आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस महाधिवेशन : प्रदेश २ बाट सभापतिसहित ४० जनाभन्दा बढी उम्मेदवार

शनिबार, २५ मङ्सिर २०७८, १४ : १५
शनिबार, २५ मङ्सिर २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानैदेखि उम्मेदवारी दर्ता सुरु भएको छ । उम्मेदवारी दर्ता गराइसकेका नेताहरु प्रचारप्रसारमा व्यस्त हुन थालेका छन् । प्रदेश २ बाट केन्द्रीय सभापतिसहित विभिन्न पदमा हालसम्म ४० भन्दा बढी आकांक्षी देखिएका छन् । त्यसमध्ये कतिपयले प्रचार सुरु गरिसकेका छन् भने कतिपयको प्यानल कन्फर्म नभएका कारण नाम बाहिर ल्याइएको छैन ।

विमलेन्द्र निधिले यसअघि नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । उनले प्रचार प्रसार पनि तीव्र तुल्याएका छन् । यद्यपि उनले अझै उम्मेदवारी दर्ता गराएका छैनन् । उनी आफ्नो प्यानल बनाउने तयारीमा लागेको बताइन्छ ।

काँग्रेसका सप्तरी सभापति दिनेश यादवका अनुसार अहिलेसम्म सप्तरीबाट विभिन्न पदमा ६ जनाभन्दा बढी उम्मेदवार देखिएका छन् । तेजुलाल चौधरी, जितेन्द्र देव, डा.सुवोध पोखरेल, डा.सुरेश चालिसे, सकलदेव सुतियार, उमेश कुमार बस्नेतले उम्मेदवारी दिने भनेका छन् तर त्यसमध्ये कपितयको प्यानल नमिलेको कारण उम्मेदवारी घोषणा गरेका छैनन् ।

त्यस्तै, सिरहाबाट डा.सुभाष यादवले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनको प्रचार प्रसार पनि तीव्र भएको छ । त्यस्तै पदनारायण चौधरीले जनजातिबाट सहमहामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् । तर अझै प्यानलमा कुरा नमिलेका कारण उनले उम्मेदवारी घोषणा गरेका छैनन् ।

मोख्तार अहमद मुस्लिम कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भनेका छन् भने चित्रलेखा यादव उपसभापतिका आकांक्षी देखिएकी छन् । मञ्जु खाँ र रेखा यादव पनि केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

धनुषाबाट विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । महेन्द्र यादव र चन्द्रमोहन यादवले सहमहामन्त्रीमा उम्मेदवारी दिने जनाएका छन् ।

त्यस्तै, केन्द्रीय सदस्यमा प्रेमकिशोर साह, आनन्द ढुंगाना, रामकृष्ण यादव, सरस्वती चौधरी, मिनाक्षी झाले पनि उम्मेदवारी दिने जनाएको धनुषाका पार्टी सभापति महेश शंकर गिरीले बताए ।

रौतहटबाट हालसम्म मिथिलेश कुमार मिश्र, रमेश खरेल र सूर्यबहादुर थापाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने चर्चा छ । सबैभन्दा बढी आकांक्षी पर्सामा देखिएका छन् । पर्सा जिल्ला सभापति अजय द्विवेदीका अनुसार अजय चौरसिया र सुरेन्द्र चौधरीले सहमहामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । त्यस्तै, रमेश रिजाल, अजय द्विवेदी, राकेश सिंह, शान्ति कार्की, शम्भु पासवानले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिने भएका छन् ।

बाराबाट भने अहिलेसम्म कोही खुलेर आएका छैनन् । बाराका जयचन्द चौरसियाका अनुसार फरमुला मन्सुर मुस्लिम कोटाबाट सहमहामन्त्री र कलावती पासवान दलित कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने जनाइएको छ ।

त्यस्तै महोत्तरीका पार्टी सभापति महेन्द्र यादवका अनुसार माथि शीर्ष नेताहरुको बीचमा कुरा नमिलेको कारण तल नेताहरु खुलेका छैनन् । भित्रभित्रै धेरैले उम्मेदवारी दिने तयारी गरे पनि प्यानलमा कुरा नमिलेपछि खुलेका छैनन् ।

अहिलेसम्म महोत्तरीबाट केन्द्रीय सदस्यमा महेन्द्र यादव, संगिता मण्डल, नगिना यादवको नाम बाहिर आएको छ । महोत्तरीको क्षेत्र नम्बर ३ मा विवादका कारण अधिवेशन पनि भएन । त्यही विवादका कारण प्रदेशको अधिवेशन पनि स्थगित गरिएको छ ।

सर्लाहीबाट हालसम्म तीनजना उम्मेदवारको नाम बाहिर आएको छ । मधेसी कोटाबाट केन्द्रीय सदस्यमा जंगिलाल राय, खस कोटाबाट केन्द्रीय सदस्यमा दीपक अधिकारी र जनजाति कोटाबाट केन्द्रीय सदस्यमा शम्भु श्रेष्ठले उम्मेदवारी दिने भनेका छन् ।

काँग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिनिधि चार हजार ७४३ मध्ये ८०९ जना केन्द्रीय प्रतिनिधि प्रदेश नम्बर २ मै छन् । प्रदेश २ मा आठवटा जिल्ला छन् । सातवटा प्रदेशमध्ये सबभन्दा बढी प्रतिनिधि प्रदेश २ मा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप