सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

३ जनाको हत्या गर्न १५ लाखको ‘डिल’

खाल्डो खन्ने र हत्या गर्नेलाई ४० हजार रुपैयाँ सुपारी
शनिबार, २२ माघ २०७८, १८ : २६
शनिबार, २२ माघ २०७८

मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको थाहा भएको छ । मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । उनको शव माघ २० मा भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।

३ जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो । उनीहरूलाई अमित शाहले जनही ४० हजार रुपैयाँ ‘सुपारी’ दिएका थिए । अनुसन्धानबाट ३ जनाले जनही ४० हजार लिएको खुलेको मोरङका एसपी जनार्दन जिसीले रातोपाटीलाई बताए । उनले भने–‘अनिल र अमित मुख्य मान्छे हुन्, अरूलाई जनही ४० हजार नेपाली रुपैयाँ दिएर प्रयोग गरेको देखिन्छ ।’  

अनिलको योजना सफल बनाउन हत्याको परिपञ्च मिलाउने र हत्या गर्ने मान्छे खोज्ने काम अमितले गरेका थिए । अमितले ४० हजार ‘सुपारी’ दिएर ३ जनासँग काम भएपछि १५ लाख रुपैयाँ दिने ‘डिल’ गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘१५ लाखमा डिल भएपछि सबैजना मिलेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘डिल अमितले गरेका थिए, हत्या गर्ने र खाल्डो खन्ने ३ जनाले अमितलाई मात्र चिन्छन्, अनिललाई चिन्दैनन् ।’ अहिलेसम्म खुलेका ५ जना आरोपीलाई पक्रेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।

१ करोड ६५ लाखको विवाद

शम्भु चौधरीले दाङको लमहीमा बन्दै गरेको सडकको ठेक्कामा पार्टनरसिप गरेका थिए । त्यसका लागी उनलाई ‘बैंक ग्यारेन्टी’ चाहिने भयो । सो कुरा राजेन्द्र र मोहनसँग उनले सेयर गरे ।

अनिल कुमार मण्डलसँग कुरा भएपछि उनले भरत खड्कासँग सम्पर्क गराए । ललितपुरमा खड्काको जग्गा थियो । जग्गा राखेर ‘बैंक ग्यारेन्टी’ बनाउन र बैंकबाट ऋण निकाल्न खड्काले ५५ करोड लिने सहमति भएको थियो ।

‘भरत खड्काले एक वर्षका लागि १८ प्रतिशत व्याजमा शम्भुसँग ५५ करोड लिने अनि, एक वर्षमा तिर्न नसकेमा जग्गा शम्भुको हुने सहमति भएको रहेछ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले रातोपाटीसँग भने–‘यहाँ शम्भु र भरत लिनेदिने हुन, अरू मध्यस्थकर्ता मात्र ।’ नेपाल बंगलादेश बैंकबाट सो काम गर्ने सहमति भएको थियो ।

सो काम गराएबापत भरत खड्काले अनिललाई ५५ करोडको ३ प्रतिशत ‘कमिसन दिन्छु’ भनेका थिए । ३ प्रतिशत आउँदा १ करोड ६५ लाख आउँथ्यो । अनिल कुमार मण्डलले ३ प्रतिशतको कुरा गरेपछि मोहनले शंका गर्न थाले । तेह्रथुम घर भएका ६२ वर्षीय मोहन प्रसाद लिम्बुको भनाइ थियो–‘कमिसन धेरै आउँछ, त्यति मात्र होइन ।’ त्यसपछि मोहनले भरतलाई भेट्न खोजे । मोहन अघि बढ्न खोजेपछि अनिलले योजना बनाएर सबैभन्दा पहिले उनको इहलीला समाप्त गरिदिए ।

विराटनगरमा सँगै गएर राजेन्द्रको हत्या गरे । त्यति बेलासम्म शम्भु चौधरी भन्दै थिए–‘मोहन दाइ आउनुहुन्छ त्यसपछि कमिसनको कुरा टुङ्ग्याउँला, उहाँबिना म सम्झौता गर्दिनँ ।’ तर, उनलाई थाहा थिएन मङ्सिर २८ मा नै ‘मोहन दाइ’को हत्या गरेको कुरा । मोहन बिना ‘सम्झौता गर्दिनँ’ भन्न थालेपछि अनिल र अमितले शम्भुलाई पनि किनारा लगाए । मोरङका एसपी जनार्दन जिसी  भन्छन्–‘मण्डलले सो जग्गा ‘बरु अर्कोलाई किनाउँछु’ भनेर अन्तिममा शम्भुको हत्या गरेको देखिन्छ ।’ 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप