कपिलवस्तुको कृष्णनगरमा फेरि बढे झाडापखालाका बिरामी
कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फेरि झाडापखालाका बिरामी बढ्न थालेका छन् । दसैँ अगाडि करिव नियन्त्रणमा आएको झाडापखाला केही दिन यता फेरि फैलिन थालेको हो ।
कृष्णनगरमा दसैँ अघि वडा नम्बर ७, ८ र ९ मा झाडापखाला देखिएको थियो । ती वडामा झाडापखाला पूर्ण नियन्त्रणमा नआउँदै फेरि वडा नम्बर ५, ६ र १२ मा देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक शंकर भट्टराईले रातोपाटीलाई बताए ।
उनका अनुसार अहिले झाडापखालाका बिरामी दैनिक सरदर २५ देखि ३० जनासम्म अस्पतालमा आउने गरेका छन् । उनीहरुको स्थानीय अस्पतालमै उपचार भइरहेको उनले बताए ।
वडा नम्बर १२ को हतियागढ र हरिगवा गाउँका बालबालिकामा झाडापखालाका बिरामी बढी देखिएको सोही वडाका वडाध्यक्ष छेदीप्रसाद यादवले रातोपाटीलाई बताए । उनले स्थानीयवासीलाई पानी उमालेर मात्र पिउन आग्रह गरिएको बताए ।
८ नम्बरका वडा अध्यक्ष नुर मोहम्मद मुसलमानले दया नगर र डगरमवामा भन्ने गाउँमा झाडापखालाका बिरामीहरु देखिएको बताए । सो वडामा दैनिक ५÷६ जना झाडापखालाका बिरामी देखिएको बताए ।
असोजको तेस्रो हप्ता झाडापखाला उत्कर्षमा पुगे पनि पछिल्ला दिनमा बिरामीको संख्या घटेर नगरपालिका क्षेत्रमा दैनिक ६÷७ जनामात्र बिरामी हुने गरेका थिए । दसैँ सकिएलगत्तै फेरि बिरामीको संख्या बढ्न थालेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले अहिले त्यस क्षेत्रमा ७ जना डाक्टर र ५० जना बढी स्वास्थ्यकर्मी उपचारमा खटिएको बताए । कृष्णनगर नगरपालिकामा हैजा फैलिएको यस अगाडि नै पुष्टि भइसकेको छ । तर मानिसहरुमा चेतनाको कमीका कारण खानपान र सरसफाईमा ध्यान दिन नसकेकाले फेरि झाडापखालाका बिरामी फैलिएका हुन सक्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
झाडापखालाबाट बच्न पानी उमालेर पिउन, पानीको मुहान वरपर सफा राख्न र शौचालयको प्रयोग गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । दुई हप्ता पहिले झाडापखालाबाट कृष्णनगरमा ३ जना, शिवराज नगरपालिका–८ मा १ जना गरी ४ जनाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण