शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओलीको चुनाव क्षेत्रमा राजेन्द्र लिङ्देनको दौडाहा

एमालेका ४ सय कार्यकर्ता राप्रपामा प्रवेश गरेको दाबी
सोमबार, ०५ पुस २०७८, १२ : ४४
सोमबार, ०५ पुस २०७८

नेपाली काँग्रेसको १४ औं महाधिवेशन उद्घाटन समारोहका दिन राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्ति र त्यसको प्रत्युत्तरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको चर्चा अझै सेलाएको छैन । उद्घाटन सत्रमा लिङ्देनले ‘नेतालाई गाउँघरमा चोर भनिने’ अभिव्यक्ति दिएपछि ओलीले लिङ्देनलाई ‘बाच्छो’ को संज्ञा दिएका थिए । ओलीले भनेका थिए, ‘ भर्खर–भर्खरको बाच्छो हिँड्न जान्दैन, अलिकति कुद्छ !’

लिङ्देन र ओली तिनै नेता हुन्, जसले यसअघि एकअर्काको सहयोगमा झापामा चुनाव जितेका थिए । अहिले ओलीले लिङ्देनलाई ‘बाच्छो’को संज्ञा दिएपछि अब उनीहरुको सम्बन्ध कस्तो होला र आगामी चुनावमा झापामा राप्रपा र एमालेको सहकार्य होला कि नहोला भन्ने चासो बढेको छ ।

यही चासो र चर्चाकै बीच राप्रपा अध्यक्ष लिङ्देन यतिबेला गृहजिल्ला झापा पुगेका छन् । शनिबार झापा पुगेका उनी ओलीको निर्वाचन क्षेत्रको दौडाहामा देखिएका छन् । लिङ्देन यो बीचमा दमक र गौरादह नगरपालिका तथा गौरीगञ्ज र कमल गाउँपालिकाका विभिन्न स्थानमा पार्टीको कार्यक्रममा सहभागी भए ।

यस क्रममा उनले ओलीकै निर्वाचन क्षेत्रका एमालेका ४०० बढी नेता– कार्यकर्तालाई राप्रपामा भित्र्याएका छन् । ओलीको ‘शब्द बाणलाई फिल्डबाटै जवाफ दिन’ लिङ्देन झापा आएको राप्रपाका एक नेताले बताए । यद्यपि लिङ्देनले ओलीविरुद्ध त्यस्तो कुनै कडा टिप्पणी भने गरेको अवस्था छैन ।

६ महिनाभित्र समान विचारधारा भएका पार्टी र संघसंगठनलाई एकता प्रक्रियामा सहभागी गराउने उद्घोष गरेका लिङ्देनले झापामा मूलतः संगठन सुदृढीकरण र ओलीको क्षेत्रमा आफ्नो प्रभाव देखाउन दौडधूप बढाएको राप्रपा नेताहरु बताउँछन् । ओलीको निर्वाचन क्षेत्र झापा ५ हो भने लिङ्देन ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए ।

राप्रपा गौरादह नगर कमिटी अध्यक्ष शान्तिराम पौडेलले झापामा पार्टी अध्यक्षको मंगलबारसम्म कार्यक्रम रहेको रातोपाटीलाई बताए । विशेषतः कार्यकर्ता भेला, पार्टी प्रवेश र सम्मान कार्यक्रममा लिङ्देनको सहभागिता भएको उनको भनाइ छ । गौरीगञ्ज, दमक, कमललगायतका स्थानमा कार्यक्रम गरिएको र जनसहभागिता उत्साहजनक रहेको उनको भनाइ छ । यो क्रम मंगलबारसम्म जारी रहने उनको भनाइ छ ।

ओलीको अभिव्यक्तिबाट राप्रपा कार्यकर्ता असन्तुष्ट

राप्रपा र एमालेबीच झापामा सहकार्य भए पनि ओलीले विगतलाई भुलेर राजेन्द्र लिङ्देनलाई ‘बाच्छो’ भन्नु गलत भएको झापाका राप्रपाका कार्यकर्ता बताउँछन् । पौडेलले पनि ओलीबाट जुन अभिव्यक्ति आयो, त्यो राजनीतिक नभएको प्रतिक्रिया दिए । उनले भने, ‘एमालेजस्तो राष्ट्रिय पार्टी हुन नसकेता पनि आम रुपमा हाम्रो पनि ७७ जिल्लामा संगठन छ । यति तल पारेर भन्न हुन्थेन कि भन्ने हो । दिल्लीमा विगतमा एक सिट पनि नजितेको आम आद्मी पार्टीले अहिले बहुमत ल्याएर शासन गरिरहेको अवस्था छ । कुनै बेला नरेन्द्र मोदीको भाजपा पनि कमजोर थियो । अहिले कमजोर रहेको राप्रपा पनि भोलि एक सिटमात्रै जितेर बसिरन्छ भन्ने छैन ।’

झापाको मतदाताको सन्तुलन नै विशिष्ट भएकाले एकापसमा सम्झौता गर्नुपर्ने अवस्था रहेको स्थानीय नेताहरु बताउँछन् । ०६४ को चुनावमा बहुमत नजिक ल्याएको माओवादी ०७० मा आइपुग्दा तेसो पार्टी बनेको दृष्टान्त प्रस्तुत गर्दै उनले राप्रपालाई पनि सही दिशा दिन सकिने र कसैले पनि कसैलाई होच्याइनु ठीक नहुने पौडेलले बताए ।

यद्यपि ओलीको अभिव्यक्तिकै कारणले झापामा एमाले–राप्रपाबीचको सहकार्यमा असर पुग्छ भनेर भनिहाल्न भने नमिल्ने उनको तर्क छ । ‘राजनीतिमा शत्रु र मित्र भन्ने कुरा त हुँदो रहेनछ’, पौडेलले भने, ‘आउने स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा कोसँग अलाइन्स हुन्छ भन्न त सकिँदैन । तर, यही अभिव्यक्तिले एमालेसँग सहकार्य गर्न असर पुग्छ भन्ने छैन ।’

यस्तो छ झापामा ओली–लिङ्देनको हिसाब–किताब

०७४ को चुनावमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन ४४ हजार ६१४ मतका साथ झापा क्षेत्र नम्बर ३ बाट विजयी बनेका थिए । उनले एमालेकै सहयोगका काँग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौलालाई पराजित गरेका थिए । पराजित सिटौलाले ३१ हजार १७१ मत पाएका थिए । जहाँ एमालेको समानुपातिक मत १९ हजार ८२९ थियो भने राप्रपाले चाहिँ समानुपातिकतर्फ १६ हजार १६८ पाएको थियो ।  यसरी हेर्दा एमालेका करिब १९ हजार मतदाताले लिङ्देनलाई मतदान गरेका थिए ।  

यसैगरी झापा क्षेत्र नम्बर ५ बाट चुनाव जितेका ओलीले ५७ हजार १३९ मत पाएपनि त्यसमा राप्रपाको उल्लेख्य मत जोडिएको थियो । झापा ५ मा राप्रपाको समानुपातिकतर्फको मत ९ हजार ५९ थियो । यसरी हेर्दा राप्रपाका करिब ९ हजार कार्यकर्ताले केपी ओलीलाई मतदान गरेका थिए ।

त्यतिबेला तत्कालीन माओवादीसँग चुनावी तालमेल भएकाले ओलीले माओवादीको करिब ६ हजार भोट पनि पाएका थिए । यसरी हेर्दा झापामा लिङ्देन र ओलीलाई चुनाव जित्न एकअर्काको सहयोगले सहजता प्रदान गर्छ ।

शनिबार  बिर्तामोडमा आयोजित कार्यक्रममा लिङ्देनले राप्रपा सानो छाती भएको पार्टी नभएको बताएका थिए । यस्तै उनले आफ्नो ध्यान मूलतः संगठन सुदृढीकरण र हिन्दुराष्ट्र एवं राजसंस्थाको एजेण्डालाई सशक्त बनाएर लैजाने बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप