शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

‘अन्तर्राष्ट्रिय पर्यटक स्वागत गर्न तयार रहनुस्’

बिहीबार, २४ असार २०७८, १३ : ४६
बिहीबार, २४ असार २०७८

विभिन्न देशका नेपाली राजदूतहरुले विश्वमा कोभिड–१९ विरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अब नेपालले समेत अन्तर्राष्ट्रिय पर्यटक स्वागतका लागि तयार बस्नुपर्ने बताएका छन् । कोभिडका कारण लामो समयदेखि विश्वव्यापी रुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिड विरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि क्यास गर्नुपर्ने राजदूतहरुले धारणा राखेका छन् । 

नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापी रुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतहरुसँग हालै गरेको भच्र्युअल अन्तरक्रिया कार्यक्रममा उनीहरूले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए ।

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवद्र्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एशिया र युरोपका विभिन्न देशका राजदूतहरुसँग अन्तरक्रिया गरेको थियो ।  कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले छिमेकी मुलुक भारत र चीन बाहेकका मुलुकहरुका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । 

पूर्व अर्थमन्त्री समेत रहेका डा.खतिवडाले संघीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिए ।  ‘अहिले पर्यटकीय गतिविधि शून्यप्रायः रहेकोले बजेट अभाव हुनु स्वाभाविक हो । तर प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ । त्यसलाई प्रयोग गर्न सके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ’ राजदूत खतिवडाले भने । 

यस्तै नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहको भन्दै उनले सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहको जानकारीसमेत दिए । यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटकहरु भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए । 

उनले पर्यटक आगमनमात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालाहरुसँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए ।  यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन (सेकेन्ड सेक्रेटरी) भरत खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए । उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रवर्द्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए ।

यस्तै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुलर जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको संख्या विगतका वर्षहरुमा बढदै गइरहेको सन्दर्भमा नेपालको बारेमा सहि सूचना प्रवाह गर्न  सके यसलाई निरन्तरता दिन सकिने बताए । उनले विगतमा पर्यटन बोर्डले गराउने फ्यामट्रिपले नेपालको प्रचारमा सहयोग गरेकोले त्यहाँका विशिष्ट व्यक्तिहरुलाई नेपाल लैजाने गरी फ्यामट्रिपको व्यवस्था गर्न बोर्डलाई आग्रह गरे । 

पर्यटन बोर्डका कार्यकारी प्रमुख डा.धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधार देखि अन्तर निकाय समन्वय र बजेटको सिमिततालाई ध्यान दिँदै बोर्डले काम गरिरहेको जानकारी दिए । उनले नेपाललाई सबै उमेर समुह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप