आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माबीच ‘आलोपालो’ को सहमति !

सोमबार, १२ पुस २०७८, १९ : १८
सोमबार, १२ पुस २०७८

नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मिलेर अघि बढ्ने सङ्केत देखाएका छन् । पुस १० गते बसेको केन्द्रीय समिति बैठकअघि थापा र शर्माबीच मिलेर अगाडि बढ्ने सहमति भएको हो ।

दुई महामन्त्रीमा थापाको वरियता अगाडि भए पनि केन्द्रीय समिति बैठकमा आलोपालो प्रस्ताव राख्ने सहमति भएको छ । विधानले महामन्त्रीलाई दिएका काम, कर्तव्य र अधिकारमा आलोपालो गरेर अघि बढ्न थापा र शर्मा राजी भएका छन् ।

नेपाली काँग्रेसको विधानले महामन्त्रीलाई १२ वटा काम, कर्तव्य र अधिकार तोकेको छ । त्यसमा मूलतः केन्द्रीय कार्यसमितिमा प्रस्ताव आलोपालो प्रस्तुत गर्ने दुई नेताबीच सहमति भएको हो । महासमिति, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिको निर्णय प्रमाणित गर्ने कुरामा पनि सोही सहमति लागु हुने नेताहरुले बताएका छन् । थापा र शर्माले दुईजना मिलेर जाने बताउँदै आएका छन् । महामन्त्रीमा निर्वाचित भएपछि थापासँग हल बाँधिएर काम गर्न तयार रहेको शर्माले बताएका थिए ।

‘महामन्त्रीमा दुईजना युवालाई निर्वाचित गरेर जे आकांक्षा देशले प्रकट गरेको छ, त्यसबमोजिम हामी दुईवटै युवाले देशले एउटा हल बाँधिएर जोडी बाँधिएर काम गरून् भन्ने अपेक्षा राखेको छ, त्यो अपेक्षा हामी पूरा गर्छौँ,’ शर्माको भनाइ थियो ।

थापा र शर्माको सम्बन्ध

०५३ को स्ववियु निर्वाचनको माहौलमा थापा र शर्माबीच पहिलो भेट त्रिचन्द्र कलेजमा भएको थियो । त्यसको दुई वर्षपछि ०५५ सालमा त्रिचन्द्रमा स्ववियु सभापति बनाउन शर्माले नै थापालाई सहयोग गरेको काँग्रेस वृत्तमा चर्चा हुने गरेको छ ।

थापा र शर्मा २१ वर्षअघि पनि एउटै कमिटीमा रहेर काम गरेका नेताहरू हुन् । ०५७ मा शर्मा नेपाल विद्यार्थी सङ्घको अध्यक्ष हुँदा थापा उपाध्यक्ष थिए ।  शर्माले नेविसंघको इतिहासमा दुई वर्षको कार्यकालभित्रै अधिवेशन सम्पन्न गरेर गुरुराज घिमिरेलाई नेतृत्व सुम्पिएका थिए ।

शर्मा नेविसंघ राजनीतिबाट रिङआउट भए भने थापा घिमिरे नेतृत्वको कमिटीमा उपसभापतिबाट घटुवा भएर महामन्त्री बने । त्यसपछि थापा र शर्मा एउटै कमिटीमा बसेर काम गर्ने अवसर १५ वर्षसम्म जुरेन । तर, ०५९ मा काँग्रेस विभाजन हुँदा संस्थापन पक्षमै उभिएका थिए, थापा र शर्मा ।

पार्टी विभाजनका बीच भएको ११ औँ महाधिवेशनमा थापा र शर्माले केन्द्रीय समितिमा आउने जमर्को गरेनन् । ०६७ सालमा भएका १२ औँ महाधिवेशनमा थापाले सानेपा (केन्द्रीय सदस्य) ताके भने शर्माले झापा (जिल्ला सभापति) ।

थापा लोकप्रियमा एक नम्बर मत ल्याएर थापा केन्द्रीय सदस्य बन्दा शर्मा झापा जिल्ला सभापतिमा उपविजेता बने । यही विन्दुबाट पार्टी राजनीतिमा थापा शर्माभन्दा अगाडि लागे । तर, १३ औँ महाधिवेशनमा भने थापा र शर्माबीच केन्द्रीय कमिटीमा भेट भयो ।

थापा महामन्त्रीमा पराजित भएपछि मनोनीत भएर केन्द्रीय कमिटीमा आए भने शर्माले खुला केन्द्रीय सदस्यमा निर्वाचित भएर सानेपामा इन्ट्री मारेका थिए । करिब साढे पाँच वर्ष थापा र शर्मा पार्टीको केन्द्रीय कमिटीमा बसेर काम गरे । तर केन्द्रीय कमिटीमा थापाभन्दा ढिलो पुगे पनि प्रवक्ताको जिम्मेवारी पाएपछि शर्मा हाबी भएका थिए । सभापति शेरबहादुर देउवाले प्रवक्ताको आश्वासन थापालाई र जिम्मेवारी शर्मालाई दिएका थिए ।

फागुन ०७५ मा प्रवक्ता नियुक्त भएपछि पार्टीलाई चलायमान बनाउन शर्माले राम्रै भूमिका खेलेका थिए । १४ औँ महाधिवेशनबाट थापा र शर्मा समान हैसियतमा पुगेका छन् ।

थापा शर्माभन्दा छ वर्षले कान्छा भए पनि महामन्त्रीको वरियतामा अगाडि देखिएका छन् । २०३३ सालमा जन्मिएका थापा अहिले ४५ वर्षका भए  भने शर्मा यही पुसबाट ५१ वर्षको पुगेका छन् ।

नेपाली राजनीतिमा थापालाई एजेन्डाधारी र शर्मालाई संस्कारी नेताका रूपमा चिनिन्छ । आफ्नो अठोटमा मेहनतका साथ लाग्ने र कसैप्रति नकारात्मक भाव नराख्ने शर्माको राम्रो बानी छ ।

थापा र शर्मा कुनै वंश र विरासत नभई मिहिनेतबाट नै काँग्रेसमा स्थापित भएका  छन् । शर्माले राजनीतिक संस्कार सँगसँगै सांगठनिक क्षमता पनि उत्तिकै देखाउँदै आएका छन् । उनको यही क्षमताले पहिलो उम्मेदवारीमै महामन्त्री निर्वाचित हुन सफल भए । यता, प्रस्ट दृष्टिकोण, क्षमता र कार्यकर्ता तथा आम जनमानसमा रहेको लोकप्रियता दोस्रो पटक थापाको पक्षमा प्रकट भयो । खसेको मतको करिब ६५ प्रतिशत मत पाएर थापाले महामन्त्रीमा विजयी हासिल गरेका थिए । 

 

 प्रतिस्पर्धामा हार्दिकता

काँग्रेसको आगामी महाधिवेशनमा थापा र शर्माबीच प्रतिस्पर्धा हुने अहिले नै आंकलन गर्न थालिएको छ । योबीचमा पनि थापा र शर्माबीच प्रतिस्पर्धा देखिए पनि हार्दिकता पनि कम छैन ।

तीन वर्षअघि झापामा भएको एउटा कार्यक्रममा शर्माले थापालाई ‘भावी प्रधानमन्त्री’ भनेर परिचय गराएका थिए । ०७४ सालको संघीय संसद्को निर्वाचनमा शर्मा र थापाबीच एकअर्काको सकारात्मक पक्षबारे बोलेको भिडियोको ‘क्लिप’ सामाजिक सञ्जालमा आएकै थियो ।

१४ औँ महाधिवेशनमा थापा र शर्मा फरक फरक समूहबाट उम्मेदवार भए पनि काँग्रेस कार्यकर्ता र शुभेच्छुकहरूले दुवै जनालाई निर्वाचित गराउन आह्वान गरेका पाइन्थ्यो । महाधिवेशनमा मैदानमै प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा एक जना मात्र उम्मेदवार रहेका शर्माले एक मत आफूलाई र अर्को मत थापालाई दिने आग्रह गरेका थिए ।

काँग्रेसमा महामन्त्रीद्वय थापा र शर्मा चार वर्षे कार्यकालमा सहकार्य कस्तो रहला भन्ने आम चासो छ । महामन्त्रीद्वय थापा र शर्माबीच चार वर्षे कार्यकालमा यो सहमति कायम राखेर जान भने चुनौतीपूर्ण देखिन्छ । तर, १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा थापा र शर्माबीच बोली अनुसारको व्यवहार देखिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप