शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : बन्दुक र रातो गुराँस

सोमबार, ०२ फागुन २०७८, १२ : १०
सोमबार, ०२ फागुन २०७८

प्रिय !
मेरो प्यारो मान्छे 
प्रत्येक बर्ष आउँछ १४ फेब्रुअरी 
र त्यहीबेला आउँछ फागुन १ 
म एकै पटक सम्झन्छु त्यो जंगलको गुराँस
र तिमीसँगको प्रणय 
हामीले भिरेको बन्दुक 
र देश प्रतिको प्रेम 

म सम्झन्छु,
जंगलमा  हिँड्दाका थकित दिनहरू 
भोक, तिर्खा र  मारिने डर 
त्यतिखेरै सम्झन्छु 
तिम्रो प्रेमपूर्ण नजर 

मेरा दुइ सपना 
मेरो देशको मुक्ति 
र मेरो प्रेमको सफलता 
म सँग हुन्थे एक रातो गुराँस र एक बन्दुक 

१६ बर्षमा टेकेकी थिएँ 
१० कक्षामा पढ्दै गरेकी थिएँ 
मेरी आमाको न्यानो काख र 
मेरो प्यारो स्कुल छोडेर
युद्धमा होमिएकी थिएँ 
मेरो भोक मेरो इच्छा, 
मेरो परिवार, मेरो शिक्षा 
भन्दा ठूलो मेरो देशको मुक्ति 
मैले नगरे कसले गर्छ ?
मैले नलडे कसले लड्छ ?
मैले यही सिकेकी थिएँ 

चार वर्षपछि तिमीलाई भेटेकी थिएँ 
घोप्टे भिरमा भाग्दा भाग्दै 
जब चिप्लियो मेरो खुट्टा 
तिमीले मलाई अचानक 
अंगालेर उडेका थियौ 
मैले मेरो झरिसकेको जिन्दगी 
र, तिम्रो अँगालो  पाएकी थिएँ 
बन्दुक भिरेरै 
मनमा रातो गुराँस फुलाएकी थिएँ 

मेरो प्यारो मान्छे 
मेरो कमरेड 
अहिले त बुझाईसकें बन्दुक 
र, त्यसप्रतिको आस्था  पनि 
अहिले त बुझाईसकें बन्दुक 
र, पुरानो सपना पनि  

अहिले फर्केर आएको छ भोक 
र, म खोजिरहेछु एउटा रोजगार 
मलाई चाहिएको छ  
सीप र ज्ञान 
पल्टाई रहेछु खोजेर 
उ बेला आफैले फालेका 
पुरानै पाठ्यपुस्तकहरु 

तिमी मेरो अगाडि भएको भए 
के भन्थ्यौ कुन्नि 
कमरेडहरु पनि 
पुरानै स्कुल गैरहेछन् 
पुरानै डिग्रीमा गौरव गरिरहेछन् 
पुरानै सिंहदरबार मर्मत गरिरहेछन् 

म 
सिंहदरबारको गेट अगाडि 
भारतीय मेवा र चाइनिज स्याउ बेचेर 
गुजारा  गरिरहेछु 
मलाई थाहा थिएन  
युद्ध र प्रणय दिवस 
सँग सँगै आउँदो रहेछ 
म सम्झिरहेछु उही गुराँस उही  बन्दुक 
मेरो प्यारो मान्छे 
म तिमीलाई सम्झिरहेछु ।
 

चश्मा र आँखाको वार्ता कविता संग्रहबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

स्नेह सायमि
स्नेह सायमि
लेखकबाट थप