सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

अपराधको केन्द्र बन्दै काठमाडौँका गेष्ट हाउस

१० दिनमा सीसी क्यामरा राख्न प्रहरीको उर्दी
मङ्गलबार, २० पुस २०७८, ०७ : १५
मङ्गलबार, २० पुस २०७८

पुस १२ मा सुर्खेतबाट काठमाडौँ आएकी ३३ वर्षीया युवती मित्रनगरका ३ वटा गेष्ट हाउसमा बलात्कृत भइन् । विदेश जाने तयारीमा रहेका ९ जना किशोरले उनलाई बलात्कार गरेका थिए । 

प्रहरी स्रोतका अनुसार मुगुका युवराज बडुवालले ती युवतीलाई सुरुमा पूजा गेष्ट हाउसमा लगेका थिए । लगत्तै उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई पनि बोलाएर सामूहिक बलात्कार गरे ।

अर्को बिहान बसपार्ककै आयुष गेष्ट हाउस र पाँचथर सप्तकोशी गेष्ट हाउसमा लगेर उनलाई थप ७ जनाले बलात्कार गरेर फरार भए । बलात्कृत युवती अर्धचेत अवस्थामा महानगरीय प्रहरी प्रभाग बसपार्कमा गएपछि मात्र घटना बाहिरियो । 

प्रहरीले खोजी क्रम तीब्र बनायो । महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले घटनामा संलग्न मध्येका ६ जनालाई कलंकीस्थित न्यू गण्डकी गेष्ट हाउस एन्ड खाजा घरबाट गिरफ्तार गरेको थियो । अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘६ जना एकै ठाउँमा लुकेर बसेका रहेछन् ।’ 

बसपार्क घटनामा बलात्कार गर्न र बलात्कारपछि लुक्न आरोपीहरूले गेष्ट हाउस रोजेका थिए । यसरी काठमाडौँका गेष्ट हाउस अपराधको केन्द्र बन्न थालेका छन् । नयाँ बसपार्क, कोटेश्वर, सुन्धारा र कलंकीमा धेरै होटल तथा गेष्ट हाउस छन् । गोंगबु नयाँ बसपार्कस्थित मित्रनगर र त्यस आसपास मात्रै १ हजार भन्दा बढी होटल तथा गेष्ट हाउस छन् । ती गेष्ट हाउसमा बसेर आरोपीहरूले अपराध योजना बनाउने र अपराध गरेपछि लुक्ने आश्रय स्थल बनाउँदै आएका छन् । 

....

०७८ मंसिर १५ मा  काठमाडौंको कोटेश्वरस्थित सुब्बा गेष्ट हाउसमा १२ र १५ वर्षीया बालिका बलात्कृत भए । सो आरोपमा सप्तरीको साविक वनाहा घर भएका ४२ वर्षीय फटुली शाहलाई प्रहरीले गिरफ्तार गरी मुद्दा चलाएको थियो । हाल ती बालिकाद्वयलाई माइती नेपालको संरक्षणमा राखिएको छ । शाहले ‘पढाउँछु’ भनेर बालिकाहरुलाई मकवानपुरबाट फकाएर काठमाडौँ ल्याएर बलात्कार गरेका थिए । 

गेष्ट हाउस दुब्र्यवहारको थलो बन्दै गएपछि ग्राहकहरुको रेकर्ड आफ्नो ‘लगबुक’मा राखेको वा नराखेको बारे छानविन गर्न काठमाडौँ प्रहरीलाई निर्देशन दिएको महानगरीय प्रहरी कार्यालयका डिआईजी उत्तम सुवेदीले रातोपाटीलाई बताए । उनले भने, ‘बलात्कारजस्तो जघन्य अपराधमा गेष्ट हाउस सञ्चालकको पनि त्रुटी रहेछ भने उनीहरुलाई पनि प्रतिवादी बनाएर मुद्दा चलाउँछौं ।’ 

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले गेष्ट हाउसलाई ‘अपराध केन्द्र’बाट मुक्त गराउनेबारे सञ्चालकहरुसँग छलफल गर्दै आएको छ । तर, नियामक निकायले गेष्ट हाउसमाथि चुस्त मनिटरिङ गर्न सकेको छैन । प्रहरीको एक्लो प्रयासबाट मात्रै गेष्ट हाउसलाई नियमन गर्न नसकिने बताउँछन् डिआईजी सुवेदी । सुवेदीले  भने, ‘गेष्ट हाउसलाई नियमन गर्न स्थानीय निकाय पनि लाग्नुपर्छ, हामीले मात्र जोडबल गर्दा प्रहरीले दुःख दियो भनेर गुनासो पनि आउने गरेको छ ।’

बसपार्कस्थित नेपाली होटल व्यवसायी संघका अध्यक्ष उमेश मैनाली बन्द कोठामा बन्ने योजनाको बारेमा गेष्ट हाउस सञ्चालकलाई थाहा नहुने जिकिर गर्छन् । मैनालीले रातोपाटीसँग भने, ‘बसपार्क क्षेत्रमा संघले इन्ट्री पुस्तिका बनाएर वितरण गरेको छ । कसैले इन्ट्री नगरी कोठा दिएमा त्यो सञ्चालकको गल्ति हुन्छ ।’ बसपार्क क्षेत्रका गेष्ट हाउसमा हुने अवाञ्छित गतिविधि रोक्न प्रहरीसँग मिलेर साझा अभियान चलाउने गरेको मैनालीले जनाए । 

प्रहरीले भन्यो, ‘सीसी क्यामरा राख्नुस्’ 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी प्रमेश विष्टले शुक्रवार बसपार्क क्षेत्रका गेष्ट हाउस सञ्चालकहरुसँग छलफल गरेका छन् । छलफलपछि सो क्षेत्रमा सञ्चालित गेष्ट हाउसलाई रिसेप्सन र मुख्य गेटमा सीसी क्यामरा राख्न आग्रह गरिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी सुदिप गिरीले भने, ‘१० दिनको समय दिएर सीसी क्यामरा राख्न भनेका छौं ।’ 

नयाँ बसपार्कमा रहेका गेष्ट हाउसको निश्चित मापदण्ड नभएको एसएसपी गिरीले बताए । ‘प्रहरीले सवै कोठामा गएर हेर्न र चेकजाँच गरेर व्यक्तिगत अधिकार हनन गर्न मिल्दैन,’ परिसर काठमाडौँका एसएसपी गिरी भन्छन्,‘तर एउटा कोठामा एउटी महिलासँग ६ जना पुरुष जान्छन् भने त्यो कुरा गेष्ट हाउसले पनि बुझ्नुपर्छ ।’ 

प्रहरीसँगको छलफलपछि संघले पनि मूल गेट र रिसेप्सनमा सीसी क्यामरा राख्न व्यवसायीहरुलाई सुर्कलर जारी गरिसकेको नेपाली होटल व्यवसायी संघका अध्यक्ष उमेश मैनालीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप