शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा चुनावी तालमेल : कस्तो ल्याउला परिणाम ?

नेमकिपा र राप्रपा पनि टक्कर दिन कम छैनन्
सोमबार, २८ चैत २०७८, ०६ : ५९
सोमबार, २८ चैत २०७८

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरू आवश्यक तयारीमा जुटेका छन् । चुनावी तालमेलको खाका बनाउने, उम्मेदवारीका लागि दाबी गर्ने र उम्मेदवार छान्ने प्रक्रिया चलिरहेको छ । यसै क्रममा भक्तपुर जिल्लामा पनि चुनावी गतिविधिले तीव्रता पाउन थालेको छ ।

भक्तपुर जिल्लामा ७७ मतदानस्थल र २ सय १९ वटा मतदान केन्द्र तोकिएको छ । स्थानीय निर्वाचनका लागि भक्तपुरमा पुरुष ९२ हजार २६५, महिला ९७ हजार ३१४, अन्य ५ जना गरी कुल एक लाख ८९ हजार ५८४ मतदाता छन् ।

जिल्लाका चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमि गरी चार स्थानीय तहमा सत्तारुढ गठबन्धनले कसरी आपसमा तालमेल गर्ने हुन् भन्ने प्रस्ट भइसकेको छैन । यी पालिकामा सत्तारुढ गठबन्धन र नेकपा एमालेमात्र नभई राप्रपा र नेमकिपा पनि महत्त्वपूर्ण राजनीतिक शक्तिका रूपमा देखिन्छन् । नेमकिपा र राप्रपाले कसैसँग तालमेल नगरेको खण्डमा भक्तपुर जिल्लामा सत्तारुढ गठबन्धन, नेकपा एमाले, नेमकिपा र राप्रपाबीच चार पक्षीय भिडन्त हुने देखिन्छ ।

चाँगुनारायण नगरपालिकाः

२०७४ मा सम्पन्न निर्वाचनमा चाँगुनारायण नगरपालिकाको ९ वडामध्ये एमाले र काँग्रेस ४÷४ वडामा जित हासिल गरेका थिए । यो नगरपालिकाको एउटा वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए ।

मेयर पदमा भने एमालेले बाजी मारेको थियो । मेयरमा एमालेका उम्मेदवार सोमप्रसाद मिश्र ८ हजार ५१२ मतका साथ विजयी हुँदा काँग्रेसका राजाराम ६ हजार ८६९ मत हासिल गरेका थिए । माओवादीका शिवप्रसाद अधिकारीले भने ७०६ मत हासिल गरेका थिए ।

अहिले नेकपा एमाले विभाजित भइसकेको छ । त्यसैले अघिल्लो निर्वाचनमा एमालेले हासिल गरेको मतलाई नै आधारमा मान्ने हो भने पनि अब सो मतबाट नेकपा एकीकृत समाजवादी पार्टीले पनि केही मत काट्ने देखिन्छ । सो पार्टीले एमालेको ५÷७ सय मतमात्र काटेको अवस्थामा पनि सत्तारुढ गठबन्धन हाबी हुनसक्ने देखिन्छ । काँग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत एकत्रित हुँदा ८ हजारभन्दा बढी हुन जान्छ भने एमालेबाट एकीकृत समाजवादीले काट्ने मत ७ सयमात्र रहे पनि एमालेको मत ८ हजारभन्दा तल रहन्छ ।

अर्कोतिर यो पालिकामा राप्रपा र नेमकिपाले पनि राम्रै मत ल्याउन सक्छन् । अघिल्लो निर्वाचनमा राप्रपाका रविन्द्रप्रताप शाहले ५ हजार १९८ र नेमकिपाका न्हुछेभक्त फोजुले ४ हजार ४४२ मत ल्याएका थिए । त्यसैले यी दुई दलले कसैसँग गठबन्धन गर्छन् कि गर्दैनन् भन्ने विषयले पनि जित वा हारको समीकरण फेरबदल हुन सक्छ ।

चाँगुनारायण नगरपालिकामा २१ हजार ९८ पुरुष र २२ हजार ७ जना महिला गरेर ४३ हजार १०५ मतदाता छन् ।

भक्तपुर नगरपालिका

यो नगरपालिकामा नेमकिपा बलियो राजनीतिक शक्ति मानिन्छ । यसै नगरको मतका कारण नेमकिपाले प्रतिनिधिसभा र प्रदेशसभामा एक÷एक सिट हासिल गरेको छ । अघिल्लो निर्वाचनमा भक्तपुर नगरपालिकाको १० वटै वडामा नेमकिपाका उम्मेदवार विजयी भएका थिए । नगरप्रमुखमा नेमकिपामा सुनिल प्रजापति २५ हजार ७ सय ३० ल्याएर विजयी भएका हुन् ।

सो निर्वाचनमा काँग्रेसका रामप्रसाद कासुलाले ६ हजार ५६०, नेकपा माओवादी केन्द्रका सत्यलाल मुलले २ हजार ३१३ र जनमोर्चाका उम्मेदवारले ५४९ मत ल्याएका थिए ।

यो नगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले एमालेको १ हजारदेखि १ हजार ५ सयसम्म मत काट्न सक्ने अनुमान गरिएको छ । यसरी हेर्दा सत्तारुढ गठबन्धनको मत करिब ११ हजार आउन सक्छ । तर, उक्त मत नेमकिपाको वर्चश्व तोड्न पर्याप्त हुने देखिँदैन । अर्कोतिर यो पालिकामा नेकपा एमाले आफै कमजोर देखिन्छ । २०७४ को निर्वाचनमा एमालेका विष्णुप्रसाद सुवाले ४ हजार २ सय १८ मतमात्र ल्याएका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनका लागि भक्तपुर नगरपालिकामा २७ हजार ६५६ पुरुष र २९ हजार ६१४ महिला मतदाता गरी ५७ हजार २७० मतदाता छन् ।

सूर्यविनायक नगरपालिकाः

२०७४ सालको निर्वाचनमा सूर्यविनायक नगरपालिकाका १० वडामध्ये ७ वडामा एमालेका उम्मेवादरले जित हासिल गरेका थिए भने ३ वडामा काँग्रेसले जितेको थियो । नगरप्रमुखमा एमालेका उम्मेदवार बासुदेव थापाले १२ हजार १३५ मत ल्याएर जित हासिल गरेका थिए ।

यस्तै, काँग्रेसका विष्णुराज कार्कीले १० हजार १६५, नेकपा माओवादीका जीवन तलले १ हजार ३८४ मत ल्याएका थिए । एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीले यो नगरपालिकामा ९ सयदेखि १३ सयसम्म मत ल्याउने अनुमान गरिएको छ । एमालेको करिब एक हजार मतमात्र नेकपा एकीकृत समाजवादी पार्टीले काटेको अवस्थामा यो पालिकामा एमाले संकटमा पर्न सक्छ ।

अघिल्लो निर्वाचनमा यो पालिकाको मेयरमा नेमकिपाकी उम्मेदवार मनशोभा सुवालले २ हजार २८०, राप्रपाका प्रवीण शर्मा ढुंगेलले २ हजार १६९ मत ल्याएका थिए । त्यसैले यी दुई दलले कसैसँग तालमेल गर्छन् या गर्दैनन् भन्ने विषयले पनि जित वा हारको समीकरण फेरबदल हुन सक्छ ।

सूर्यविनायक नगरपालिकामा २२ हजार ९ सय पुरुष, २४ हजार ३८५ महिला र अन्य २ जना गरेर ४७ हजार ३६७ मतदाता छन् ।

मध्यपुरथिमी नगरपालिकाः

९ वडा रहेको यो नगरपालिकामा २०७४ सालको निर्वाचनमा ६ वडामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए भने स्वतन्त्र, एमाले र नेमकिपाले १÷१ वडा जितेका थिए ।

नगरप्रमुखमा एमालेका मदन सुन्दर (जुगुलु) श्रेष्ठले १४ हजार मत ल्याएर विजयी भएका थिए भने काँग्रेसका अष्टकुमार कवेले १० हजार ८४६, माओवादी केन्द्रकी प्रतिमा श्रेष्ठले १ हजार २३२ मत ल्याएकी थिइन् ।

यो नगरपालिकामा नेमकिमाको समेत राम्रो उपस्थिति छ । २०७४को स्थानीय तह निर्वाचनमा नेमकिपाले एमालेसँग गठबन्धन गरेको थियो ।

यो नगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार पराजित भए पनि उपप्रमुखमा भने काँग्रेसले नै जित हासिल गरेको थियो ।

यो पालिकामा नेकपा एकीकृत समाजवादीले ६ सयदेखि ९ सयसम्म मत काट्न सके पनि सत्तारुढ गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

मध्यपुर थिमि नगरपालिका २० हजार ५३१ पुरुष, २१ हजार ३०८ महिला साथै अन्य ३ जना गरी कुल ४१ हजार ८४२ मतदाता छन् ।

एमालेको ५५ प्रतिशतसम्म मत काट्ने नेकपा एकीकृत समाजवादीको दाबी

अघिल्लो निर्वाचनमा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा बहुमत सहित जितेको एमालेलाई आउँदो निर्वाचन त्यति सहज देखिएको छैन । पार्टी विभाजन व्यहोरेको एमालेलाई आगामी स्थानीय तहको निर्वाचनमा त्यसको असर कति पर्ने हो भन्ने प्रस्ट छैन ।

एमाले विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीले सबै तहमा कमिटी बनाएर चुनावी तयारी थालेको छ । नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष श्यामसुन्दर बस्नेतले जिल्लामा एमालेको २५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म मत काट्ने दाबी गरेका छन् ।

गठबन्धनलाई सकस, हामीलाई सहजः  एमाले

यता नेकपा एमालेका अध्यक्ष बचन देउजाले पाँच दलीय गठबन्धनलाई भागबण्डा मिलाउन सकस हुने दाबी गरे । देउजाले भने, ‘साथीहरु आफ्नालाई मिलाउन सकिरहनु भएको छैन, अरूलाई त झन् के गर्नु, त्यसैले हामीलाई सहज छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप