‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । उनको भारत भ्रमणको निकै चर्चा भइरहेको छ । यो भ्रमणले नेपाल-भारतबिचको सम्बन्धमा कस्तो प्रभाव राख्छ भन्नेबारेमा विभिन्न कोणबाट टिप्पणी भइरहेको छ ।
लामो समयदेखि परराष्ट्र मामिलामा लेख्दै आएका पत्रकार अनिल गिरीसँग रातोपाटीको ‘वारपार’मा रवि लामिछानेको भारत भ्रमणको राजनीतिक र कूटनीतिक प्रभाव तथा नेपालको वर्तमान राजनीतिक परिवेशका विषयमा कुराकानी गरिएको छ । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश (विस्तृत भिडियोमा हेर्न-सुन्न सकिन्छ) :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हालैको भारत भ्रमणको मुख्य अर्थ र महत्त्व के हो ?
रवि लामिछानेको भारत भ्रमणलाई दुईवटा महत्त्वपूर्ण कोणबाट हेर्न सकिन्छ । पहिलो, रास्वपाको उदय निकै छोटो समयमा भएको हो । केवल चार वर्षको अन्तरालमा यो पार्टी नेपालको एउटा ठुलो राजनीतिक शक्ति बनेर उभिएको छ । यो पार्टी करिब दुई–तिहाइ बहुमतसहित सरकारमा छ । भारतीय पक्षले आगामी १५ देखि २० वर्षसम्म नेपालको राजनीतिमा रास्वपा एउटा निर्णायक शक्तिको रूपमा रहनेछ भन्ने बुझेको छ । त्यसैले उनीहरूले अहिलेदेखि नै लामिछानेसँग इन्गेज हुन खोजेका हुन् ।

दोस्रो कुरा, रास्वपासँग विगतका पुराना पार्टीहरू (कांग्रेस, एमाले वा माओवादी) जस्तो कुनै ‘राजनीतिक भारी’ छैन । उनीहरूले नयाँ शिराबाट सम्बन्ध अगाडि बढाउन चाहेका छन्, जुन भारतका लागि पनि एउटा अवसर हो ।
भारतले रवि लामिछानेलाई दिएको सम्मान कस्तो खालको थियो ? के यो अन्य नेताहरूलाई दिइनेजस्तै हो ?
लामिछानेले यसपटक भारतमा पाएको सम्मान निकै उच्चस्तरको देखिन्छ । उहाँलाई भारतीय जनता पार्टी (भाजपा) को मुख्यालयमा भव्य स्वागत गरियो, जहाँ पुष्पवृष्टि समेत गरिएको थियो । भाजपाका राष्ट्रिय अध्यक्षले उहाँसँग भेटवार्ता गर्नुभयो । त्यस्तै, दिल्लीमा उहाँका लागि विशिष्ट व्यक्तिहरू सम्मिलित ‘डिनर’ आयोजना गरियो । कूटनीतिक रूपमा सबैभन्दा महत्त्वपूर्ण कुरा, लामिछानेले भारतका गृहमन्त्री अमित शाह, विदेशमन्त्री एस जयशंकर र अन्ततः प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेटवार्ता गर्नुभयो ।
भारतीय सञ्चारमाध्यम र पत्रकारहरूका अनुसार अमित शाहले हत्तपत्त विदेशी नेताहरूलाई भेट्नुहुन्न, तर लामिछानेलाई भेट्नुले भारतले उहाँलाई कति महत्त्व दिएको छ भन्ने स्पष्ट पार्छ । प्रधानमन्त्री मोदीसँगको भेटको तस्बिर हेर्दा पनि यो कुनै एउटा दलको नेताको भेटजस्तो नभई सरकारी प्रतिनिधिमण्डल स्तरको भेटवार्ताजस्तो देखिन्थ्यो ।
भारतको कूटनीतिमा स्थायी शत्रु वा स्थायी मित्र हुँदैन, केवल स्थायी स्वार्थ हुन्छ भनिन्छ । के लामिछानेको हकमा पनि भारतले कुनै स्वार्थका कारण मात्रै सम्मान दिएको हो ?
अन्तर्राष्ट्रिय सम्बन्ध र राजनीतिमा यो एउटा कटु सत्य हो । भारतले विगतमा गिरिजाप्रसाद कोइराला, प्रचण्ड वा शेरबहादुर देउवालाई पनि यस्तै सम्मान दिएको थियो । सन् २००६ को जनआन्दोलनपछि गिरिजाप्रसाद कोइराला दिल्ली जाँदा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंह आफैँ विमानस्थलमा लिन जानुभएको थियो । तर दुई वर्षपछि जब राष्ट्रपति चुनावको कुरा आयो, भारतले गिरिजाबाबुलाई समर्थन गरेन । त्यस्तै प्रचण्ड र बाबुराम भट्टराईको भारतमा जुन स्तरको क्रेज थियो, त्यो पनि सधैँ टिकेन ।
भारतको मुख्य चासो आफ्नो सुरक्षा र क्षेत्रीय प्रभावमा हुन्छ । यदि रास्वपाले भारतको स्वार्थमा धक्का पुर्याउने कुनै काम गर्यो भने यो सम्मान तुरुन्तै बदलिन सक्छ । भारतले अहिले लामिछानेलाई एउटा उदयीमान शक्तिको रूपमा हेरेर लगानी गरिरहेको छ ।
रवि लामिछानेको अयोध्या भ्रमणलाई कसरी विश्लेषण गर्न सकिन्छ ? के यसमा कुनै धार्मिक वा राजनीतिक एजेन्डा छ ?
अयोध्या भ्रमणको पछाडि केही महत्त्वपूर्ण पक्ष छन् । पहिलो त, लामिछानेको आफ्नो ‘कन्स्टिच्युएन्सी’ र रास्वपालाई समर्थन गर्ने ठुलो हिस्सा नेपालमा ‘राइटिस्ट’ (दक्षिणपन्थी) विचारधारा राख्नेहरू छन्, जो नेपाललाई हिन्दु राष्ट्रको रूपमा हेर्न चाहन्छन् । लामिछानेले कहिल्यै पनि हिन्दु राष्ट्रको विरोधमा बोल्नुभएको छैन । त्यसैले अयोध्या गएर उहाँले आफ्ना समर्थकहरूलाई एउटा सकारात्मक सन्देश दिन खोज्नुभएको छ ।
अर्कोतर्फ, भारतको वर्तमान सरकार (भाजपा र आरएसएस) को एउटा ठुलो सपना अयोध्यादेखि जनकपुरसम्म रेल सेवा जोड्ने छ । यो रेल सेवा सांस्कृतिक र धार्मिक पर्यटनका लागि महत्त्वपूर्ण छ । लामिछानेले अयोध्या पुगेर यस परियोजनाप्रति पनि आफ्नो रुचि र समर्थन देखाउनुभएको छ ।
लामिछानेले प्रस्ताव गरेको डेभलपमेन्ट डिप्लोमेसी (विकास कूटनीति)को अवधारणा के हो ?
नेपालमा पछिल्लो समय बीआरआई, एमसीसी वा पञ्चेश्वरजस्ता ठुला आयोजनाहरू भू–राजनीतिक विवादमा फसेका छन् । लामिछानेले राखेको अवधारणा अनुसार, रणनीतिक वा सुरक्षा चासो जोडिएका आयोजनाहरू भन्दा विशुद्ध विकासका आयोजनाहरूमा सहकार्य हुनुपर्छ । उहाँले काठमाडौँदेखि बेङ्गलोरसम्मको आईटी कोरिडोर बनाउने प्रस्ताव राख्नुभएको छ । जलविद्युत् र प्रविधिको क्षेत्रमा विशुद्ध व्यापारिक र विकासको दृष्टिकोणले काम गरौँ भन्ने उहाँको तर्क छ । यसलाई भारतले पनि सकारात्मक रूपमा लिएको देखिन्छ, किनकि यसले कुनै ठुलो राजनीतिक वा सामरिक विवाद निम्त्याउँदैन ।
प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले हालै संसदमा नेपालले पनि भारतको भूमि मिचेको छ भनी दिएको बयानको कूटनीतिक अर्थ के हो ?
प्रधानमन्त्रीको यो बयान निकै विवादित र कतिपयले यसलाई अपरिपक्व भनेका छन् । वास्तवमा यो विषय क्रस होल्डिङ अफ प्रोपर्टीसँग सम्बन्धित छ । बाउन्ड्री वर्किङ ग्रुपको रिपोर्ट अनुसार केही भारतीय नागरिकको जमिन नेपालतर्फ परेको छ र केही नेपालीको जमिन भारततर्फ परेको छ । तथ्याङ्क अनुसार भारतको करिब १२ सय ५० हेक्टर जमिन नेपालतर्फ र नेपालको १२ सय हेक्टर जमिन भारततर्फ परेको छ । यसको अर्थ भारतको ५० हेक्टरभन्दा बढी जमिन नेपालतर्फ परेको देखिन्छ ।

तर प्रधानमन्त्रीले यसलाई हामीले पनि मिचेका छौँ भनिदिँदा भारतसँगको सीमा विवादको गम्भीरतालाई कम आँकेको जस्तो देखियो । कूटनीतिमा शब्द–शब्दको अर्थ हुन्छ र प्रधानमन्त्रीले यसमा अलि बढी ‘ओभर कन्फिडेन्स’ देखाउनुभयो ।
सुगौली सन्धि र १९५० को सन्धिको आधिकारिक कपी नेपाल सरकारसँग छैन र बेलायतसँग माग्नुपर्छ भन्ने कुरा कति सत्य हो ?
यो निकै दुखद् कुरा हो । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले संसदमै भन्नुभएको थियो कि नेपाल सरकारसँग सुगौली सन्धि र १९५० को सन्धिको आधिकारिक सक्कल कागज छैन । सुगौली सन्धिको समयमा ब्रिटिस इन्डिया थियो, त्यसैले त्यो कागज ब्रिटिस म्युजियम वा लन्डनमा हुन सक्छ, तर नेपालजस्तो देशले आफ्ना ऐतिहासिक सन्धिहरूको आधिकारिक प्रतिसमेत सुरक्षित राख्न नसक्नु हाम्रो कूटनीतिक कमजोरी हो । भारतसँग सीमा वा सन्धिको कुरा गर्दा हामीसँग प्रमाणको कमी हुनुले हाम्रो अडान कमजोर बनाउँछ ।
नेपालको राजनीतिमा अहिले अमेरिका हाबी छ भन्ने भाष्यहरूका बिच भारत यसमा बढी सक्रिय भएको हो ?
नेपालमा अहिले भू–राजनीतिक प्रतिस्पर्धा तीव्र छ । अमेरिकाका उच्च अधिकारीहरू (अन्डर सेक्रेटरी स्तरसम्मका) पालैपालो नेपाल आइरहेका छन् र उनीहरूले नयाँ सरकारसँग इन्गेज हुन खोजिरहेका छन् । चीनले पनि आफ्ना संयन्त्रमार्फत सक्रियता बढाइरहेको छ । भारतलाई के लागेको हुन सक्छ भने, यदि आफू पछि हट्यो भने अमेरिका वा चीनको प्रभाव झन् बढ्छ । त्यसैले लामिछाने जस्तो नयाँ र प्रभावशाली नेतालाई भारतले पहिले नै आफ्नो पक्षमा पार्न वा उहाँको सोच बुझ्न खोजेको हो । रास्वपाले कसरी काम गर्छ र यसको विदेशी शक्तिहरूसँगको सम्बन्ध कस्तो हुन्छ भन्नेमा भारत, चीन र अमेरिका तीनै पक्ष निकै सजग देखिन्छन् ।
प्रधानमन्त्री बालेन शाह र रवि लामिछानेप्रति भारतको दृष्टिकोणमा के भिन्नता छ ?
रोचक कुरा के छ भने रवि लामिछानेको भन्दा बालेन शाहको ‘क्रेज’ भारतमा कैयौँ गुणा बढी छ । भारतीय सञ्चारमाध्यम र सोसल मिडियामा बालेन शाहलाई एउटा ‘हिरो’ को रूपमा चित्रण गरिन्छ, तर कूटनीतिक रूपमा भारतले लामिछानेलाई बढी महत्त्व दिएको देखिन्छ ।
लामिछानेको यस भ्रमणले नेपाल–भारत सम्बन्धमा कस्तो प्रभाव पार्ला ?
यो भ्रमणले एउटा ‘मोमेन्टम’ सिर्जना गरेको छ । लामिछानेले आफूलाई एउटा परिपक्व र विकासप्रेमी नेताको रूपमा प्रस्तुत गर्ने प्रयास गर्नुभएको छ ।
भारतले पनि नयाँ पुस्ताका नेताहरूसँग सम्बन्ध गाँस्न चाहेको सन्देश दिएको छ, तर वास्तविक नतिजा भने आगामी दिनमा हुने सहमति र आयोजनाहरूको कार्यान्वयनले मात्रै देखाउनेछ । कूटनीतिमा तस्बिर र स्वागतभन्दा पनि नतिजाको बढी महत्त्व हुन्छ ।
भिडियो/फोटो : मनोज खड्का/रातोपाटी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण