शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पदाधिकारी चयनमा लफडा भएपछि माओवादीको केन्द्रीय समिति बैठक स्थगित

आइतबार, २२ फागुन २०७८, १२ : ५१
आइतबार, २२ फागुन २०७८

नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । आइतबार दिउँसो २ बजेका लागि बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भनिएको केन्द्रीय समिति बैठक अन्ततः स्थगित गरिएको हो । बैठकको तयारी नपुगेको तथा नेताहरुबीच आन्तरिक तयारी गर्नुपर्ने भएपनि बैठक स्थगित गरिएको एक नेताले बताए । 

आजै बिहान ११ बजे राष्ट्रियसभा गृहमा बस्ने भनिएको बैठक दिउँसो २ बजेका लागि स्थान नै परिवर्तन गरेर तय गरिएकामा फेरि सोमबारसम्मका लागि स्थगित गरिएको हो । अर्को बैठक अब सोमबार बिहान ११ बजे बस्ने तय भएको ती नेताको भनाइ छ । 

शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा पहिलो दिन अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । सो क्रममा एमसीसी पास गराउन पार्टीले गरेको सहयोगको श्रेष्ठले आलोचना गरेका थिए भने प्रचण्डले बचाउ गरेका थिए । 

आजको बैठकमा सांगठनिक विषयमा छलफल हुने कार्यसूची रहेको थियो । जसमा केन्द्रीय कमिटीको पूर्णता दिने, पदाधिकारी चयन, स्थायी र पोलिटब्युरो गठन गर्ने रहेको छ । 

तर, पदाधिकारी चयनका सम्बन्धमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक नै स्थगित भएको बताइएको छ । पदाधिकारीमा त्यसमा पनि महासचिवमा माओवादीभित्र हानथाप छ । तर आन्तरिक समीकरण मिलाउन नसक्दा माओवादीभित्र पदाधिकारी चयनमा सकस देखिएको छ । माओवादीको महासचिवमा वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत, देव गुरुङ, पम्फा भुसाललगायतको दाबेदारी छ ।

माओवादी केन्द्रको पदाधिकारीमा एकजना अध्यक्ष, एकजना वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुईजना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान छ । तर अहिले अन्य पदभन्दा पनि सो पार्टीमा महासचिव को बन्ने भन्नेमै सबैको चासो देखिएको हो । 

यस्तै नारायणकाजी श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा बस्ने चाहना राखेको बुझिएको छ । हुन त वरिष्ठ उपाध्यक्ष पद कृष्णबहादुर महरालाई पनि चाहिएको छ तर प्रचण्डलाई लागि महराको व्यवस्थापन गर्न कुनै समस्या नरहेको ती नेताको बुझाइ छ । महासचिवमा विशेषगरी जनार्दन शर्मा र वर्षमान पुनले सहमतिमै महासचिव पाउनु पर्ने दावी गर्दै आएका छन् । यदि सहमतिमा नभए प्रतिस्पर्धा गर्न पनि तयार रहेको उनीहरु दुवैले बताउँदै आएका छन् ।

यस्तै केन्द्रीय कमिटीलाई पूर्णता दिन, पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा पनि आकांक्षी धेरै हुँदा व्यवस्थापनमा चुनौति देखिएको नेताहरुले बताएका छन् । माओवादीको गत माघमा सम्पन्न महाधिवेशनले नेतृत्व चयनका साथै अपूर्ण केन्द्रीय कमिटी घोषणा गरेपनि अरु कमिटी गठन गर्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप