भारत भ्रमणमा रहेका प्रधानमन्त्री भेटवार्तामा व्यस्त
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार अपराह्न नयाँदिल्ली आइपुगेसँगै उच्चस्तरीय भेटवार्तामा व्यस्त भएका छन् ।
प्रधानमन्त्री देउवाले भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डासँग आजै अपराह्न भेटवार्ता गरेका छन् । त्यस अवसरमा उनीहरूबीच नेपाल–भारत सम्बन्धका साथै द्विपक्षीय हित र साझा चासोका विविध विषयमा विचारविमर्श भएको थियो । साथै उनीहरूले पारस्परिक सम्बन्धलाई अझ प्रगाढ तुल्याउनेबारेमा पनि छलफल गरेका थिए । काँग्रेस र भारतीय जनता पार्टीबीचको सम्बन्धबारे पनि उनीहरूबीच विचारविमर्श भएको छलफलमा सहभागी परराष्ट्रमन्त्री डा नारायण खड्काले जानकारी दिए ।
प्रधानमन्त्रीका साथ प्रथम महिला डा आरजु राणा देउवा, परराष्ट्रमन्त्री खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, स्वाथ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, कृषि तथा पशुपन्छी विकासमन्त्री महेन्द्र राय यादव छन् ।
आजै साँझ प्रधानमन्त्री देउवासँग भारतका बाह्यमामिलामन्त्री सुब्रमन्यम जयशङ्करले शिष्टाचार भेट गरे । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो । भारतीय विदेशमन्त्रीले प्रधानमन्त्री देउवासँग भेट गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै उनको यो भ्रमणले भारत र नेपालबीचको निकट छिमेकको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री देउवा भारतका लागि नेपालका राजदूत शङ्करप्रसाद शर्माले यहाँस्थित नेपाली दूतावासमा आयोजना गरेको स्वागत समारोहमा सहभागी भएका छन् । भोलि चैत १९ गते भारतका प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउसमा प्रधानमन्त्री देउवाले आफ्ना समकक्षी नरेन्द्र दामोदरदास मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने छन् भने प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।
वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वस्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनेक सङ्घर्ष छिचोल्दै सुदूरपश्चिमकै पहिलो महिला डिभिजनल वन अधिकृत बनिन् निर्मला
-
होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा
-
'खान सर'विरुद्ध एफआईआर दर्ता, पक्राउको सम्भावना
-
उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेन: पूर्वअर्थमन्त्री पाण्डे
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण