शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले सभापतिमा हारे गठबन्धन सरकार ढल्छ ?

शेरबहादुर भन्छन्– ढल्छ, शेखर भन्छन्– ढल्दैन !
आइतबार, २६ मङ्सिर २०७८, २१ : ०६
आइतबार, २६ मङ्सिर २०७८

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफू महाधिवेशनमा पराजित भए गठबन्धन सरकार ढल्ने बताएका छन् । आफ्नो सरकार बचाउने हो भने सभापतिमा जिताउनुपर्ने कार्यकर्तासमक्ष देउवाको माग छ ।  देउवाका प्रत्यासी बनेर चुनावी मैदानमा उत्रिएका डा. शेखर कोइरालाले चाहिँ पार्टीको नेतृत्व फेरिँदैमा सरकार नढल्ने र देउवाकै नेतृत्वमा तीन तहको चुनाव जित्ने प्रतिवद्धता जनाएका छन् । 

पार्टी सभापतिका लागि कार्यकर्तासँग मत माग्ने क्रममा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले भने, ‘म पार्टी सभापति भएको खण्डमा यो सरकार चुनावसम्मका लागि टिकिरहनेछ । मैले चुनाव हारेको खण्डमा शेरबहादुरको नेतृत्वमा प्रधानमन्त्रीमा बस्नै पाइँदैन भनेर होहल्ला गर्नेछन् सबैजनाले । त्यसकारणले पनि पार्टी सभापति जित्नु आवश्यक छ ।’

प्रधानमन्त्री देउवाले सरकारमा टिक्नका लागि सभापति जित्नैपर्ने तर्क अघि सार्दै भने, ‘जितेन भने पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छन् । के प्रधानमन्त्री बन्न सक्छ भन्छन् । त्यसैकारण मैले पार्टी सभापति जित्न आवश्यक छ । नभएको खण्डमा भोलिपल्ट शेरबहादुर हार्यो, हारेकोलाई कहाँ बनाउने भनेर अरुले आक्रमण गर्न थाल्छन् । त्यसकारण प्राइमिनिस्टर नेपाली काँग्रेसको हुन आवश्यक छ । मैले जित्न आवश्यक छ ।’

०७४ को चुनावमा आफ्नै नेतृत्वमा पार्टीलाई जित दिलाउन नसकेको आरोप खेपेका देउवाले यसपटक आफूले पार्टी सभापति जितेका तीनै तहका चुनावमा काँग्रेसलाई जित दिलाउने दाबी गरे । देउवाले भने, ‘यो मेरो अन्तिम बेला हो । ओलीलाई हटाएर म प्रधानमन्त्री बनेको छु । यदि मैले जितेको खण्डमा मात्रै यो पार्टीलाई सबै गाउँदेखि माथिसम्मको सरकार बनाउन सक्नेछु । आफ्नो विषयमा धेरै बोल्नु उचित हुँदैन, तैपनि बोलेको छु, माफ गर्नुहोला ।’

प्रधानमन्त्री देउवाले पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुपर्ने भाष्यसमेत निर्माण गरेका छन् । देउवाको भनाइ छ, ‘प्रधानमन्त्री र पार्टी सभापति एउटै व्यक्ति भयो भने स्थायित्व हुन्छ । पार्टी बलियो हुन जरुरी छ । म भोलि सबै ठाउँमा नेपाली काँग्रेसलाई चुनाव जिताउँछु ।’ 

पार्टीको नेतृत्व परिवर्तन हुन्छ तर सरकार ढल्दैन : शेखर

आफूले सभापति नजितेमा सरकार ढल्ने देउवाले बताए पनि उनका प्रत्यासी डा.शेखर कोइरालाले चाहिँ सभापतिमा देउवा पराजित हुँदैमा गठबन्धन सरकार नढल्ने दाबी गरे । महाधिवेशनमा आफ्नो टीम विजयी बनेमा गठबन्धन सरकारलाई अझ बलियो बनाउने कोइरालाले प्रतिवद्धता जनाए । 

आइतबार साँझ बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजित पत्रकार सम्मेलनमा डा. शेखरले भने, ‘देशको प्रधानमन्त्रीजीले अलि हाम्रो मन खल्लो बनाइदिनुभयो । निराश पार्दिनुभो । नेपाली काँग्रेसका सम्पूर्ण कार्यकर्ताहरु निराश भएजस्तो लाग्छ मलाई । उहाँले के भन्दिनु भो भने म हारें भनें यो गठबन्धन सरकार हट्छ भनेर भन्दिनुभो ।’

डा. शेखरले देउवाको भनाइको खण्डन गर्दै भने, ‘म तपाईंहरुको सामुन्ने प्रण गर्न चाहन्छु, नेतृत्व परिवर्तन हुन्छ हुन्छ हुन्छ । यो नेतृत्व परिवर्तनपछि अझ बढी सुदृढ र संगठित भइकन यो गठबन्धनलाई निर्वाचनमा हामी होमिन्छौं । यो सरकारलाई अझ मजबुद बनाउने प्रयास हाम्रो नेतृत्वले गर्नेछ भन्ने कुरा तपाईंहरुको माझमा राख्न चाहन्छु ।

महाधिवेशनपछि आफ्नो टिमले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र ढा. शशांक कोइरालाजस्ता अनुभवी नेताहरुको मार्गदर्शन अनुसार काम गर्ने शेखरले बताए । उनले भने, ‘हाम्रा अनुभवी नेताहरु हुनुहुन्छ । प्रधानमन्त्री शेरबहादुरजी, बरिष्ठ नेता रामचन्द्र पौडेलजी हुनुहुन्छ, महामन्त्री डा. शशांक कोइराला हुनुहुन्छ । उहाँहरुको अनुभवलाई लिएर हामी अगाडि बढ्छौँ ।’

उनले थपे, ‘महाधिवेशनलगत्तै हामी तीनवटा निर्वाचनमा केन्द्रित हुन्छौं । नेपाली काँग्रेसलाई भागवण्डारहित, गुटबन्दीरहित, एकढिक्का बनाएर तीनवटै निर्वाचनमा हामी विजय हासिल गर्छौं भन्ने कुरामा पनि प्रतिवद्धता जाहेर गर्न चाहन्छु ।’ 

चुनावमा देउवाको अनुहार बिक्ला कि नबिक्ला ?

महाधिवेशनका लागि मतदानमा जानुपूर्व नेपाली काँग्रेसभित्र चलेको अर्को बहसको विषय हो– आगामी चुनावमा कस्तो अनुहार लिएर जाँदा काँग्रेसलाई सफलता प्राप्त होला ? 

तेह्रौं महाधिवेशनमा शेरबहादुर देउवाको नेतृत्व फेर्नुपर्ने माग गर्दै चुनावमा भिडेका कृष्णप्रसाद सिटौला अहिले देउवाको सारथी बनेका छन् । प्रधानमन्त्री देउवाले सभापतिमा हारे भने पार्टीमा हारेको प्रधानमन्त्रीलाई लिएर चुनावमा जाँदा सफल नभइने सिटौलाको तर्क छ । सिटौलाले देउवाको पक्षमा भोट माग्दै भनेका छन्, ‘सभापतिमा जितेको नेता लिएर चुनावमा जानुपर्छ । जितेपछि काँग्रेसलाई हाँकेर लान सक्ने नेता चाहिन्छ । देउवाको टिममा परिपक्व नेताहरु छन् ।’

तर, सिटौलाको क्याम्प छाडेर नेतृत्व परिवर्तनको एजेण्डासहित शेखर कोइरालाको टिमबाट महामन्त्रीमा उठेका युवा नेता गगन थापाचाहिँ सिटौलाको तर्कसँग सहमत छैनन् । आइतबार आयोजित पत्रकार सम्मलेनमा थापाले भने, ‘नेपाली काँग्रेसले निर्वाचन एक्लै जित्ने हो भने अहिले भएका मतदतामा १०/१२ लाख मतदाता थप्नुपर्छ । यसका लागि यस्तो नेतृत्व चाहियो कि काँग्रेसको नेतृत्व यो हो है भनेर हेर्दै गर्दाखेरि पार्टी बाहिरका मान्छेहरुलाई काँग्रेसमा आऔं आऔं लागोस् । काँग्रेसको घरभित्र पसौं पसौं लागोस् । शेखर कोइरालाको नेतृत्वमा काँग्रेस त्यस्तो देखिन्छ ।’

शुद्धीकरणको बहस

नेपाली काँग्रेसभित्र सरकार ढल्ने–नढल्ने र आगामी चुनावमा कस्तो अनुहार लिएर जाने भन्ने मात्र बहस छैन, नेपाली काँग्रेसमा डनवाद र धनवाद हुर्कँदै गएको हुनाले शुद्धीकरण हुनुपर्छ भन्ने बहस पनि चलेको छ ।  बरिष्ठ नेता रामचन्द्र पौडेलले अत्यन्त निराशाजनक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘मैले काँग्रेसलाई जुनरुपमा बुझ्दै आएको थिएँ, त्यो काँग्रेसमा विचलन आइरहेको मैले अनुभव गर्नुपरेको छ ।

पार्टी सत्ताको भर्याङमा सीमित नहोस् भनेर यसका संस्थापन नेताहरु बीपी, गणेशमान र किशुनजीले आदर्श र मूल्यका लागि जीवनभर लड्नुभयो, संघर्ष गर्नुभयो, त्यो आज निरर्थक हुन लागेको पीडावोध भइरहेछ । काँग्रेस आज केवल सत्ताको भर्याङमा सीमित हुन गएको मलाई महसुस भइरहेको छ ।’

त्यसैगरी स्वतन्त्र ढंगबाट उपसभापतिमा उम्मेदवारी दिएका अर्का नेता महेश आचार्यले पनि नेपाली काँग्रेसको संगठन गुटको धमिराले खाइराखेको र निष्‍ठाको राजनीति गर्नेहरूमाथि पैसा र बल प्रयोगको प्रहार भइरहेको गुनासो पोखेका छन् । राष्ट्रिय संकटको घडीमा पार्टी विचार शून्य बनेको र नीतिगत बहसमा चुकेको आचार्यको गुनासो छ । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप