शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

नेता प्रजाति र बाघ प्रजाति : बानी व्यहोराको गाईजात्रे विश्लेषण

सोमबार, ०७ भदौ २०७८, ०८ : ५७
सोमबार, ०७ भदौ २०७८


पृष्ठभूमि : गत जुलाई २९ मा हामी सबैले विश्व बाघ दिवस मनायौँ । नेपालमा बाघको सङ्ख्या २३५ पुगिसकेको पनि जानकारी पायौँ । तर, हामीहरूले कहिल्यै पनि नेता प्रजातिको दिवस मनाउन सकेका छैनौँ । जबकि विगतका ३० वर्ष (२०४८ सालपछि) देखि यी नेता प्रजातिहरूको सङ्ख्या बाघभन्दा पनि ह्वात्तै बढेको छ । केन्द्रमा मात्रै नभएर, प्रदेश, जिल्ला, पालिका गाउँ, टोल गर्दै घरघरमा जतासुकै थरिथरिका नेता प्रजातिहरू भेटिन्छन् । यिनीहरूको व्यवहार, सोच, चालचलन, इतिहास, गतिविधि र विशेषताहरू हेर्दा नेता प्रजातिहरूभन्दा बाघ प्रजाति नै वृद्धि भएको राम्रो हो कि ?

बाघ प्रजाति बढे पर्यटक बढ्छन्, राष्ट्रिय आम्दानी पनि बढ्छ । तर, नेता प्रजाति बढे के हुन्छ, हामी सबैले देखे भोगिरहेका नै छौँ । अहिले विभिन्न गुटउपगुटका र विभिन्न तहका भण्डै ६० हजारभन्दा नेता प्रजातिहरू २०७४ को चुनावपछि जन्मिएका छन् । नेपाललाई यी नेता प्रजातिहरूको देश भनेर चिनाइनुभन्दा त बाघ प्रजातिहरूको देश भनेर चिनाउँदा पो अझ राम्रो हुने हो कि ? आउनुहोस्, यो वर्षको गाईजात्रामा यिनै भोगिएका र जानेका नेता प्रजातिहरूको बानी व्यवहार र बाघ प्रजातिको सक्कली बानी व्यवहारको तुलनात्मक रूपमा गाईजात्रै विश्लेशषण गरौँ ।

याद रहोस् कि बाघ प्रजातिको बानी व्यवहार वैज्ञानिक अध्ययन, अनुसन्धानमा आधारित भएकाले सत्य प्रमाणिक छ भने नेता प्रजातिहरूको बानी व्यवहार यिनीहरूको विगतको समाचार, आम मानिसले सुनेका, देखेका, भोगेका तथ्यहरूमा र समाजिक सञ्जालका सूचनाहरूमा आधारित छ । तसर्थ यी सबै तथ्यहरूलाई एकीकृत गरी गाईजात्रे विश्लेषणका रूपमा निचोड पस्किएको छु । पत्याउने न पत्याउने जिम्मा हजुरहरूकै । किनभने यसको असर गाईजात्रासम्म मात्रै रहने भएकाले त्यसपछि के हुने भन्ने कुरा आफंैमा अन्योल छ ।

–बाघप्रजाति एक बिरालो प्रजातिको जङ्गली जीव हो भने नेता प्रजातिहरू बाँदर प्रजातिको मनुष्यरूपी सभ्य समाजमा हुर्केको असभ्य र लोभी घातक प्रजाति हो । यसको धेरैजसो स्वभाव पनि बाँदरसँग ठ्याक्कै मिल्छ । यो प्रजातिले न आफू बन्छ न अरूलाई पनि बन्न दिन्छ, आफ्नै वर्गको हित, समुदायको सङ्गत पनि रुचाउँदैन, अनि बन्न पनि दिँदैन ।

– बाघ प्रजातिले आफ्नो एक निश्चित आधारक्षेत्र (टेरिटोरी) बनाएर मात्र विचरण गर्छ भने नेता प्रजातिले चुनाव जित्न, पार्टी बनाउन, व्यक्तिगत फाइदाका लागि अरूको आधार क्षेत्रमाथि प्रायशः अतिक्रमण गर्ने गर्छ, र आफू अनुकुल आधारक्षेत्र बनाउँछ आफ्नै लागि मात्र ।

–बाघ प्रजाति स्वभावतः एकान्तप्रेमी र निजी जीवन विताउने प्राणी हो भने नेता प्रजातिले अरूको एकान्त भङ्ग गर्ने, सुलसुले गर्ने, अरू पार्टीका निजी कुरा थाहा पाउने, अरू पार्टीको निजी जीवनमा दखल दिने प्राणी हो । जता हसुर्न पाइन्छ त्यतै लाग्ने भएकाले यी प्रजातिको सार्वजनिक जीवन सहज देखिए पनि निजी जीवन यिनीहरूको लोभी, पापी, हिंस्रक प्रवित्तिको रहेको छ ।

–विकिपेडियाका अनुसार बाघ प्रजातिको लम्बाइ २७० देखि ३१० सेमि भएको पाइएको छ भने नेता प्रजातिहरूको लम्बाइ परिस्थिति अवस्थाअनुसार आफै बढाउने घटाउने हुनाले यति नै भन्न सकिँदैन । कुुनै फाइदाका लागि अरूको घरमा (दलमा) घुस्नु पर्यो, चुनावमा भोट माग्नु पर्यो भने आफूलाई सियो जत्रो लम्बाइ बनाउँछ र घुसी हाल्छ तर आम जनताको अगाडि समानता देखाउन उनीहरू बराबरको लम्बाइ बनाउँछ र शक्तिशाली राष्ट्रहरुका अगाडि लम्पसार पर्नु पर्यो भने हात खुट्टाले भ्याएसम्म लम्पसार परी जिउ तन्काएर लामो बनाउँछ । हिजोआज कतै कतै यस किसिमको लम्बाइ नाप्ने फित्तालाई लम्पसारवाद पनि भन्ने गरिएको छ । हिजोआज हाम्रा अधिकांश राजनीतिक दलका नेता प्रजातिहरू स्थानीय रूपमा मात्रै नभई राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा यसै लम्पसारवाद रोगबाट ग्रसित छन् । यिनीहरूको उपचार गर्ने अस्पताल बनेको छैन बरू उत्तर तथा दक्षिणका मुलुकमा बेलाबेलामा सीमापार गएर यो रोगको परीक्षण गर्ने गर्छन र अरू नयाँ नेताहरूलाई पनि नमुना बनिदिन्छन्

–सामान्यतः बाघ प्रजातिको तौल १८० केजीदेखि २५८ केजीसम्म भएको पाइएको छ भने नेता प्रजातिहरूको भने अवस्था हेरीहेरी फरक छ । जनयुद्धका बेला, राजनीतिक आन्दोलनका बेला, सत्ताबाहिर भएको बेला, चुनावभन्दा अगाडि, शक्ति केन्द्रमा आउनुभन्दा अगाडि यो नेता प्रजातिको तौल अति न्यून, कुपोषित ख्याउटे मरन्च्याँसे जस्तो हुन्छ । यतिसम्म कि एउटै साइकलमा पनि १०, १२ जनासम्म अटाउने हुन्छ तर चुनाव जितिसकेपछि यो नेता प्रजाति यतिसम्म मोटाउँछ कि यसको उपचार नेपालको अस्पतालमा हुनै सक्दैन । पाजेरो, फियारा, मर्सिडिजमा अटाउन पनि धौ धौ पर्छ । तसर्थ यसको तौल भन्ने कुरा सङ्गत, स्वार्थ, सत्ता, शक्ति, पार्टी, लेबी, विभाग, मन्त्रालय कुन भागमा परेको छ र त्यहाँको खानकी कस्तो छ, त्यसै अनुरूप परिवर्तनशील भइरहन्छ । यिनीहरूलाई सुगर, हार्ट अट्याकभन्दा अख्तियारले समात्ने चिन्ता रहन्छ । त्यसैले सधैँ शक्ति केन्द्रको वरिपरि झुम्मिरहन्छन् ।

– विश्वमा अहिलेसम्म नौ प्रकारका बाघ प्रजाति पत्ता लागेको छ । जसमध्ये तीनवटा प्रजाति लुप्तप्रायः भइसकेको छ भने एउटा प्रजाति लगभग सङ्कटोन्मुख छ । जबकी नेताजीहरूको प्रजाति दिनानुदिन बढ्दो क्रममा छ । जस्तो बलत्कारी, भ्रष्टाचारी, सुनतस्करी, भाइमारा, आतङ्ककारी, नक्कली सर्टिफिकेट धारी, मार्सीचामल व्यञ्जनकारी, देशमारा, जनतामारा, राष्ट्रको राजस्व करमारा, सुत्केरी भत्तामारा, मान्छेलाई तन्दुरी बनाउने, बालबालिका लाई भाला रोप्ने, समयअनुसार रङ्ग बदलिरहने आदि आदि, विशेषता भएको प्रजाति अर्थात अति लामो सूची छ । अरू झनझन नयाँ नयाँ नेता प्रजाति जन्मिने क्रममा नै छन् । यिनीहरूको बन्ध्याकरण गर्ने डाक्टर अहिलेसम्म विश्वमा जन्मेको छैन । राजा महेन्द्रका पालामा यो प्रजाति लोप हुने अवस्थामा थियो । तर, वीरेन्द्र राजाको उदार नीतिले गर्दा २०३६ सालपछि विस्तारै सीमापारिको मलजलबाट यो प्रजाति मौलाउँदै गयो र पछि २०४८ पछि बेस्करी झाङिएर आयो । २०७४ पछि त यो नेता प्रजाति माइकेनिया झार जस्तै देशैभरि टोलटोलमा झाङियो ।

– सन् २०१८ को तथ्याङ्कअनुसार नेपालमा बाघ प्रजातिको सङ्ख्या २३५ र विश्वभरमा यसको सङ्ख्या जम्मा ३८९० वटा मात्रै छ भने नेपालमा नेता प्रजातिको सङ्ख्या छुट्याउन गारो छ । दोहोरो नागरिकता, खुला सिमाना, पुर्खादेखिको अन्तर्देशीय क्षेत्रीय बसाइँसराइले यति नै नेता प्रजातिहरूको सङ्ख्या भनेर भन्न सक्ने अवस्था छैन । धेरै नेता प्रजातिहरू सीमा नाका वारिपारि गरिरहने हुनाले दोहोरो गणनामा पर्ने सम्भाबना पनि उत्तिकै छ । कतिपय नेता प्रजातिको वसोवास आधारक्षेत्र सीमापारि रहेको तर सिकार र अवसरको तलाशमा नेपालमा छिरेको पनि पाइन्छ । अहिले त केन्द्र सहर बस्तीदेखि स्थानीय तहसम्म थरिथरिका नेता प्रजातिहरू उपलब्ध भएकाले यति नै भन्न सकिने अवस्था पनि छैन । अब नेता प्रजातिहरूको लोपहुने अवस्था सम्भव नै छैन । कोरोना कालमा त यो प्रजाति झनझन मौलाएको भेटिन्छ ।

– बाघको प्रजाति घट्नुका मुख्य तीन कारणहरू छन् । पहिलो बासस्थान नासहुनु, दोस्रो भएका बासस्थानहरू पनि खण्डीकरण भई बस्न योग्य नहुनु र तेस्रो यो प्रजातिको चोरीसिकार र अवैध व्यपार गरिनु हो भने यसका विपरीत नेता प्रजातिको सङ्ख्या ह्वात्तै बढनुका कारणहरूमा अरूको बासस्थान सम्पत्ति, पोजिसन, भूमिका हत्याउने प्रवृत्ति, आफ्नो मान्छेलाई दिने प्रवृत्ति बढनु, दोस्रो न्यूनज्याला, आम्दानीमा पनि अर्बौं रुपियाँको बासस्थान कसरी बनाएको छ, महँगा गाडी कसरी किनेको छ महँगा स्कुलमा छोराछोरी कसरी पढाएको छ र महँगो विलाशीपूर्ण जीवनशैली, उपचार कसरी बिताइरहेको छ । त्यसको खोजीनीति नगरिनु हो । तेस्रो कारण भनेको नेता प्रजातिहरू सुन, चरेस, गाँजा, ब्राउन सुगर, चेलिबेटी बेचबिखन, ओसार पसार, अवैध व्यपार, ओसार पसारमा संलग्न हुनु र यसको अदृश्य राजनीतिक न्यायिक संरक्षण हुनु हो । सानो सानो स्वार्थका लागि नयाँ नयाँ गुट उपगुट बनाउनु, मध्यावधि चुनाव गरिनु, विभिन्न तहका पार्टी र पदहरूको सिर्जना गरिनु र यिनीहरूको आवास (पार्टी दल) बेलाबेलामा खण्डीकरण हँुदै जानु आदि रहेका छन् ।

– अन्तर्राष्ट्रिय बजारमा एउटा बाघ प्रजातिका छालाको मूल्य करिब ४२५० यू.एस. डलर बराबर छ भने नेता प्रजातिका मूल्य त थाहा भएन, तर यिनीहरूले संरक्षण गरी मौलाएका मिर्गौला तस्करहरूले एउटा मिर्गौलाको १५ लाख रुपियाँसम्ममा बेचेको र यिनीहरू संरक्षित चेलिबेटी बेचबिखन गर्ने मानव तस्करहरूले भारतीय कोठीहरूमा २ लाख सम्ममा चेलिबेटी बेचेको घटना समाचार विगतमा सुनिएको थियो । तर, यो प्रजातिले विभिन्न कारणले मरेका मानिसलाई पनि आफ्नो प्रजाति (सहिद) घोषणा गरी रु १० लाख मूल्य कायम गरिको उदाहरण छ । यसरी समग्रमा नेताजीहरूको सम्पूर्ण शरीर, छालाभन्दा पनि यिनीहरूका अङ्गहरू जस्तै मिर्गाैला, मुटु, रगत, आँखा आदिको मूल्य झन बढी छ । तसर्थ पूरै शरीरको १० लाखभन्दा अङ्गको मूल्य बढी हुन आउँछ । तर अहिलेसम्म यिनीहरूले अरूको अङ्ग लिएका छन्, उक्साएर सहिद बनाएका छन् तर आफू र आफ्ना डमरुहरूलाई सहिद बनाउन पठाएका छैनन् । बन्न दिएका छैनन तसर्थ यत्ति नै मूल्यमा किनेको बेचेको भन्ने ठोस आधार फेला परेको छैन ।

– आईयूसीएनमा बाघ प्रजातिलाई सङ्कटाउन्मुख प्राणीका रूपमा उल्लेख गरिएको छ र भनिएको छ कि यदि यसको समयमै संरक्षण गरिएन भने यो प्रजाति लोप हुन सक्छ । तर नेता प्रजातिहरूको सम्बन्धमा भने हाम्रो देशको अर्थव्यवस्था, ऋणभार कोषले कोषले पनि प्रतिव्यक्ति ५८ हजार ऋण पुर्याउन यी नेता प्रजाति सफल भएको भन्ने भनाइ यिनीहरूकै प्रजातिको अर्को उपप्रजातिका नेताले सभामा भनेको समाचार छ । यदि नेता प्रजातिहरूको सङ्ख्या, यिनीहरूको पार्टी दलको विभाजन वृद्धिक्रम रोकिएन भने भविष्यमा यो नेता प्रजाति आफैमा आफूलाई सङ्कट उत्पन्न गर्ने प्रजाति हुने पक्का छ, जसले द्वन्द्व, गरिबी, अपराध निम्त्याउने छ, साथै आफू र आफ्नो दलको अस्तित्वलाई सङ्कटमा पार्दै रसातलमा पुर्याउने छ ।

–बाघ प्रजातिले पानि, ताल तलैया, घोल, जलाशय, नदीकिनार आदिमा बस्न पौडीखेल्न जलविहार गर्न बढी मनपराउँछ भने नेता प्रजातिहरूले सुविधायुक्त सहर, भिल्ला, रिसोर्ट, फाइभस्टार होटलको सुइट, सरकारी क्बाटर, सरकारी कलेजका होस्टेल सामुदायिक पाटिपौवा, सार्वजनिक भवन अतिक्रमण गरेर बस्न रुचाउछ, । केही प्रजातिले त दोहोरो नागरिकता लिई सीमा वारपार गरी बस्न रुचाउँछ, विदेशमा बसी राष्ट्रवादको आसु चुहाउन रुचाउँछ । शक्तिकेन्द्रको नजिक बढी बस्न रुचाउँछ । स्मरण रहोस विगतमा, त्रि.वि.वि कििर्तपुरका क्र्वाटर र होस्टेलमा यो प्रजातिका केही नेता तीनपुस्तासम्म बसेको पाइएको थियो जसलाई सभ्य भाषामा युवा लोकतान्त्रिक शक्ति, अखिले, तरुणदल, फोरम, विद्यार्र्थी मन्च, वाईसीएल, क्रान्तिकारी, युथफोर्स आदि भनेर पनि चिनिन्छ । कहिलेकाहीँ यिनीहरू अरूको कन्सेक्सन सहुलियत लिएर ज्येष्ठ नागरिकको सिटमा, महिला अपाङ्गहरूको सिट अतिक्रमण गरी यात्रा गरिरहेको अवस्थामा पनि पाइन्छन् ।

–एउटा वयस्क पोथी बाघलाई आफ्ना सन्तान जन्माउन, हुर्काउन, विचरण गर्न कम्तीमा पनि २० वर्ग किमि बराबरको वासस्थान क्षेत्र चाहिन्छ भने नेता प्रजातिलाई सरकारी खर्चमा बैङ्कक, सिङ्गापुर, दिल्ली मुम्बईका महँगा नर्सिङ होमको सुइट भए पुग्छ । खालि आफ्नो पैसा खर्च हुनु भएन । कुरो त्यत्ति मात्रै फरक हो । यो प्रजातिको पुरुषले सुत्केरी भत्ता खाएको उदाहरण छ । आफ्ना प्रजाति सत्तामा भएको बेला, चन्दा, सहायता उपचारका नाममा अकुत सम्पत्ति कुम्ल्याएको पनि समाचार सुनन पाइन्छ ।

–बाघ प्रजातिले आफूभन्दा छ गुना बढी तौल भएको जनावरलाई मार्न सक्छ । तर नेता प्रजातले आफूभन्दा सानो सानो तौल भएका बालबालिकालाई गोली हान्ने, एकल महिला, विधवाहरूलाई बोक्सीको आरोपमा लैङ्गिक हिंसा गर्ने, मान्छेलाई तन्दुरी जलाएजस्तै जलाउने, बालक बालिकालाई जिउँदै पुर्ने, आन्दोलनका नाममा भाला रोपेर मार्ने, ज्येष्ठ वृद्ध नागरिक, असहाय अपाङ्गगहरूको समाजिक सुरक्षा भत्ता हसुर्र्ने, ज्येष्ठ नागरिक, अशक्त अपाङ्गको आरक्षण सिटमा अतिक्रमण गरी भ्रमण गर्ने, ओगट्ने गरेका घटनाहरू बेलाबखत सुन्न पाइन्छ ।

–बाघ प्रजातिले आफूभन्दा ३३ फिट उचाइसम्म छलाङ हान्न सक्छ भने नेता प्रजातिले आन्दोलका बेला साढे तीन फिटको फलामे बार भत्काएको विगतको घट्ना साक्षी छ । यसरी नै हाँडीगाउँमा, आफ्नो प्रेमिकालाई भेट्न एकजना भूतपूर्व नेताप्रवृत्तिले ६ फिटसम्मको पर्खाल नाघेकोे व्यापक चर्चा चलेको थियो । त्यसैले अहिलेसम्म यो ६ फिट अग्लो पर्खाल नाघ्नु नै नेता प्रजातिको अन्तिम रिकर्ड (बेसलाइन) हो ।

–बाघ प्रजातिका किशोरावस्थाका डमरुहरूले प्रायशः माउको छेउछाउमा आधार क्षेत्र बनाउने र सिकार खेल्ने सीप सिक्छन् तर नेता प्रजातिले आफ्नो युवा प्रजातिका नेताहरूलाई कोठे राजनीतिक प्रशिक्षणबाट बार भत्काउने, भित्ताहरू रङ्गाउने, सिरानीमुनी खुकुरी राख्न उक्साउने, भित्तामा टास्ने, वचन दिने सेवा सुरक्षामा, ड्युटीमा खटेका सुरक्षाकर्मी पुलिसमाथि ढुङ्गा हान्ने, कार्यालयमा सेवारत कर्मचारीलाई, प्रमुखलाई, उनीहरूकै कार्यकक्षमा थुन्ने, सार्वजनिक सम्पत्ति लुट्ने, तोडफोड गर्ने, सार्वजनिक सवारी जलाउने, बन्द हड्ताल गर्ने, बम विस्फोट गराउने निहत्था नागरिकहरूलाई क्षति पुर्याउने प्रेसर कुकर बम बनाउने, पाइप बम बनाउने, सुतली बम बनाउने, पेट्रोल बम बनाउने सीप सिकाउने गर्दछन् । जति जति चुनाव नजिक हुन्छ यो प्रजातिका युवाहरू अति व्यस्त र हतारमा सीप सिक्ने र प्रयोग गरिरहेका हुन्छन् ।

–बाघ प्रजातिहरू आधार इलाका बनाउने क्रममा एकआपसमा जुधेर मर्ने, घाइते हुने गर्छन् भने नेता प्रजातिहरू आफ्ना वरिष्ठ नेता प्रजातिको आदेशमा एकअर्काको आधारइलाका (चुनावक्षेत्र) मा घुसेर कार्यकर्ता जुधाउने, बासस्थान (दल, कार्यलय, विधान) नष्ट गर्ने, एकआपसमा युवा नेतालाई लडाउने, सोझा जनतालाई झुक्याउने, लोभ्याउने, राजनीतिक स्वार्थमा बालबालिका प्रयोग गर्ने, स्कुल ड्रेसमा बालबालिकालाई राजनीतिक र्यालीमा प्रयोग गर्ने, राष्ट्रिय पोसाक लगाएर बजेट भाषणको सुट्केस खोस्ने जस्ता क्रियाकलाप गराउने गर्दा कहिलेकाहीँ आपसमा जुधेर, लडेर घाइते हुने र मर्ने पनि गर्छन् । यिनीहरू प्रायः आफ्ना वरिष्ठ नेता प्रजातिका लागि आलोपालो गरी मर्छन् र मारिन्छन् ।

–बाघ प्रजातिले आफ्नो आधार इलाकाको उपस्थितिको जानकारी ठुला रुखको फेदमा पिसाब छर्केर र गुदद्वारको चिप्लो घस्रेर, नङ्ग्राले कोतरेर दिने गर्छन् भने नेता प्रजातिले आफ्नो उपस्थिति खोक्रो आश्वासन बाँडेर, चुनावको बेला भोट माग्न अनुहार देखाएर, राति राति घरघरमा भिजिलान्ते पठाएर पैसा बाँडेर, माइक फुकेर साउन्ड पोलुसन र पर्चा पोलुसन गरेर, रेस्टुरेन्ट, भट्टी पसलमा दारूपानीको सिसाखोलेर दिने गर्छन् ।

–समान्य अवस्थामा बाघ प्रजातिले मान्छे मार्ने गर्दैन, तर यदि दाँत जवडाहरू भाँचिएको अवस्था छ, घाइते भएको अवस्था छ, नजिकै डमरुहरू हुर्काइरहेको अवस्था छ र बघिनीसँग सहवास गरिरहेको अवस्था छ भने सुरक्षा र सजिलो आहारका लागि मार्ने गर्छ तर नेता प्रजातिले भने मान्छेलाई नै प्रतिशोधका लागि, यौनचाहना पूर्तिका लागि, बन्धक फिरौतीका लागि, तस्करी, अपराध लुकाउनका लागि, प्रेमि प्रेमिका खोस्नका लागि, सम्पत्ति हडप्नका लागि, राजनीतिक प्रतिशोध लिनका लागि मार्ने गर्छ । एउटा खास कुरा फरक के छ भने, बाघ प्रजातिले जब आफू कमजोर घाइते वा डमरुको सुरक्षाका आवश्यक देख्छ अनि मान्छे मार्छ भने नेता प्रजातिले आफू जब बलियो, स्वार्थी, यौनपिपासु, राज्यशक्तिको नशामा अन्धो वा अपराधमा लिप्त हुन्छ अनि मार्छ । अनि आफू र आफ्नो दललाई समर्थन न गर्ने अरू नेता, सर्वसाधारणलाइ सिध्याउँछ । जति जति चुनाव हुन्छ, यो नेता प्रजाति त्यति त्यति हिंस्रक र अत्याचारी हुन्छ ।

–बाघ प्रजातिले प्रायसः गोधुली साँझको बेला, सिकारको नजिकै पुगेर छोटो दूरी तर शीघ्रदौडेर आक्रमण गर्ने गर्छ तर नेता प्रजातिले भने राति, एक्लो असहाय भएको बेला, स्कुलबाट, खेतबाट, बजार, मेलापात, स्वास्थ चौकी, वन आदिबाट फर्किरहेको बेला पछाडिबाट चाल नपाउने गरी घात लगाएर, झुक्याएर, फकाएर, धम्काएर घेराउ गरेर, लुकेर मार्ने गर्छ ।

–बाघ प्रजातिले सिकार नखाईकन दुई हप्तासम्म भोकै बस्न सक्छ तर नेता प्रजातिले भने दुईवटा अवस्थामा हप्तौँसम्म भोकै बस्न सक्छ । पहिलो गरिबीको कारण भोकमारीमा अनिश्चित समयसम्म भोकै बस्न सक्छ । दोस्रो, आफ्नो रोजीरोटी, पहिचान, राजनीतिक स्वार्थ वा कुनै विषयगत स्वार्थका लागि पनि हप्तौँसम्म भोकै बस्न सक्छ तर यसको भाषा फरक छ खान नपुगेर बस्नुपर्नेलाई भोकमारी भनिन्छ भने स्वार्थ नपुगेर बस्नेलाई अनसन भनिन्छ । अहिलेसम्म नेपालमा २४ दिनसम्म भोकै अनसन बसेको रेकर्ड पत्ता लागेको छ । एउटा विशेषता के छ भने बाघ प्रजाति कहिल्यै रिले अनसन गर्दैन तर नेता प्रजातिले अलि ठूलो प्रजातिका नेताहरूको स्वास्थलाई ख्याल गरी सहजताका लागि रिले अनसनका नाममा पालैपालो भुँडीभरि हसुर्ने र अनसन बस्ने गरेको अभ्यास छ । जसको उद्देश्य पार्टी लेबी रित्याउनु र उपचारका नाममा विदेशयात्रा गरी देशको ढुकुटी खल्लास गर्नु मात्र हो ।

–बाघ प्रजातिले एक पटकमा लगातार ३४ केजीसम्म ताजा मासु खान सक्छ तर नेता प्रजातिले भने यस कुरामा धेरै अगाडि छ । मान्छे प्रजातिले एकै सेकेन्डमा अर्बौंको सरकारी साजस्व, कर, घुस, सार्वजनिक सम्पत्ति, सामाजिक सुरक्षा भत्ता, सुत्केरी भत्ता खान सक्छ । चालिस, पचास हजारको भत्ता पारिश्रमिक खानेले पनि करौडौँ, अर्बौं रुपियाँको राजस्व डकारेकोे केस हालसालै चर्चा परिचर्चामा आएको थियो । एउटा फरक के छ भने बाघप्रजातिले अरूबाघलाई केही खुवाउँदैन तर नेता प्रजातिले भने आफ्नो स्वार्थका लागि करोडौँ अर्बौं रुपियाँको नजराना घुस खुवाउनसमेत पछि पर्दैन । नपत्याए विगतको एउटा निजी सञ्चार कम्पनीले खुवाएको अर्बौंको रुपियाँ काण्डलाई लिए हुन्छ । तथ्य आफैँ स्पष्ट छ ।

–बाघ प्रजातिले नोभेम्बर र अप्रिल महिनामा प्रायशः यौन संसर्गका लागि जोडी खोज्ने गर्छ तर नेता प्रजातिले भने आफ्ना मात्रै होइन अरूको जोडी पायो भने जुनसुकै बेला पनि सहवासका लागि तयार हुने गर्छ । यसका लागि कुनै सिजन, उमेर, स्थान विशेष छैन । नेता प्रजाति भने सहवासका लागि बाघ जस्तो हिंस्रक हँुदैन तर अपराधी भने हुन्छ । रोपाइँ, मेलामा गएकालाई पनि मौका पाए अङ्गालो मारिहाल्छ । नेता प्रजातिले धेरैजसो यस्तो यौन कार्य गुप्तरूपमा या त सत्ताको आडमा या लोभलालच, जागिर खाने, खुवाउने वा चैट गरिदिने धम्की दिएर गर्ने गर्छ ।

–भाले बाघ प्रजातिले डमरुहरू हुर्काउन खासै चासो दिँदैन तर कुनै कुनैबेला सिकार भने मिलेर खाने गरेको पाइएको छ नेता प्रजातिले भने आफ्नो मात्रै होइन, आफ्ना अज्ञात प्रेमिकाका सन्तानसमेत हुर्काउन चासो दिएको पाइन्छ । विभिन्न बहाना साइनो गाँसेर अनाथ, धर्मपुत्रपुत्रीका नाममा, उनीहरूको रोजगारी, छात्रवृत्ति, विदेश भ्रमण आदिको प्रलोभन दिएर साथै आफ्नो स्रोत न खुलेको सम्पत्ति लुकाउन पनि गोप्य सन्तान उत्पादन गर्दछ ।

–बघिनी प्रजातिले आफू सहवासका लागि तयार भएको ३ देखि ६ दिनभित्रमा भाले बाघ प्रजातिलाई जानकारी दिन्छिन् र स्वीकृति दिन्छिन् भने नेता प्रजातिले आफ्नो जोडीको स्वीकृतिबिना नै बाह्रै महिना निःशुल्क वा सशुल्क बल प्रयोग गरी यौन हिंसा बढाउने गर्छ । बाल, वृद्धा, सुत्केरी, रजस्वला भएका, गर्भपतन, स्थान, समय, बिमारी, असहाय कुनै पनि अवस्था हेर्दैन । बलजफ्ती गरिहाल्छ, चाहे छात्रावास होस, खेतबारी होस, स्कुल कोठा होस, ट्युसन सेन्टर, विदेश भ्रमण, पार्टी बैठक, बसपार्क, खेलकुद मैदान, प्रिन्सिपलको कोठा होस्, स्वास्थ चौकीमा गर्भपतन, क्युरेट गर्ने बहानामा होस्, ट्युसन पढाउने, परीक्षामा पास गराउने, चुनाव प्रशिक्षण, आन्दोलन कुनै अवस्था हेर्दैन । जानकारीबिनै बलपूर्वक सहबास गरिहाल्छ ।

–बाघ प्रजातिका डमरुहरू धेरैजसो कुपोषण, अत्यधिक चिसो छल्न नसकेर, खान नपुगेर मर्ने गर्छन् भने नेता प्रजाति बबुराहरू एकआपसको प्रतिशोधमा, अपहरणमा परेर, प्रायोजित रोडएक्सिडेन्टमा, बालयौन हिंसामा परेर, मादकपदार्थ, तस्करी, फिरौती, मध्यस्तकर्ता, ठेक्का, लेबी जस्ता कुरामा संलग्न हुँदा, डनहरूको सङ्गतमा पर्दा, जुलुस बन्द हड्तालमा गोली लागेर घाइते भएर मर्ने हुनाले यति नै र यसरी नै भनेर तोक्न सकिने अवस्था छैन ।

–बाघ प्रजातिका डमरुहरू ३ देखि ६ महिनासम्म आफ्नो आमाको निगरानीमा रहन्छन् भने ११ महिना पुगेपछि विस्तारै सिकार गर्ने प्रशिक्षण लिन थाल्छन् । तर नेता प्रजातिका डमरुहरू भने किशोरावस्था भएपछि आमाबाउसँग भन्दा राजनीतिक पार्टीबाट वाईसीएल, तरुणदल, नेविसङ्घ, युथफोर्स, मन्च, अनेरास्ववियु, विद्यार्थी मन्च, साइबर सेनाजस्ता विभिन्न समूहबाट बारहरू भत्काउने, राँके जुलुस निकाल्ने, खुकुरी सिरानीमा राख्ने, सामाजिक सञ्जालमा प्रवाह गर्ने, सार्वजनिक सम्पत्ति, अध्ययन कक्ष जलाउने, सार्वजनिक सवारीमा ढुङ्गा हान्ने, सुरक्षाकर्मी, कर्मचारी, प्रहरीमाथि ढुङ्गा हान्नेजस्ता सीपहरू वरिष्ठ नेता प्रजातिबाट प्राप्त गरी ग्राजुएट (पार्टी टिकट र पूर्णकालीन) नहुँदासम्म प्रशिक्षण लिई नै रहन्छन्

–बाघ प्रजातिका डमरुहरू १८ महिना पुग्दासम्म सिकार खेल्ने भइसक्छन् तर साढे दुई वर्ष उमेर नपुग्दासम्म आमासँग पूर्णरूपमा छुट्टिँदैनन् । तर नेता प्रजातिका डमरुहरू अर्थात (नेविसङ्घ, अखिल, मञ्च, तरुणदल, युथफोर्स, फोरम, वाईसीएल आदि) भने स्कुल पढदादेखि नै राजनीतिक प्रशिक्षणमा पूर्णकालीन भइसक्छन् । नेता प्रजातिले यिनीहरूलाई आफ्नो दलीय राजनीतिलाई आवश्यक पर्ने खासगरी चुनावमा र सरकारको प्रतिरोध गर्न, गुण्डागर्दी, बुथ क्याप्चर जस्ता सीपहरू हासिल गरिसक्छन् अनि वयस्क भएपछि आफूलाई जता लाग्दा फाइदा हुन्छ, लाभको पद, राजनीतिक संरक्षण, ठेक्का, पट्टा, टेन्डर, फिरौती, लेबी बढी प्राप्त हुन्छ त्यता लाग्छन् तर यिनीहरू आफ्नो माउपार्टी सत्तामा रहुन्जेल पूर्णत छुट्टिँदैनन् । यिनीहरू जीवनभर शक्तिकेन्द्रको वरिपरि रहेर राजनीतिक षड्यन्त्र गर्ने सीपहरू सिक्छन् ।

– नेपालमा सन् १९७३ मा चितवन राष्ट्रिय निकुञ्ज स्थापनासँगै बाघ संरक्षणका प्रयास थालिएको हो भने नेपालमा नेता प्रजातिहरूको संरक्षण भने सन् २००८ सालदेखि नै विभिन्न पार्टी गुटउपगुटका नाममा राजनीतिक अपराध विकृतिको संरक्षण प्रयास थालिएको हो, जुन अहिले क्षेत्रीय, केन्द्रीय गुट उपगुटहरूको सङ्ख्या पनि १३० वटा नाघिसकेको छ । हालसालै मात्र यो नेता प्रजातिको तीनवटा उपप्रजाति गुटहरू छुट्टिई भिन्न भई अस्तित्वमा आएको पुष्टि गरिएको छ ।

–नेपालमा सन् २००९ मा भएको बाघ प्रजाति संरक्षणसम्बन्धी कार्यशाला गोष्ठीले बाघ प्रजातिको सङ्ख्या दुई गुना पुर्याउने प्रतिबद्धता गरेको थियो भने नेपालमा २०४६ मा भएको बहुदलीय आन्दोलनले बहुदलीय व्यवस्था अँगालेको थियो जसको परिणाम १३० गुटउपगुट प्रजाति पुगिसकेको छ । २०७४ को सङ्घीय चुनावले त चौगुना पुर्याउने र मध्यावधि चुनाव र यससम्बन्धी अध्यादेशले त नेता प्रजातिको संरक्षण गरी हजार सङ्ख्या नै पुग्ने अवस्था देखिँदैछ । यो अध्यादेशबाट २० जना कुनै प्रजातिका नेताहरू अलग्गिन चाहेमा उपप्रजातिका रूपमा आफ्नो पहिचान खुलाउने बाटो खोलिदिएको छ । यसले गर्दा केही नेता प्रजाति बार्दलीमा उभिएर कुर्लने, कुनै बालुबाटार, बूढानीलकण्ठ, खुमलटार कुदिरहने, कुनै सिमापार अर्को प्रजातिसँग सहकार्य सल्लाह गर्ने र कुनै दुलोभित्र (मानव निर्मित सुरुङभित्र) पस्ने अनि कसैले बाटोमा भेटिएका अर्को प्रजातिलाई अपहरण गर्ने त्रासले होटलमा गुप्तबास हुने पनि देखिएको छ । आशा गरौँ यी नेता प्रजातिका युवा गुटहरूले बेलैमा होस पुर्याई, आफ्ना बासस्थान, पहिचान, नेतृत्व र इमानदारितालाई आगामी दिनमा आफ्नै गुटका बुढा, अहङ्कारी, सुलसुले, दम्भी, लम्पसारवादी प्रजातिको अन्त्य गर्न सक्षम हुने छन् । जय नेता प्रजाति, जय गाईजात्रा ।

अस्तु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ताराप्रसाद ज्ञवाली
ताराप्रसाद ज्ञवाली
लेखकबाट थप