आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

संघर्षशील महिलाहरूको उद्यमी सपना

मङ्गलबार, २४ फागुन २०७८, १६ : २४
मङ्गलबार, २४ फागुन २०७८

आज ११२औं अन्तर्राष्ट्रिय नारी दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जर्मनीकी क्लारा जेट्किनले सन् १९१० मा मार्च ८ लाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग जोडेर यो दिवस मनाउने गरेका छन् । समान श्रममा समान पारिश्रमिकको मागसहित सुरु भएको यो आन्दोलनले विशेष गरी नारीको आर्थिक आत्मनिर्भतालाई जोड दिएको छ । नारीहरु आफै सक्षम बन्नुपर्छ भन्ने यो आन्दोलनको मुख्य उद्देश्य हो । यसै सन्दर्भमा रातोपाटीले केही आत्मनिर्भर महिला उद्यमीसँग कुराकानी गरेको छ ।

रोशनी ऐर

धनगढीकी रोशनी ऐर (२८) बुटिक सुरु गरेको करिब वर्ष दिन भयो । उनी बुद्वनगरस्थित ‘क्वीन अफ फेसन’ बुटिक सञ्चालक हुन् । नामक बुटिक समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् उनले । ९ वर्ष एक निजी संस्थामा काम गरेपछि उनलाई काम सानो भएपनि आफ्नै गर्नुपर्छ भन्ने लाग्यो । अरुको मातहतमा काम गर्नुपर्ने, परेको बेला बिदा नपाइने परीक्षाको बेला पनि बिदा नपाइने, केही ढिला भए गाली खानुपर्ने हुँदा उनलाई अर्र्काको अफिसमा लामो समय काम गर्न नहुने महसुस भयो ।

बुटिक व्यवसाय उनले १ लाख रुपैयाँबाट सुरु गरेकी हुन् । आफ्नै केही गर्नुपर्छ भनेर भाइले पनि हौसला  र सहयोग गरिराख्ने हुँदा व्यवसाय गर्न सहज भएको पनि उनी बताउँछिन् । व्यवसाय सुरु गरेको लामो समय नभएपनि, हालसम्म गरेको जति कामबाट सन्तुष्ट भएको उनी बताउँछिन् । १७ वर्षमै प्रेम विवाह गरेकी उनले पैसाको अभावमा घरपरिवारबाट धेरै कुरा सुन्नु परेको ग्लानी छ ।

साथमा पैसा नहुने मान्छे कमजोर हुन्छ । कतिपय अवस्थामा आफू गलत नहुँदा पनि चुप लागेर बस्नुपर्छ । जब मैले आफैले कमाउन थाले, तब सबै काम व्यवहार कसरी गर्ने भनेर परिवारका सदस्यले सोध्नु हुन्छ । त्यसैले मैले हरेक नारीलाई आफै उद्यमी बन्न आग्रह गर्छु ।

लक्ष्मी कार्की

सिन्धुपाञ्चोक स्थायी घर भएकी लक्ष्मी कार्की (३५) काठमाडांै आएको १४ वर्ष भयो । उनी काठमाडौं शङ्खमुलमा एक ठेलामा मकै पोलेर आफ्नो गुजारा गरेकी छन् । उनका ३ जना छोरी छन् । उनले काठमाडौं आएर ठेलामा मकै पोल्न थालेको ५ वर्ष पुग्यो । दैनिक ४० देखि ५० वटा मकै बिक्री हुने उनी बताउछिन् । काँचो मकै १५ रुपैयाँ किन्छौ र पोलेर २० देखि ३० रुपैयाँमा बिक्री गर्छौ । मकै पोलेर दैनिक ५ देखि ७ सयसम्म कमाइ हुने गरेको छ । यसरी महिनामा करिब १५ देखि १८ हजारसम्म कमाइ गर्ने उनी बताउछिन् । श्रीमान्ले कन्स्ट्रक्सनतिर लबेरको काम गर्ने र आफ्नो कमाइले घर खर्च र छोराछोरीको पढाइलेखाइ जेनतेन धानेको उनी बताउँछिन् ।

नारी दिवसको दिन साथीहरुले माइतीघर मण्डला जाऊँ भनेका छन् । अब काम छोडेर म त्यता नारा लगाउन जान्न । नारी बलियो हुनको लागि सबैभन्दा पहिले उसले पढ्नुपर्ने लक्ष्मीको अनुभूति छ । पढेलेखेका महिलाहरुले पुरुषसरह काम गरिरहेका छन् । आफै पैसा कमाउने महिलाहरुलाई कसैले हेप्न सक्दैन । आफूले पढ्न नपाएकाले मकै पोल्ने काम गर्नु परेकोमा उनलाई दुःख लाग्छ । मकै पोल्ने भनेर हेला गर्छन्, म पढेको भए बैंकमा जागिर खान्थे होला । त्यहाँ सफा सुग्घर हुन्छ, एसीमा टक्क कुर्सीमा बसेर काम गर्न पाइन्छ । आफिसमा जागिरे भएको भए छुट्टै इज्जत हुने थियो । जति दुःख भएपनि अबका आफ्ना मात्र होइन, कसैका छोरीहरुले पढ्न अल्छी नगरुन् भन्ने लक्ष्मीको आग्रह छ ।

यमुना शिवाकोटी

काभ्रेकी यमुना शिवाकोटी (२२)  तरकारी पसलमा व्यस्त रहन्छिन् । शङ्खमुल तरकारी बजारमा उनको सानोे तरकारी पसल छ ।  ५ जनाको परिवारमा बुवा र दाइले गाडी चालकको काम गर्छन् । आमा, दिदीसँग यमुना तरकारी व्यापारमा खट्छिन् । बिहानै ४ बजे कालीमाटी पुगेर तरकारी किनेर साढे ५ सम्म उनी पसल आइपुग्छिन् । पालै–पालो गरेर पसलमा बेलुका ९ बजेसम्म बस्नुपर्ने हुन्छ । आमा बुवाले पहिले ठेलागाडाबाट तरकारी पसल गर्दै आएकोमा पछि पसल थापे । आफू कलेज जाँदा पसल हेर्न नभ्याइने, व्यापारमा नोक्सान हुँदा आफू कलेज छाडेरै पसलमा बसेको उनी बताउँछिन् । जति पढेपनि अन्तिममा उद्वेश्य भनेको पैसा कमाउनु नै रहेछ भन्ने यमुनाको बुझाई छ । उनको सम्झना अनुसार १० हजारबाट पसल सुरु गरे । आफ्नो व्यवसायबाट अत्यन्त सन्तुष्ट रहेको उनी भन्छिन्, ‘भाडा, घरखर्च सबै कटाएर महिनाको ३० देखि ४० हजारसम्म बचत हुन्छ ।’

नारी र पुरुषबीच समाजमा धेरै नै विभेद रहेको यमुनाको बुझाइ छ । अशिक्षित त यसै भैहाल्यो, पढेलेखेकाहरुले पनि समाजमा महिलालाई हेला गरेको उनको अनुभव छ । पढेको ज्ञानी होलान् भन्यो, उस्तै छन् । त्यही भएर पनि पढाइले सबै परिवर्तन हुन्छ भन्ने यमुनालाई लाग्दो रहेनछ । आर्थिक आत्मनिर्भरता सबैभन्दा महत्वपूर्ण रहेकाले आफू सानै उमेरबाट व्यवसायमा लागिपरेको उनी सन्टुष्ट भावमा सुनाउँछिन् ।

बिनु धिमाल

झापाकी बिनु धिमाल टेलर व्यवसायी हुन् । नयाँ बानेश्वरमा उनले बिनु टेलर सञ्चालन गरेकी छन् । उनले यो पेशा गर्न थालेको १० वर्ष भयो ।  केही वर्ष अर्काको टेलरमा काम गरेकी उनले पछि करिब २ लाखको लगानीबाट आफ्नै टेलर खोलिन् । एक जोड कुर्था सिलाएको ४ सय रुपैयाँ ज्याला लिने उनी दिनमा ३ जोडसम्म कुर्था सिलाउँछिन् । एसएलसी गरेकी उनको सिकाइमा सानैदेखि रुचि थियो । पढ्न पाएको भए अहिले  डिजाइनर बन्ने निकै इच्छा रहेको भन्छिन् । काठमाडौंमा धेरैले डिजाइनरले बनाएको लुगा लगाउने चलन आएको छ । त्यसमा राम्रो पैसा कमाउन सकिने उनले सुनेकी छिन् । पढ्दै गरेका केटाकेटीलाई उनले डिजाइनिङ पढ्न आग्रह गर्छिन् । पुरुषले सरह वातावरण पाउने हो भने नारीहरुले धेरै काम गर्न सक्ने उनी बताउँछिन् । नारी र पुरुष बराबर भन्ने नारामा मात्र सीमित भएको उनको बुझाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सीता न्यौपाने
सीता न्यौपाने
लेखकबाट थप