शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बागमतीमा जारी प्रतियोगितामा पुलिसको फराकिलो जित

बिहीबार, ०३ चैत २०७८, २० : २५
बिहीबार, ०३ चैत २०७८

सर्लाहीको बागमतीमा जारी छैठौँ राजर्षि जनक कप फुटबल प्रतियोगितामा नेपाल पुलिसले फराकिलो जित निकालेको छ । बुधबार बागमती नगरपालिका–११, स्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेलमैदानमा सम्पन्न प्रतियोगितामा नेपाल पुलिसले नवजनजागृति क्लब सिमरालाई ५–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

खेलको २०औँ मिनेटमा फ्रिकिक मार्फत गोल गर्दै पुलिसका लागि सौजन राईले खाता खोले । डिबक्स नजिकै सिमराका खेलाडीले फउल गरेपछि पुलिसले फ्रिकिकको मौका पाएको थियो । सोही अवसरलाई राईले कुनै गल्ती नगरी सदुपयोग गरे । यस्तै खेलको २८औँ मिनेटमा पुलिसका कप्तान जुमनु राईको पासलाई रबी शंकर पासवानले गोल पोस्टको दिशा दिन सफल भएसँगै पुलिस खेलको पहिलो आफमा २–० को अवस्थामा पुग्यो । खेलको सुरुदेखिनै नव जनजागृति युवा क्लब सिमरा पुलिसको अगाडि निरिहदेखियो । र, अन्तिम सम्म पनि पुलिस हाबी भइरह्यो । 

प्रतियोगितामा दोस्रो हाफ पछि पनि पुलिसको प्रहारले सिमराको गोल पोस्ट चुमिरह्यो । दोस्रो हाफको पहिलो मिनेटमै पुलिसका निर कुमार राईले गोल गरेपछि खेल ३–० को अवस्थामा पुग्यो । त्यस पछि खेलको ५८औँ मिनेटमा निर कुमार राईको पासमा रबी शंकर पासवाले व्यक्तिगत दोस्रो गोल गरे । भने, खेलको ६३ औँ मिनेटमा निर कुमार राईको कर्नर प्रहारलाई बुद्ध बल तामाङले हेडमार्फत गोल पोस्टको दिशा दिए । 

यसैबीच नव जनजागृति क्लबका गोल रक्षक सुवास बलले पुलिसका खेलाडीको आधा दर्जन सशक्त प्रहार विफल तुल्याए । तर, पनि टिमलाई हारबाट भने जोगाउन सकेनन् । खेलमा नव जनजागृतिका खेलाडीले केही अवसर बनाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । पुलिसको सामु नव जनजागृति युवा क्लब सिमराका खेलाडीको प्रदर्शन निकै फितलो देखियो । सिमराका खेलाडी अधिकांश समय सम्हालिएर खेल्न सकेका थिएनन् ।

जितसँगै नेपाल पुलिसले चैत ६ गते हुने क्वाटरफाइनल खेलमा सुदूरपश्चिम–११, धनगढीसगँ प्रतिस्पर्धा गर्ने भएको छ । यस्तै शुक्रबारको खेलमा न्युरोड टिम एनआरटि र केविए ग्लोबल बिएफसी चितवन भिड्दै छन् । 

जारी प्रतियोगिताको फाइन खेल चैत १३ गते हुने आयोजक क्लबका अध्यक्ष किस्मतराज मैनालीले जानकारी दिए । प्रतियोगितामा १२ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगिताको विजेताले राजर्षि जनक कप, १० लाख १ हजार र उपविजेताले सिल्ड, ५ लाख ५ सय पुरस्कार प्राप्त गर्ने छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप