शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

धनुषा काँग्रेस मतगणना सुरु, सभापतिमा सन्तोषलाई पछ्याउँदै योगेन्द्र

मङ्गलबार, २४ फागुन २०७८, १६ : २२
मङ्गलबार, २४ फागुन २०७८

नेपाली काँग्रेस धनुषाको १४ औँ जिल्ला अधिवेशनको मतगणना सुरु भएको छ । निर्वाचन समिति धनुषाले सबै पक्षसँगको छलफलबाट निर्धारण गरिएको मापदण्ड अनुसार मतगणना सुरु भएको हो ।

धनुषा काँग्रेसको सभापति पदमा तीन जना मध्ये दुई जनाको कडा प्रतिस्पर्धा चलिरहेको छ ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म सन्तोष यादवले २१५, योगेन्द्र पजियार १९४ र दिनेशप्रसाद यादव प्रसैलाले ५९ मत प्राप्त गरेका छन् । धनुषाको क्षेत्र नम्बर ४ को मतपेटिकाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृत अरुण ज्ञवालीले जानकारी दिए ।

ज्ञवालीका अनुसार निर्वाचन क्षेत्र नम्बर ४ कुल खसेको मत ६९१ मध्ये ३०२ मतगणना भएको छ । जसमध्ये ३४ मत बदर भएको जनाइएको छ । सोमबार राति सम्पन्न मतदानको  मतगणना राति गर्ने भनिएपनि आन्तरिक समस्याका कारण मंगलबार दिउँसोबाट सुरु भएको हो ।  

जनकपुरधामको ऐतिहासिक तिरहुतिया गाछीमा सोमबार बिहान ११ बजेदेखि सुरू भएको मतदानमा २ हजार ९१२ जनाले मतदान गरेका थिए । धनुषा काँग्रेसका ३ हजार १७३ मतदाता छन् ।

धनुषा काँग्रेसको सभापतिमा ३, दुई उपसभापतिका लागि ६, दुई सचिवका लागि ९ र दुई जना सहसचिवका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । धनुषाको क्षेत्र नम्बर १ मा ८०१ मत मध्ये ७५३ मत, क्षेत्र नम्बर २ मा ८३० मध्ये कुल ८०० मत, क्षेत्र नम्बर ३ मा ७१० मध्ये ६६८ र क्षेत्र नम्बर ४ मा ७०९ मध्ये ६९१ मतदान भएको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनमा ५१ प्रतिशत मत ल्याउने उम्मेदवारले चुनाव जित्ने काँग्रेसको विधानमा व्यवस्था गरिएको छ । ५१ प्रतिशतभन्दा कम मत ल्याएमा अथवा बराबर मत ल्याएमा दोस्रो पटक निर्वाचन हुने छ ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप