बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

महिला मृत्युको विषयमा प्रहरी कार्यालयमै झडप, श्रीमानसहित तीन जना पक्राउ

शुक्रबार, ०२ वैशाख २०७९, १८ : ४०
शुक्रबार, ०२ वैशाख २०७९

बुधबार राति रुपन्देहीको तिलोत्तमामा मृत्यु भएकी महिलाको विषयलाई लिएर शुक्रबार प्रहरी कार्यालयमै प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । तिलोत्तमा–२, जानकीनगर भेटनरी लाइनमा बुधबार राति करिव १० बजे विष सेवनका कारण २९ वर्षीय अमृता खत्रीको मृत्यु भएको हो ।

मृतकका माइतीपक्षले उनको सुनियोजित हत्या भएको दाबी गरेका छन् । शुक्रबार दिउँसो माइतीपक्षले प्रहरीमा अमृताका पति लगायतविरुद्ध किटानी जाहेरी दिएको छ । बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी ठगबहहादुर केसीका अनुसार माइती पक्षले दिएको किटानी जाहेरी अनुसार मृतकका पति प्रेम टण्डन, ससुरा पहलसिंह टण्डन र सासु दिपा टण्डनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तर, माइती पक्षले आरोपितको घरमा तोडफोड गर्ने, प्रहरी कार्यालय परिसरमा पनि उत्तेजित पार्ने काम भएपछि सुरक्षा संवेदनशीलतालाई हेरेर बल प्रयोग गरी उनीहरुलाई त्यहाँबाट हटाएको हो । मृतक अमृताका दाजु पुस्कल खत्रीका अनुसार अमृता माइतीमा बस्दै आएकी थिइन् । बुधबार साँझ साढे ८ बजेतिर प्रेम टण्डनले अमृतालाई फोन गरेर तत्काल घर आउन भन्दै बोलाएका थिए । तत्कालै घर पुगेकी अमृताले ९ बजेर ३१ मिनेट जाँदा दाजुलाई एसएमएस गरेर ‘यिनीहरुले मलाई मार्छन्, यहाँबाट बाहिर निकाल्नुस्’ भनेको माइती पक्षको दाबी छ ।

त्यसको ४५ मिनेटपछि अमृताकै श्रीमानले उनको मृत्युको खबर आफूहरुलाई सुनाएको पीडित पक्षको भनाइ छ । अमृता र उनका पतिबीच केही अघिदेखि नै राम्रो सम्बन्ध नरहेको बताइन्छ । अमृताले विष सेवन गर्नुका पछाडि उनका पतिसहित परिवारका सदस्यहरु जिम्मेवार रहेको माइती पक्षको आरोप छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप