बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

तपेश्वर मण्डल मृत्यु प्रकरण : आरोपित जनप्रतिनिधिहरु फरार, नगरपालिकाको काम कारवाही नै प्रभावित

बिहीबार, २८ साउन २०७८, १७ : १८
बिहीबार, २८ साउन २०७८

धनुषाको एक स्थानीय तहका जनप्रतिनिधिहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख र वडाअध्यक्ष विरुद्ध धनुषा अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

धनुषा जिल्ला अदालतले रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र वडा अध्यक्षहरू उदय सिंह र किशोरी यादवको नाममा पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ ।

ती जनप्रतिनिधिलाई पक्राउ पुर्जी जारी गर्नुपूर्व हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउतलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको थियो । उनीविरुद्ध समेत धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले करिब २ साता पूर्व नियन्त्रणमा लिएको थियो ।

हंसपुर नगरपालिका कार्यपालिकाको कार्यालय सार्ने विषयमा नगर प्रमुख रामज्ञान मण्डल र नगर उपप्रमुख रेणु झा पक्षबीच भएको विवादले उग्ररूप लिँदा झडप भएको थियो । सो क्रममा प्रहरी र अन्य पक्षको कुटाइबाट स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको थियो ।

हंसपुर नगरपालिकाको कार्यालय नसार्ने पक्षमा नगर उपप्रमुख रेणु झा थिइन् । उनकै समर्थक रहेका तपेश्वर मण्डलको मृत्यु भएपछि तपेश्वरका छोरा राजकुमार मण्डलले नगरप्रमुख रामज्ञान मण्डल, उदय सिंह, श्याम राउत सहितका माथि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिएका थिए ।

सोही उजुरीको आधारमा धनुषा प्रहरीले करिब दुई वर्षपछि हंसपुर नगरपालिकाको कार्यपालिका सदस्य श्याम राउतलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

यता नगर प्रमुख रामज्ञान मण्डल पक्षले समेत नगर उपप्रमुख रेणु झा लगायतका विरुद्ध धनुषा प्रहरीमा उजुरी दिएका थिए । दुवै पक्षले एक अर्काविरुद्ध उजुरी दिएको लामो समयपछि धनुषा प्रहरीले कानूनी प्रक्रिया अघि बढाएको हो ।

तपेश्वर मण्डलको मृत्यु प्रकरणका मुख्य आरोपी नगरप्रमुख रामज्ञान मण्डल, नगर उपप्रमुख रेणु झा र हंसपुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष उदय सिंह र नगर कार्यपालिका सदस्य राउतमाथि पीडित पक्षले दिएको जाहेरीअनुसार धनुषा प्रहरीले कारवाही थालेको छ ।

२०७६ साउन २१ मा हंसपुर नगरपालिकाको कार्यालय सार्ने र नसार्ने भन्ने विषयमा झडप हुँदा घाइते भएका तपेश्वर मण्डलको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा गत भदौ १८ मा मृत्यु भएको थियो ।

यस घटनामा अनुसन्धान जारी रहेको र फरार व्यक्तिहरूको खोजी भइरहेको धनुषाका प्रहरी उपरीक्षक रानाभाटले बताए ।

हंसपुर नगरपालिका अस्तव्यस्त

हंसपुर नगरपालिकाका नगर प्रमुख मण्डल र नगर उपप्रमुख झा सहितकालाई पक्राउ गर्न पुर्जी जारी भएपछि उनीहरु करिब एक महिनादेखि नगरपालिकामा उपस्थित हुन छाडेका छन् । जसले गर्दा सेवाग्रहीको सम्पूर्ण कार्यहरु पूर्णरुपमा प्रभावित भएको छ ।

जनप्रतिनिधिहरु नै उपस्थित हुन छाडेपछि कर्मचारीहरु समेत नगरपालिकामा आउन छाडेका छन् । नगरपालिकामा कोही नआउँदा सेवाग्राहीहरुको सम्पूर्ण कार्यहरु ठप्प भएको स्थानीयवासी सुनिल यादवले गुनासो गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप