो र रातो बुट्टावला कुर्था । ऊ कुनै चलचित्रकी नायिकाभन्दा कम थिएन । मुसुक्क हाँसी । उनलाई मैले कहीँ देखे झैँ लाग्यो । उनले पनि मलाई कहीँ पहिलै देखेझँै गरेर हरिन ।
“के काम थियो ।” उनले सोधिन । “केक अर्डर गर्नु थियो । “मैले भने । 
मैले उनलाई हेरिरहेँ उनी बिल प्याडमा कार्बन पेपर हाल्दै थिइन् । 
“नाम के हो ?” उनले सोधिन् । 
“विकास ।” 
“कहिले चाहिने केक ?” उनले फेरि सोधिन् ।
 “भोलि” मेले भने ।
 “नम्बर छोड्नुहोस् न काम सकेपछि खबर गुरौँला ।” उनले हल्का मुस्कुराउँदै भनिन् ।
 मैले नम्बर दिएँ । उनले फेरि मुस्कान छोड्दै बिल मलाई दिइन् । मैले पैसा दिएँ ।
 “कति मीठो हो हाँसो । केक जस्तै” जाने बेलामा मैले भने ।
 उनले लजाउँदै भनिन्– “नजर राम्रो हो हजुरको ।” उनले परसम्म मलाई हेरिरहेकी थिइन् ।
 म झस्किएँ नाम त उनको पो टिपाउनुपर्ने रहेछ त । पकेटमा केकको बिल थियो । खोलेर हेरेँ । कञ्चन बेकरी सप बत्तीसपुतली काठमाडौँ । याद आयो बिहान फोन गर्ने केटी त्यही केटी हो, जो हिजो बेकरीमा थई । आँखाबाट आँशु आइरहेको थियो तर बिहानकी केटी यो भन्ने थाहा पाएपछि ओठ अनायसै मुस्कुरायो । आँशु पुछेर बिहानको नम्बरमा कल गरेँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप