आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय

बालकोट वार्ताको भित्रीकथा : प्रचण्डलाई शनिबार तीन बजेको ‘डेडलाइन’

शुक्रबार, १३ फागुन २०७८, २३ : ४३
शुक्रबार, १३ फागुन २०७८

सत्तासीन नेपाली काँग्रेसले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेको साथ खोजेको छ । फागुन १६ गते एमसीसी पास गर्ने तयारीमा जुटेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई साथमै उभ्याउने भगीरथ प्रयास गरिरहेका छन् ।

सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यको हात अगाडि बढाएका हुन् । देउवाले पुस २४ गतेदेखि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग संवाद सुरु गरे पनि परिणाम निस्किन सकेको छैन ।

यस​बीच प्रधानमन्त्री देउवाले तीन पटक ओली निवास बालकोट गएर छलफल गरेका थिए । एकपटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित ओलीसँग बालुवाटारमा छलफल पनि गरे । तर, एमसीसीबारे सत्ता गठबन्धन र एमालेको साथ जुटाउन देउवा अहिलेसम्म असमर्थ छन् ।

बिहीबार दिउँसो संसद भवनमा ओलीसहित एमालेका नेतासँग संवाद गरेमा देउवाले सोही साँझ पुनः संवाद गरेका थिए । शुक्रबार माधव नेपाल र प्रचण्डसँगको छलफलपछि काँग्रेसका नेताहरुसँग आन्तरिक संवाद गरेका देउवा साँझ ओली निवास बालकोट पुगेका थिए । काँग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीलाई साथमा लिएर देउवाले ओलीसँग करिब २ घण्टा संवाद गरेका थिए ।

ओलीसँगको छलफलको सुरुमा प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपाल एमसीसी पास गर्न अलिकति सकारात्मक कुरा गरेको सुनाए । प्रचण्ड र माधव नेपालले भोट हालेर एमसीसी हुने भए आफूलाई कुनै आपत्ति नभएको जवाफ दिए । ओलीले भने, ‘हामी त एमसीसी पास नै होस् भन्न चाहन्छौं । तर हाम्रो माग पूरा नभई हामी त भाग लिग पाउँदैनौँ । हामीलाई संसद प्रवेशमा सभामुखले  रोक्नुभएको छ ।’

कुराकानी हुँदै जाँदा ओलीले प्रचण्डको विश्वास भने गरि नहाल्न सुझाएका थिए । ‘तपाईले एमसीसीको पक्षमा मत हाल्छ भनेर पत्याउनु भएको छ ? भोलि कुरा फेर्नुहुन्छ,’ ओलीले भने ।

प्रधानमन्त्री देउवालाई पनि प्रचण्डले भोलि कुरा फेर्छन् कि भन्ने आशंका रहेको जवाफ फर्काए । ‘मलाई पनि छ त्यो आशंका । त्यसैले त तपाईं सहयोग गर्नुस् न त । तपाईं र हामी मिलौँ, एमसीसी पास गरौं । किन यसमा अल्मलिइराख्ने ?,’ देउवाले ओलीलाई भने ।

त्यसका लागि काँग्रेसले वातावरण बनाए आफू तयार रहेको ओलीको भनाइ थियो । त्यसपछि सभामुख अग्नि सापकोटाको राजीनामा र १४ सांसदको कारबाहीका विषयमा लामो छलफल भयो ।

एमाले नेताहरुले यी दुई विषयमा एमसीसी पास नहुनु पूर्व छिनोफानो हुनुपर्नेमा जोड दिए । तर, ओलीले सभामुख नहटाइ एमसीसीमा एमालेले भाग लिन नसक्ने अडान राखे । काँग्रेस नेताहरुले भने फागुन १६ गतेभित्र एमसीसी पास गर्नुपर्ने भन्दै यी विषयमा त्यसपछि जान सकिने बताए ।

‘सभामुख हटाउन संख्या पुग्यो भने हामीलाई त्यसका लागि पनि १५–२० दिन समय लाग्छ । एमसीसी पास गर्न दुई दिन बाँकी छ,’ देउवाले बैठकमा भने, ‘आइतबार एमसीसीको पक्षमा मत दिनुस् । त्यसपछि  कहाँ के गरेर जानुपर्छ, म सबै कुराका लागि तयार छु ।’

आइतबार एमसीसीमा साथ दिए एमालेसँग बाँकी जे जे डिल हुन्छ, पूरा गरौंला भन्ने काँग्रेसको चाहना छ । काँग्रेसका एक नेताले रातोपाटीसँग भने, ‘आइतबार संसदमा आएर एमालेले एमसीसीको पक्षमा भोट हालिदियोस् । एमसीसी पास होस् । संसद चलोस् । त्यसपछि एमालेले बाँकी जे जे डिल हुन्छ, पूरा गरौंला भन्ने काँग्रेसको चाहना छ ।’

एमालेले भने सभामुख हटाउने कुरालाई बटमलाइन बनाइरहेको छ । त्यसैले ओली र देउवाको छलफल टुंगोमा पुग्न  यी कुरामा रोकिएको एक नेताले बताए । अहिलेसम्म छलफलको प्रकृति हेर्दा दुवै पक्षले एक अर्कालाई नाप्ने र जाँच्ने काम गरिरहेको देखिन्छ ।

बैठकपछि सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने काँग्रेस र एमाले एक ठाउँमा रहनुपर्नेमा ओलीले जोड दिएको बताएका थिए ।

‘समुन्नत लोकतन्त्रलाई अगाडि बढाउने हो भने वृहत छलफल जरुरी छ । हाम्रो भेटघाटको क्रम जारी रहन्छ,’ उनले भने । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाले अलिकति फराकिलो ढंगले लोकतन्त्रका लागि लडेका शक्ति मिल्नुपर्ने संकेत गरेको बताए ।

काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । ‘आज ठोस प्रस्ताव आएन, अर्को बैठकमा आउँछ कि ?’ ज्ञवालीले भने ।

प्रचण्डलाई शनिबार तीन बजेको डेडलाइन

एमालेसँगको छलफलपछि काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको डेडलाइन दिएको छ ।

काँग्रेसका एक नेताले भने, ‘भोलि तीन बजेसम्म प्रचण्डले पार्टीमा बैठक गराएर एमसीसी पास गर्ने ठाउँमा पुग्नुभयो भने गठबन्धन जोगिन्छ । किनभने प्रचण्ड युर्टन गर्न माहिर हुनुहुन्छ । उहाँले युर्टन गर्नुभयो भने गठबन्धनको बाटोबाट अगाडि जान्छ ।’

त्यसैका लागि शनिबार अपरान्ह तीन—चार बजेपछि मात्र एमालेसँग काँग्रेसले छलफलको समय राखेको छ । ती नेताले भने, ‘त्यो बेलासम्म एमसीसीमा म भोट हाल्छु भनेर प्रचण्डसँग सहमति भइसक्नुपर्यो । त्यो भएन भने काँग्रेस र एमालेबीच भोलि नै नयाँ घटनाक्रमको विकास हुन्छ ।’

ती नेताका अनुसार शनिबार प्रचण्डले एमसीसी पक्षमा भोट हाल्ने ठाउँमा नपुगे काँग्रेस र एमालेले कुनै हालतमा उपाय निकाल्ने छन् । त्यसका लागि शनिबार अपरान्ह ओली निवास बालकोटमै छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप