शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

माधव नेपालले एक्लै भए पनि देउवालाई मतदान गर्छु भन्नुभयो : ज्ञवाली

'उहाँ बेग्लै कोर्समा हिँड्न चाहनुभएको प्रस्टै देखियो'
आइतबार, ०३ साउन २०७८, १४ : ३८
आइतबार, ०३ साउन २०७८


नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू एक्लै परे पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले स्पष्ट पारेका छन् । विघटन भइसकेको एमाले कार्यदलका सदस्यहरूसँग आइतबार भएको भेटमा वरिष्ठ नेता नेपालले यस्तो प्रतिक्रिया दिएको ज्ञवालीले जानकारी दिए ।  

आइतबार माधव नेपालसँग कुराकानी गरेर फर्केका ज्ञवालीले सञ्चारकर्मीहरूसँग भने, ‘आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने बताउनुभयो ।.... यसको तात्पर्य उहाँ पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कुरामा इच्छुक हुनुहुन्न भन्ने देखियो ।’

​भेटमा माधवकुमार नेपालसँग भएको कुराकानीबारे नेता ज्ञवालीले गरेको बयान उनकै शब्दमा :

नेकपा एमाले स्थायी कमिटीको बैठकमा हामीले विशेष गरी आज भर्खरै मात्र थाहा शेरबहादुर देउवाले आजै विश्वासको मत लिने कार्यसूची राखेको थाहा पायौँ र यसैमा केन्द्रित भएर छलफल ग¥यौं । सदनको पहिलो बैठकमै विश्वासको मत लिने गरेर जसरी घोषणा भयो, यसले विभिन्न प्रश्नहरू उठायो ।

हामीले अस्तिको बैठकबाटै विश्वासको मतको विपक्षमा मतदान गर्छौँ भनेर निर्णय गरिसकेका छौँ । यही कुरा हामीले पार्टीका सबै सांसदहरू र सम्भव भएसम्म अन्य दलसँग पनि आग्रह गरेका छौँ । यही क्रममा हामीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटघाट गरेका छौँ ।

​दश बुँदे सहमतिलाई कार्यान्वयन गरेर पार्टी एकता गर्ने प्रयास निरन्तर छ । तर, माधवकुमार नेपालले आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने बताउनुभयो ।

उहाँका तर्फबाट विगतमा कार्यदलमा रहेका साथीहरूले संस्थागत निर्णय गर्नुपर्ने र यसरी व्यक्तिगत निर्णय गर्नु उचित हुँदैन भनेर प्रश्न राख्दा, उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नमिल्ने जवाफ फर्काउनुभयो । यसको तात्पर्य उहाँ पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कुरामा इच्छुक हुनुहुन्न भन्ने देखियो ।

जनादेशबाट नभएर फरक विधि र प्रक्रियाबाट आएको हुनाले सरकारप्रति हाम्रो समर्थन हुँदैन । धेरै कुरा मतदानपछि छलफल हुन्छ । माधव नेपाल पार्टीमा नफर्कने निश्चित भएको हो ? यो उहाँहरूले नै भन्नु राम्रो होला । तर, आजको बैठकपछि बेग्लै कोर्समा हिँड्न चाहनुभएको प्रस्टै देखियो ।

तर, उहाँकै टिममा रहेका साथीहरूले त्यसरी जानु उचित हुँदैन भनेर फर्काउन खोजिरहनुभएको छ । उहाँहरूले हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने र गठबन्धनका विषयमा अडान लिएकै हौँ । तर, १० बुँदे भइसकेपछि अब संस्थागत निर्णय बेगर जान मिल्दैन, त्यस कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आन्दोलनलाई उनको सेवामा अर्पित गर्नका लागि हिजो हाम्रो सहमति भएको होइन, यो कुरामा जान सकिँदैन भन्नुभएको छ । उहाँहरूले प्रयास गरिरहनुभएको छ । उहाँहरूको प्रयासले काम ग¥यो भने बेग्लै कुरा, नत्र माधव नेपाल एउटा निष्कर्षमा पुगिसक्नुभयो ।

नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर, आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाएर बनेको प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हालिसकेपछि ती साथीहरू पार्टीमा रहनुहुन्न, यो प्रस्टै भयो । पार्टीले आफ्नो निर्णय गर्छ । पार्टीको निर्णयको पालना गर्नु नेता–कार्यकर्ताको कर्तव्य हो । त्यसको अवज्ञा भयो भने पार्टीले कारबाही गर्छ ।

हामी आज बैठकमा कार्यदलका ९ जना थियौँ । सबैको एकमत संस्थागत निर्णय गरौँ, एक्लै देउवालाई समर्थन गर्न सक्दैनौँ भन्नुभयो । कार्यदलमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ र संवेदनशील विषयहरू स्वीकार्य हुन सक्दैन भन्ने भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप