बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कथा : रिटायर्ड हाउस

शुक्रबार, ०३ कात्तिक २०७४, २२ : ४३
शुक्रबार, ०३ कात्तिक २०७४

रमेश पाण्डे

डेनिलको घरमा उत्सव छ  ।  विक्रम संवत् २१८० साल वैशाख १३ गते आज डेनिल ठ्याक्कै ७ वर्ष पूरा भएर आठौँ वर्षमा प्रवेश गरेको छ  । 
घरका सबै सदस्य उसको जन्मदिनको पार्टीका लागि परपाहुनालाई व्यवस्थापन गर्नका निम्ति व्यस्त छन्  ।  विशेषगरी उस्को बाबु ग्रेसन यसमा चनाखो भएर लागेका छन्  ।  अघिल्लो वर्ष छोराको जन्मदिनको दिन कामको व्यस्तताले गर्दा उपस्थित हुन नसक्दा डेनिल रिसाएर हावा भरिएको फुटबल जस्तो हुप्प भएर एक हप्ता नबोलेको ग्रेसनले बिर्सिएका छैनन्  ।  त्यही भएर पनि यो वर्ष बिजनेसलाई एक दिनका लागि साइड लगाएर छोरालाई खुशी पार्नमा तल्लीन छन् उनी  । 
     आज डेनिल निकै खुशी छ, खुशी यसकारणले कि उसको आज जन्म दिन हो त्यो त छँदैछ  ।  त्योभन्दा पनि अझ खुशी आज उसको हजुर बुबा जोसेफ पनि रिटायर्ड हाउसबाट घरमा आउँदैछन  ।  त्यो पनि एक दिनको लागि नभएर एक हप्ताका लागि र यो एक हप्ता डेनिलले आफ्नो बाबु ग्रेसरसँग बर्थडे गिफ्ट स्वरूप मागेको थियो । ग्रेसरले उक्त गिफ्ट दिने निर्णय गर्न २ दिन समय लगाएको थियो । छोराको डिमान्ड सुनेर आमा सोफिया निकै तनावमा थिई । एक हप्ता यी बूढालाई कसरी झेल्नु भनेर । छोराले बर्थडे गिफ्टमै यस्तो डिमान्ड राखेपछि बाध्य भएर उसले स्विकृति दिएकी थिई । 
   डेनिल हजुरबुवासँग निकै खुशी हुन्छ । किनकि हजुरबुवासँग भेटभएपछि उसले कथा सुन्न पाउँछ । जोसेफ पनि नातिलाई कथा सुनाउँदा दङ्ग पर्छन् । मायाँले मुसार्न पाउँछन् । नातिको खुशीमा आफू पनि खुशीको अनुभूति गर्न पाउँछन् उनलाई त्यो घर स्वर्ग लाग्छ । मृत्युअघिको स्वर्ग, जिउँदो रहँदैको स्वर्ग र आफैले देखिने गरी महसुस गर्नसक्ने स्वर्ग । 
     तर  यो स्वर्गमा ऊ केही दिनको पाउना हो । ऊ त्यहाँ अटाउन सक्दैन । उसका लागि त्यहाँ कुनै ठाउँ छैन । नातिलाई मुसारेर मायाँ गर्न पाउँदैन । किनकि केही दिनपछि ऊ फर्किने छ उही रिटायर हाउसमा, जहाँ स्वर्गका सबैकुरा छाडेर जानुछ । नाति डेनिल, उसको मायालु बोली, छोरा ग्रेसर, बुहारी सोफिया सबै सबै छोडेर फगत एक्लै र रिटायर्ड हाउसमा मिसिनु छ । आफूजस्तै मुजा परेका अनुहारसँग, त्यहाँ न कलिला मुना छन् न आफूले जन्माएका सन्तान हुने छन् न कसैले कथा भन भनेर कर लगाउँछन न कथा सुनाउँदै खुशी हुन सक्छन् । 
     मान्छेको जात पनि अचम्मको हुन्छ, म मात्र दुःखी हु भन्ने भयो भने ऊ अझ दुःखी हुन्छ । आफू जस्तै अरू पनि दुःखी छन् भन्ने भयो भने ऊ त्यति दुःखी हँुदैन जति अघिसम्म भएको थियो । हरेक मान्छेलाई साथ चाहिन्छ । चाहे दुःखमा होस् या खुशीमा । जोसेफले पनि साथ पायो, काम गर्दा सहकर्मीबाट, जवानीमा श्रीमतीबाट । अब ऊ बृद्ध भयो सबैले साथ छोडे छोराले बुहारीले जिन्दगीभरी कमाएर बनाएको महलले र उसलाई अहिले साथ दिएको छ । रिटायर्ड हाउसले त्यहाँ भरिएका आफूजस्तै मुजा परेका अरू थुप्रै अनुहारहरूले र प्रतीक्षा गरिरहेछ नदेखेको स्वर्ग जान । मनमनै कल्पना गर्छ । त्यहाँ लाने ड्राइभर को होला ? गुडाएर लान्छ कि उडाएर ? टुक्र्याएर लान्छ कि सग्लै ? कस्तो होला त्यो जाने ठाउँ ? कस्तो होला त्यहाँ ? छोरा जन्मेको दिनमा भएको जति खुशी, छोराले पहिलो पटक पाइला सारेको क्षणमा भएको खुशी, पहिलो पटक बुहारी भित्र्याउँदाको खुशी, नातिले यो धर्तीमा पहिलो पटक पाइला राख्दाको खुशी, नातिलाई मायाँले मुसार्दाको आनन्द त्यहाँ होला कि नहोला या त्योभन्दा बढी होला ?
        परबाट केवल जेटमा डेनिलले हजुरबुबालाई आउँदै गरेको देख्छ । खुशीले उफ्रिन्छ । आमा सोफियाको अनुहार जवानीले पुष्ट भए पनि कृत्रिम चाउरी पर्छन् । बाबु ग्रेसनका निधारमा तीनवटा मुजा छर्लङ्ग देखिन्छन् । मानौँ ठूलो समस्यामा परेको छ । जोसेफ घर अगाडि पुगेपछि बिना ड्राइभरको केवल जेटको स्टप बटम त्यसमा भएको स्क्रिन टच सिसामा थिच्दछन् । हाइड्रोलिक समथल भर्याङ घरको कौशीमा गएर मिल्छ त्यसै भर्याङ मार्फत उनी घरमा प्रवेश गर्छन् । भर्याङ पुनः जेटतर्फ फर्किएर जान्छ र उसैमा गएर समाहित हुन्छ । 
    प्रविधिले हरेक कुरा सरल भएको छ । देश धनी छ । नागरिक धनी छन् । हरेकका घरमा २, ४ वटा इम्पोर्टेड गाडी छन् । हेलिप्याड नभएको घर छैन । प्रत्येक घरमा केवल जेट पुगेका छन् । मान्छेले जमिनमा हिँड्न बिर्सिसके घरमाथिबाटै सवारीको सुविधा छ । अनि जहाँ जानु छ, त्यहीँ पुनः सवारी भएपछि त्यो आवश्यक पनि रहेन । जोसेफ उनका हजुरबुबाले सुनाएको कथा सम्झिन्छन् । देश गरिब थियो । जनता त्यसै गरिब हुने भइगए दैनिक जीवन चलाउन घरपरिवार, समाज आफन्त सबै छोडेर विदेशी भूमिमा वर्षौंसम्म परिश्रम गर्नुपथ्र्याे आफूआफूमा काटामार गर्थे । अनेक व्यवस्था बदलिए । केही व्यक्ति छोडेर आम नागरिकको दैनिकी झन् भनो झन् बिग्रँदै गयो । हरेक कुरामा अरूदेशसँगै निर्भर हुनपथ्र्यो । यो क्रम केही दशक चल्यो । त्यसपछि देशमा एक यस्तो लिडर जन्मियो जसले आजको नेपाल बनायो र उसैको मार्ग दर्शनमा सबै हिँड्दै गए । देश समृद्धि भयो, तिमीहरूले सुख पायौ । हजुर बुबाको कुरा सुन्दा त्यतिखेर जोसेफलाई यो सत्य नभएर कथा भनेको जस्तो लाग्थ्यो किनकि उसले कैल्यै गरिबी भोगेन, न देशमा अरू गरिब देख्यो । उसको छोराले झन देख्ने कुरा भएन । अझ नाति डेनिललाई त यी सबै काल्पनिक कथा लाग्छन । उसलाई त हजुरबुबाले भोगेको आधुनिक जीवन शैली पनि काल्पनिक नै लाग्छ । 
   पुस्तक बोकेर बसमा स्कुल गएको, ४० इन्च सिसाको एलईडीमा टेलिभिजन हेरेको, पढ्दा डटपेनले कापीमा लेखेको, अतिरिक्त ज्ञानका लागि लाइब्रेरीमा पुस्तक पढ्न गएको यी सबै उसलाई काल्पनिक कथा लाग्छन् । किनकि यी सबैकुरा उसले सङ्ग्राहालयमा मात्र देखेको छ । उसको घरमा सिसाको टेलिभिजन छैन, उसले कैलै स्कुल बसमा जानपरेन । लाइब्रेरी धाउन परेन । पेनले लेख्न परेन । यी सबै सुविधा ऊ खल्तीमै बोकेर हिँड्छ । एउटा पेनमा जो बिनामसको छ तर संसार सबै त्यसैमा अटेको छ । त्यसै पेनबाट ऊ पुस्तक पढ्छ, लेख्छ, टेलिभिजन हेर्छ, गेम खेल्छ, कम्प्युटर चलाउँछ, घरका ढोकाहरू खोल्छ, स्कुलमा इन्ट्री गर्छ । केबल जेटको भर्याङ कौशीमा बोलाउँछ सबै सबै त्यसै पेनबाट गर्छ । बस एउटा बटम दबाई दिए पुग्छ । 
मान्छेले आफ्नो दैनिक जीवन सरल बनाउनका लागि सबै कुरा बनायो कमभन्दा कम समयमा धेरै काम गर्न सक्ने प्रविधि बनायो तर अझै पनि मान्छेलाई समय पुगेको छैन । रातदिन भागदौड छ । समय कति महत्वपूर्ण छ भन्ने कुरा मान्छेले जति अरू कसले बुझेको छ र ? तर पनि मान्छेले समय बनाउन सकेन २४ घण्टालाई २५ घण्टा बनाउन सकेन । समयको गतिलाई कम गर्न सकेन समय आफ्नै तरिकाले हिँडिरह्यो । उसले चाल बदलेन मान्छेले बदल्न पनि सकेन । बस मान्छेलाई पछिपछि दौडाइरह्यो । ऊ कहिल्यै थाकेन । तर पुस्तौँ पुस्ता कैयौँ पुस्तालाई थकायो र छोड्दै गयो तर अहँ उ कहिल्यै फर्किएन । को छुटेसँग समयलाई पटक्कै वास्ता छैन । बस उसले कसैलाई अघि बढ्न दिएन । सबैलाई पछि लायो र पछि नै छोड्दै हिँड्यो हिँडिरहेछ । 
मान्छेलाई कसरी धनी हुने भूत चढेको छ ।  त्यसैका लागि रातदिन दौडधूप गर्छ । नाता सम्बन्ध, भावना, दया लगभग मान्छेमा रित्तिसकेको छ । मान्छे कालिगडले बनाएको कृत्रिम मूर्ति भएको छ । हेर्दा अति सुन्दर देखिन्छ तर त्यसभित्र जान छैन । हो मान्छे अहिले त्यस्तै भएको छ हाड, छाला, रगत, मासु, मुटु, कलेजो, फोक्सो सबै भएको बोल्ने सास फेर्ने हिँड्ने कुद्ने तर मन नभएको भावना नभएको दया नभएको फगत मूर्ति बनेको छ मान्छे । 
       देश समृद्धि भयो मान्छे धनी भए सुख सुविधा सम्पन्न भए तर पनि मान्छे खुशी हुन सकेको छैन, खुशीविनाको समृद्धि केका लागि जिन्दगीभरि यति भागदौड केका लागि कस्का लागि हिजो हजुरबुवा दौडिए । आज बुबा दौडिदैछन् । भोलि छोरा दौडिन्छ पर्सी त्यसैगरी नाति दौडिने छ । जति दौडिए पनि थाकेपछि आखिर पुग्ने ठाउँ त त्यही रिटायर्ड हाउस नै त हो । 
आज सन्तानलाई समय दिन सके माया ममता भावना भर्न सके आफू थाक्दा ती जम्मा गरेका भावना, माया र ममताले रिटायर्ड हाउसको ढोकाहरू बन्द गरिदिने थिए । तर आधुनिक जीवन शैलीले धन कमाउन सिकायो । धन नै सबथोक हो, यसले हरेक चीज किन्न सकिन्छ भन्ने सिकायो । जीवनको केही समय बचेको हुन्छ र यी सब चीजबाट थाकेर थकित हुन्छ तब बल्ल थाहा पाउँछ मैले जिन्दगीभरी गरेको भागदौड त रिटायर्ड हाउससम्म पुग्ने गोरेटो खन्नलाई पो खर्चिएको रहेछु । 
   डेनिलको बर्थडे सकियो । जोसेफको एक हप्ताको समय पनि सकियो । जोसेफ रिटायर्ड हाउसतर्फ फर्कियो हिँड्ने बेला उसले छोराको अनुहार हेर्यो । बुहारीको अनुहार हेर्यो, नातिको अनुहार हेर्यो । तिनै जनाको अनुहार एक हप्ताअघि आफू आउँदाभन्दा फरक पायो । छोराका निधारका तीन धर्सा मुजा मेटिएका थिए । बुहारीका कृत्रिम चाहुरीपना तन्किएर पुष्ट भएका थिए । नातिका आँखा भरिला थिए मनमनै भन्यो नाति तिम्रो यो भावना सधैँ यस्तै रहिरहोस्, तिम्रा बाबु यसै घरमा अटाउन । बाटाभरी जोसेफ सोच्दै गयो हजुरबुबाको पालादेखि नातिका पालासम्म आइपुग्दा धेरै चीज बदलियो वृद्धाश्रम रिटायर्ड हाउस भयो । राम, श्याम, हरि, सीता जोसेफ, ग्रेसन, डेनिल सोफिया भए तर अहँ समय बदलिएन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप