बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न : १८ वर्षीय किशोर पासपोर्ट र टिकट बिनै कसरी पुगे विमानमा ?

पेरिमिटर सुरक्षाको जिम्मा लिएको सेनाले कमजोरी गरेको आरोप
बुधबार, ११ फागुन २०७८, १२ : ३२
बुधबार, ११ फागुन २०७८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको विमानमा फागुन ९ मा एक जना युवक भेटिए । युवकसँग कतार उड्ने न टिकट थियो न त भिसा लागेको पासपोर्ट नै । राति १० बजेर ४५ मिनेटमा नेपाल वायुसेवा निगमको वाइडबडी विमानमा कर्मचारीले चेकजाँच गर्दा कागजात नभेटिएपछि उनलाई विमानबाट झारियो । उनी थिए, रौतहट घर भएका १८ वर्षीय हस्पम आलम ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कडा सुरक्षा घेरा पार गरेर उनी कसरी विमानको बिजनेस क्लास सम्म पुगे ? सो घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयको कमाण्ड अहिले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले समालेका छन् । विमानस्थलको मूल गेटबाट जानेहरूलाई एसएसपी ढकालले पासपोर्ट र प्रिन्ट गरेको टिकट देखाउनुपर्ने नियम बनाएका छन् । तर, चोरबाटो प्रयोग गर्नेहरू निर्बाध जहाजसम्म पुग्छन् ।

पासपोर्ट र टिकट बिना नै बिजनेस क्लासको सिटमा गएर बसेका आलम १ महिना अघि पनि त्यसै गरी विमानमा पुगेका थिए । तर, प्रहरीले सो समस्या समाधानमा ध्यान नदिँदा उनी दोस्रो पटक विमानसम्म पुगेका छन् । विमानका कर्मचारीले थाहा नपाएको भए आलम पक्कै दोहा पुग्ने थिए ।

आलम कोटेश्वर तर्फबाट विमानस्थलको पेरिमिटर नाघेर जहाजमा पुगेको विमानस्थलका एसएसपी भीम प्रसाद ढकालले बताए । उनले भने–‘उता बारहरूबाट गएको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।’​ हस्पमलाई अहिले महानगरीय प्रहरी वृत्त गौशालामा राखिएको छ । उनको मानसिक सन्तुलन ठिक नभएको प्रहरीको भनाई छ । विमानस्थलको आगमन र प्रस्थान कक्षको सुरक्षा जाँचमा प्रहरी खटिएको हुन्छ । तर, विमानस्थलको पेरिमिटर सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको छ । सैनिकको कमजोरीका कारण आलम कोटेश्वरतर्फबाट हिँडेर विमानसम्म पुगेको विमानस्थलमा कार्यरत एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप