बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

लागुऔषध कारोबारीविरुद्ध प्रहरी आक्रामक, दुई दिनमा २१ जना सार्वजनिक

आइतबार, २९ फागुन २०७८, १८ : ३६
आइतबार, २९ फागुन २०७८

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले लागुऔषध कारोबारीमाथि धरपकड तीव्र बनाएको छ । ब्यूरोले दुई दिनको अन्तरालमा मात्र २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्यूरोका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठका अनुसार पछिल्लो समय ब्यूरोले कारोबारीको जालोसम्म पुगेर पक्राउ गर्न थालेको बताएका छन् । पक्राउ परेका व्यक्तिको सम्पर्क सूत्र खोज्दै जाँदा दुई दिनको फरकमा २१ जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गर्न सफल भएको श्रेष्ठले बताए । 

ब्यूरोले आइतबार मात्रै १० जना कारोबारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्यूरोले लागुऔषध कारोवारमा संलग्न १० जना कारोबारीसँग २ हजार ७०० एम्पुल लागुऔषध पनि बरामद गरेको छ । 

प्रहरीले पछिल्लोपटक फागुन २९ गते सार्वजनिक गरेका कारोबारीमध्ये फागुन १६ गते पक्राउ परेका श्याम गुरुङको जालो खोज्दै जाँदा १० जनालाई पक्राउ गर्न सफल भएको हो । ब्यूरोले फागुन १६ गते शिवपुरी गाउँपालिका ५ नुवाकोट स्थायी घर भई काठमाडौंको बालाजुमा बस्ने ३८ वर्षीय श्याम गुरुङलाई पक्राउ गरेको थियो । प्रहरीले उनको साथबाट बुप्रेनोर्फिन ५ एम्पुल, डाईजेपाम ५ एम्पुल, फेनारगन ५ एम्पुल गरी कुल १५ एम्पुल लागुऔषध बरामद गरेको थियो । 

श्यामको लागुऔषधको जालो खोतल्दै जाने क्रममा प्रहरीले सोही दिन मोरङको मिक्लाजुङ गाउँपालिका ४ स्थायी ठेगाना भएका ३० वर्षीय सोनाम तामाङलाई बोहोराटारबाट पक्राउ ग¥यो । ब्यूरोको टोलीले तामाङको साथबाट २६९ एम्पुल बुप्रेनोर्फिन , २६९ एम्पुल डाईजेपाम, २६९ एम्पुल फेनारगन गरी कुल ८०७ एम्पुल लागुऔषध सहित नियन्त्रणमा लियो । सोही दिन कारोवारमा संलग्न काभ्रेपलान्चोकका ३६ वर्षीय समिर राजभण्डारी र गल्कोट बागलुङका ३२ वर्षीय सुुवर्ण मल्ललाई समेत बोहोराटारबाटै पक्राउ गरेको थियो । 

सोही जालोलाई पछ्याउँदै जाँदा प्रहरीले फागुन १८ गते पर्साको धोविनी गाउँपालिका ५ स्थायी ठेगाना भई काठमाडौंको बालाजु बस्ने ३६ वर्षीय रङमती देवी पटेललाई पक्राउ गरेको थियो । पटेलको साथबाट प्रहरीले बुप्रेनोर्फिन ५५० एम्पुल, डाईजेपाम ५५० एम्पुल, फेनारगन ५५० एम्पुल गरी कुल १ हजार ६५० एम्पुल लागुऔषधसमेत बरामद गरेको थियो । 

सोही दिन कारोवारमा संलग्न रहेका दुधकुण्ड नगरपालिका ८ सोलुखुम्बुका २८ वर्षीय सबिन कुमार श्रेष्ठ, लालबन्दी सर्लाहीका ३५ वर्षीय देव शेख, भिमेश्वर ४, दोलखाका २१ वर्षीय रोशन कुँवरलाई समेत बालाजुबाटै पक्राउ गर्न सफल भयो । 

जालो खोतल्दै जाने क्रममा प्रहरीले फागुन १९ गते हरिहरपुरगढी गाउँपालिका ७ का ३२ वर्षीय प्रकाश जिम्बालाई काठमाण्डौंको गोकर्णेश्वर ४, माईती चोकबाट पक्राउ गर्न प्रहरी सफल भयो ।  जिम्बाको साथबाट ब्यूरोको टोलीले बुप्रेनोर्फिन ७६ एम्पुल, डाईजेपाम ७६ एम्पुल, फेनारगन ७६ एम्पुल गरी कुल २२८ एम्पुल लागुऔषध नियन्त्रणमा लिएको छ । 

 सोही दिन लागुऔषधको कारोवारमा संलग्न बागमती नगरपालिका ३, सर्लाहीका ३८ वर्षीय सागर भन्ने विवै सिंह स्याङतानलाई समेत माइती चोकबाटै पक्राउ गरेको थियो । 

पक्राउ परेका लागुऔषध कारोबारीमध्ये देव शेख यसअघि पनि ब्यूरोबाटै पक्राउ गरी मुद्दा चल्दा २ वर्ष कैद सजाय पाएका व्यक्ति हुन् । शेखविरुद्ध २०७२ असोज २० गते काठमाडौं जिल्ला अदालतमा परेको मुद्दामा दोषी ठहर भई २ वर्ष कैद साजय र १ लाख रुपैयाँ जरिवाना तोकिएको थियो । उनी कैद भुक्तान गरी छुटेका थिए । 

त्यस्तै पक्राउ परेका सोनाम तामाङविरुद्ध समेत ब्यूरोबाट २०७५ मंसिर ३ गते लागुऔषध मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दामा तामाङ दोषी ठहर भई २ वर्ष कैद र १ लाख ५० हजार रुपैयाँ जरिवाना तोकिएको थियो । उनले पनि कैद भुक्तान गरेर बाहिर आएपछि पुनः लागुऔषध कारोवारमा लागेका हुन् । 

फागुन २७ गते ११ जना कारोबारी पक्राउ
त्यसो त प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले फागुन २७ गतेमात्रै लागुऔषधको कारोवारमा संलग्न ११ जनालाई पक्राउ गरी सार्वजनिक गरेको थियो । फागुन २७ गते सार्वजनिक गरेका ११ जना व्यक्तिको साथबाट प्रहरीले ३२२ दशमलब ६ ग्राम खैरो हेरोइन बरामद गरेको थियो । 

खैरो हेरोइनसहित कारोबारी पक्राउको सुरुवात प्रहरीले माघ २४ गतेबाट सुरु गरेको थियो । ब्यूरोका प्रवक्ता एसपी जीवनराम श्रेष्ठका अनुसार खैरो हेरोइन प्रकरणमा प्रहरीले माघ २४ गतेबाट मानिसहरु पक्राउ गर्न थालेको थियो । सोको जालो खोतल्दै जाने क्रममा प्रहरीले फागुन १६ गतेसम्म कुल ११ जनालाई पक्राउ गरेको हो । 

प्रहरीले सबैभन्दा पहिले गत माघ २४ गते काठमाडौंको बुढानीलकण्ठबाट २५ वर्षीय लाल बहादुर बुढाथोकीलाई एकसय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको थियो । म्याग्दीको मंगला गाउँपालिका ५ घर भएका उनलाई प्रहरीले सूचनाको आधारमा पक्राउ गरेको थियो । 

प्रहरीले सोही दिन भिमेश्वर नगरपालिका १३ दोलखा स्थायी ठेगाना भएका २५ वर्षीय कौशल बस्नेत र त्रिपुरासुन्दरा गाउँपालिका २, सिन्धुपालचोक घर भएका ३३ वर्षीय समिर घले गुरुङलाई बुढानीलकण्ठबाट पक्राउ गरेको थियो । उनीहरुको साथबाट प्रहरीले २१ ग्राम ब्राउन सुगर बरामद गरेको थियो ।  

सोही प्रकरणको अनुसन्धान गर्दा प्रहरीले माघ २५ गते बुढानीलकण्ठबाटै कौशल बस्नेतलाई लागुऔषध दिने हल्दिवारी झापाका २४ वर्षीय अन्जान राई २३ वर्षीय संजय लक्सम्बा लिम्बुलाई  ७ दशमलब ५ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको थियो ।  

त्यसैगरी माघ २६ गते अञ्जन राईलाई ब्राउन सुगर दिने बिर्तामोड नगरपालिका ५ झापाका २९ वर्षीय कर्मा भन्ने अजय तामाङलाई २९४ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको ब्यूरोले जनाएको छ । 

सोही दिन प्रहरीले झापाको बिर्तामोड क्षेत्रमा लागुऔषध कारोबारमा संलग्न रहेका २८ वर्षीय पुकार गुरुङलाई पनि पक्राउ गर्यो । सोही दिन झापाको बिर्तामोड नै ठेगाना भएका कौशल बस्नेतलाई ब्राउन सुगर उपलब्ध गराउने दमक नगरपालिका ८ का २८ वर्षीय सुनिल ताजपुरियालाई पक्राउ गरियो । त्यसैगरी फागुन १ गते प्रहरीले भारतको दार्जिलिङ खोरीबारी थाना गोरसिंहजोत पानी ट्याङकी ठेगाना भएका ३१ वर्षीय श्याम भन्ने श्यामल सिंहलाई पनि बिर्तामोडबाट भारतीय नम्बर प्लेटको सवारीसाधसहित पक्राउ गरेको थियो ।

सोही प्रकरणको अनुसन्धानका क्रममा ब्यूरोको टोलीले फागुन १६ गते झापाबाट लागुऔषधको कारोवार गर्ने साविक मोरङको दुलारी गाविस ९ ठेगाना भई सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटर झापामा कार्यरत ३९ वर्षीय सशस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेललाई पक्राउ गरेको थियो । यसरी प्रहरीले करिब एक महिनाको अवधिदेखि अनुसन्धान गर्दै जाँदा दुई दिनको फरकमा लागुऔषको कारोवारमा संलग्न २१ जनालाई पक्राउ गररी अनुसनधान सुरु गरेको छ । 

कारोबारी पक्रन प्रहरीको सक्रियता
लागुऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता एसपी जीवनकुमार श्रेष्ठका अनुसार पछिल्लो समय ब्यूरोले प्रहरी परिचालनलाई तीब्रता दिएको छ । लागुऔषध प्रयोगकर्ता र कारोबारी बढेको भन्दै निगरानी बढाएको ब्यूरोले कारोबारीको जरासम्म पुगेर अनुसन्धान गरेको प्रवक्ता श्रेष्ठले बताए । 

कारोबारी र प्रयोगकर्ता बढेको हो भन्ने रातोपाटीको प्रश्नमा प्रवक्ता श्रेष्ठले भने, ‘२०७६ सालको एक अध्ययन अनुसार प्रयोगकर्ता बढेको देखिएको छ । अहिले हामीले नयाँ अध्ययन गर्न पाएका छैनौं । यद्यपि कारोबारीको सङ्ख्या बढ्नु भनेको कतै प्रयोगकर्ताको सङ्ख्या त बढिरहेको छैन भन्ने प्रश्न पनि आउँछ । जे होस्, कारोबारी पक्राउ पर्ने क्रम जारी छ । ब्यूरो आक्रामक भएर कारोबारीको खोजी गरिरहेको छ । उनीहरु पक्राउ परिरहेका छन् र यो कामलाई हामी निरन्तरता दिँदै छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप