बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

चुनावी तालमेलको रणनीति तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

बुधबार, १६ चैत २०७८, १५ : ३७
बुधबार, १६ चैत २०७८

स्थानीय तह निर्वाचनबारे रणनीति बनाउन सत्ता गठबन्धन दलको बैठक बस्ने भएको  छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान साढे १० बजे बस्नेगरी बैठक बोलाएको नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । 

‘बिहीबार साढे १० बजे बैठक बस्दैछ । बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुन्छ’, नेता पौडेलले भने, ‘चुनावमा कसरी अघि बढ्ने भन्नेमै छलफल केन्द्रीत हुन्छ ।’ वैशाख ३० गते एकै पटक देशभरका ७५३ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा ५ दलीय सत्ता गठबन्धनमा रहेका दलहरु स्थानीय तहमा पनि तालमेल गरेर उम्मेदवार उठाउने तयारीमा छन् भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले एक्लै चुनाव लड्ने बताउँदै आएको छ । 

सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र जनमोर्चाले आवश्यकताअनुसार स्थानीय तहमा तालमेल गर्नसक्ने निर्णय गरिसकेका छन् । साथै उनीहरुले महानगर र उपमहानगरको हकमा केन्द्रबाटै निर्णय गर्ने तयारी गरेका छन् । 

बिहीबारको बैठकमा गठबन्धनबीच चुनावी तालमेलबारे सैद्दान्तिक र नीतिगत विषयमा छलफल हुने नेताहरुको भनाइ छ ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार चितवन पुगेर बिहीबार बस्ने गठबन्धनको बैठकले महानगरपालिकास्तरमा हुने तालमेलबारे छलफल गरेर निर्णय प्रक्रियामा पुगिने बताए । 

बुधबार चितवन पुगेका प्रचण्डले भोलिको बैठकले सम्भवत महानगरको बारेमा तालमेलको निर्णय हुने र भरतपुरको मेयरमा माओवादीको दावी रहने बताएका थिए । ‘महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने भनेर छलफल चलेको छ । भोलि हाम्रो गठबन्धनको बैठक बस्दैछ । सम्भवतः महानगरपालिकाको बारेमा केही न केही निर्णयमा पुग्छौं’, प्रचण्डले भनेका छन्, ‘तालमेलकै निर्णय हुन्छ, भरतपुरको मेयरमा हाम्रो दाबी रहन्छ ।’ तर, काँग्रेस नेता पौडेलले भने महानगरमा हुने तालमेलबारे भोलि नै निर्णयमा पुग्न सकिने सम्भावना कम रहेको बताए ।

‘पहिला सबै दलको रिपोर्टिङ के कस्तो छ ? त्यो थाहा हुनुपर्यो । त्यसपछि मात्रै कहाँ कुन दलले उम्मेदवारी दिने भन्ने निर्णयमा पुग्न सकिन्छ’, पौडेलले रातोपाटीसँग भने, ‘प्रदेश, जिल्ला र स्थानीय तहको कुरा नबुझिकन हामी माथिमाथिबाट निर्णय गर्दैनौ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप