शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुर : काँग्रेसको विद्रोह हारजितको फ्याक्टर बन्ला ?

शनिबार, १० वैशाख २०७९, १८ : २४
शनिबार, १० वैशाख २०७९

जनकपुरधाम उपमहानगरपालिकाको मेयर जनता समाजवादी पार्टी नेपालले पाएपछि धनुषा काँग्रेसमा विद्रोह भएको छ । विद्रोहसँगै जसपबाट बन्ने गठबन्धनका उम्मेदवारलाई कति फरक पार्छ भन्ने हिसाब किताब सुरु भएको छ । 

मेयरमा गठबन्धनबाट जसपाका लालकिशोर साहको नाम चर्चा छ । साहसँगै उनीसहित विष्णुदेव साह, बजरङ्ग यादव, अम्भु साहको नाम पनि सिफारिस भएको छ । यसबारे अन्तिम टुङ्गो लाग्न बाँकी रहेको छ । उता काँग्रेसबाट विद्रोह गरेर मनोज साहले पनि मेयर पदमा उम्मेदवारी घोषणा गरेका छन् । त्यस्तै बलराम महतोले पनि मेयरमा स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उता लोसपाले मनोज चौधरीलाई मेयरको उम्मेदवार बनाएको छ ।

समाचार तयार पार्दासम्म एमालेबाट कसैको नाम टुङ्गो लागेको छैन । उपमहानगरपालिकामा तालमेल गर्ने कि आफ्नै उम्मेदवार उठाउने त्यसको विषयमा एमाले धनुषाले छलफल गरिरहेको छ । लोसपा र एमालेबीच गठबन्धन हुने सम्भावना पनि रहेको छ । 

काँग्रेसका मनोज साहलगायतले काँग्रेसबाट विद्रोह गरे पनि गठबन्धनको उम्मेदवारमाथि कुनै प्रभाव नपर्ने जसपाका नेताहरूले दाबी गरेका छन् । यसअघि पनि तत्कालीन राजपाले मेयर र उपमेयरमा चुनाव जितेको हो । यसपटक त पाँच दलको गठबन्धन छ । त्यसमा हार्ने कुरा नै हुँदैन, मधेस प्रदेशका प्रदेशसभा सदस्य रामअषिस यादवले भने, मनोज साहजीलगायत काँग्रेसका केही कार्यकर्ता विद्रोह गर्दा केही थोरै मत कम होला त्यसले हारजितको फ्याक्टर हुँदैन ।’ विगतभन्दा जसपा झन् बलियो भएको र त्यसमा झन् गठबन्धन बनेकाले पराजित हुने सम्भावना नहुने दाबी गरे । यद्यपि जसपाबाट मेयरको उम्मेदवार बसलाई बनाउने त्यसमा पनि केही मत तलामाथि हुने सक्ने सम्भावना रहेको उनले बताए । 

जस्तोसुकै गठबन्धन बने पनि उम्मेदवारको व्यक्तित्वले पनि मतलाई प्रभाव पार्ने गरेको बताउँदै जसपाले पाँचजनाको नाम प्रस्तावित गरे पनि हालसम्म कसैको नाम टुङ्गो नलागेको बताए । यसपटक जसपा उपमहानगरपालिकाको मेयरमा भारी मतले जित्ने उनले दाबी गरे । 

उता काँग्रेसका मधेस प्रदेश सदस्य जीवनाथ चौधरीले पनि पार्टीमा विद्रोह भए पनि गठबन्धनमा कुनै फरक नपर्ने बताए । जसपालाई मेयर दिँदा पार्टीमा क्षणिक आक्रोश भएको तर त्यो बिस्तारै साम्य हुँदै गएको उनको भनाइ छ । पार्टीको निर्देशन अनुसार नै सबैले गठबन्धनका उम्मेदवारलाई मत हाल्ने उनले बताए । उनले भने, मनोज साहजीलगायतका केही नेता तथा कार्यकर्ताले राजीनामा दिएर हिँडेपछि त्यसले केही क्षति अवश्य भएको छ, केही मत अवश्य काट्नेछ तर त्यो विद्रोहले हारजितको फ्याक्टर बन्दैन ।’

जनकपुरका बीबीसीका पत्रकार वृजकुमार यादवको विश्लेषण पनि त्यही छ । उनले पनि काँग्रेसमा यस्तो विद्रोह पहिला पनि यसरी हुने गरेको जिकिर गरे । आन्तरिक मतभेदका कारण एउटै उम्मेदवारलाई सबै मत कहिले पनि नगएको बताउँदै उनले त्यसैले केही नेता छाड्दैमा गठबन्धनको उम्मेदवारलाई प्रभाव पार्छ जस्तो आफूलाई नलागेको बताए । यद्यपि उम्मेदवारको व्यक्तित्वको कारण केही मत तलमाथि हुनसक्छ तर गठबन्धनकै उम्मेदवार हार्ने सम्भावना निकै कम हुने उनको विश्लेषण छ । पाँच दलीय गठबन्धनका उम्मेदवारलाई हराउन गाह्रो हुने उनले बताए । 

तर अर्का पत्रकार नवलकिशोर यादव भन्छन्, ‘जसपाले लालकिशोर साहलाई उम्मेदवार बनाए मनोज साह नजिते पनि अन्य उम्मेदवार जित्न सक्ने सम्भावना प्रबल छ ।’ लालकिशोर साहले पाँच वर्षको कार्यकालमा गरेको कामबाट जनकपुर महानगरपालिका कुनै पनि मतदाता नरहेको र गठबन्धन भए पनि उनको विकल्प खोज्ने सम्भावना रहेको उनले दाबी गरे । 

काँग्रेसबाट मनोज साहहरूले विद्रोह गरेको विषयलाई पनि गठबन्धनले हल्का रूपमा लिन नहुने उनको सुझाव छ । गठबन्धनको मुख्य घटक काँग्रेस भएको त्यसैमा विद्रोहमा मनोज साह बाहिर देखिए पन भित्रभित्रै अर्को पनि खेल हुनसक्ने भएकाले गठबन्धनले यसलाई हल्का रूपमा लिन नहुने उनको सुझाव छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप