सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

रानीवन आश्रममा किशोरीको मृत्यु प्रकरण : माता भन्छिन्–‘बचाउन खोजेको थिएँ’

‘टाउको दुख्यो’ भन्दा टाउकोमै माताको मुक्का
सोमबार, २६ पुस २०७८, २० : १७
सोमबार, २६ पुस २०७८

छोरीले बारम्बार ‘टाउको दुख्यो’ भनेपछि सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका घर भई भक्तपुर बस्ने राधिका श्रेष्ठले रोशनीलाई माताकहाँ देखाउने निधो गरिन् । १४ वर्षीया छोरी रोशनी श्रेष्ठलाई लिएर उनी पुस ३ मा नागार्जुन नगरपालिका–१ रानीवन, पानी ट्याङ्कीमा रहेको उमा शाही ठकुरीको आश्रममा पुगिन् ।

आफूलाई ‘माता’ दाबी गर्ने ठकुरीको आग्रह अनुसार छोरीलाई छाडेर राधिका भक्तपुरको बोडे स्थित डेरामा फर्किइन् । उनका पति यमलाल श्रेष्ठ मलेसियामा वैदेशिक रोजगारीमा छन् । पुस २४ मा बिहान ३ बजे राधिकालाई माताले फोन गरिन्–‘छोरीको अवस्था राम्रो छैन, तुरुन्त आउनु !’

हतार, हतार नागार्जुन पुग्दा छोरी बेहोस थिइन् । उमाले भनिन्–‘यिनको मुटुमा लगानको बाण लागेको छ ।’ छोरीलाई सीतापाइला कारखाना चोक स्थित मनमोहन मेमोरियल अस्पताल लगेर भर्ना गरिन् । बिहान ६ बजे चिकित्सकले मृत घोषण गरे ।

अस्पतालको सुविधा भएको राजधानीमा पनि माताको शरण पर्दा किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । झारफुक गर्ने उमा शाही ठकुरीलाई प्रहरीले पक्रेर थुनामा राखेको छ ।

अदालतबाट ज्यान सम्बन्धी कसुरमा ५ दिनको म्याद लिएर घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । महानगरीय प्रहरी वृत्त स्वयम्भूले ठकुरीसँग प्रारम्भिक बयान लिएको छ । प्रहरीसँग उनले भनेकी छिन्–‘मैले जानेको मन्त्रबाट झारफुक गरेकी हुँ, बालिकालाई बचाउन खोजेकी थिएँ ।’

टाउकोमा माताको मुक्का

उपचार गर्ने नाममा माताले त्रिशूलले घोचेको र टाउकोमा मुक्काले हिर्काएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । पुस २३ मा किशोरीले ‘टाउको खायो’ भनिन् । आश्रममा सहयोगी रहेकी सविना तामाङका अनुसार रोशनीले ‘मेरो टाउको खायो’ भनेपछि माताले मुक्काले टाउकोमा हिर्काएकी थिइन् । त्यसपछि उनले रोटी खाएकी थिइन् । साँझ ५ बजे किशोरी शौचालयमा लडिन् ।

स्वयम्भू प्रहरीले आश्रममा सहयोगीको काम गर्ने सविनालाई पनि बोलाएर सोधपुछ गरेको छ । प्रहरीलाई सविनाले भनेकी छिन्–‘लडेपछि म, निशा श्रेष्ठ र माताले उठाएर भित्र लगेका थियौँ, राति ३ बजे बेहोस भएपछि रोशनीको आमालाई खबर गरेका हौँ ।’

स्थानीयका अनुसार ठकुरीले झारफुक गर्दा त्रिशूल छुवाएर फुक्थिन् । आश्रमबाट प्रहरीले तामाको सानो र फलाको ठुलो त्रिशूल तथा झारफुक गर्ने कुचो बरामद गरेको छ ।

आश्रमका अर्का सहयोगी सुनसरी घर भएका मन बहादुर श्रेष्ठ ‘भूपाल’सँग पनि प्रहरीले सोधपुछ गरेको छ । सुरक्षा गार्डको जागिर खाँदै दुई वर्षदेखि ठकुरीको सहयोगीको भूमिका रहेका भूपालले त्यस दिन आफू ‘डिउटीमा हिँडिसकेको’ बताएका छन् ।

माता विरुद्ध मृतकको काका मान बहादुर श्रेष्ठले किटानी जाहेरी दिएका छन् । दोषीलाई कडा सजायको माग गर्दै मृतकका परिवारले शव बुझ्न इन्कार गरेका छन् । रोशनीको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । शव पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप