शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

बागीले गठबन्धनमा ‘टेन्सन’ : उम्मेदवारी दर्तापछि पनि सहमतिकै प्रयास

मङ्गलबार, १३ वैशाख २०७९, १४ : ३१
मङ्गलबार, १३ वैशाख २०७९

पाँचदलीय सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएपछि पनि सहमतिको प्रयास गरिने भएको छ । गठबन्धनको निर्णयलाई चुनौती दिँदै कतिपय ‘बागी’ ले आइतबार र सोमबार  उम्मेदवारी दर्ता गराएका थिए ।  तर, शुक्रबार अन्तिम नामावली प्रकाशित नहुँदासम्म उनीहरुलाई उम्मेदवारीबाट पछि हट्न समय रहेकाले अझैपनि गठबन्धनमै जोड दिइएको हो । 

 निर्वाचन आयोगले वैशाख १३ गते उम्मेदवारविरुद्ध उजुरी आह्वान र फिर्ताको समय दिएपछि १६ गते अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका बनाएको छ । यो बीचमा गठबन्धनबाट बागी उम्मेदवारी परेका स्थानीय तहमा फिर्ता लिएर तालमेलकै प्रयास गरिने नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताए। 

‘महानगर र उपमहानगरमा केन्द्रले तालमेल गर्ने घोषणा गरेपनि एकाध ठाउँमा बागी उम्मेदवारी परेको छ। प्रदेश र जिल्लाले गरेको नगर र गाउँमा पनि झन सहमति विपरित उम्मेदवारी परेको छ,’ पुनले रातोपाटीसँग भने, ‘महानगर र उपमहानगरमा तालमेल विपरीत उम्मेदवारी परेको ठाउँमा केन्द्रले सिधै हस्तक्षेप गरेर फिर्ता लिन लगाउँछौँ। नगरपालिका र गाउँपालिका परेका तालमेल विपरीतका उम्मेदवारी प्रदेश र जिल्ला समन्वयले फिर्ता लिन लगाउँछ।’ 
गठबन्धन नीति विपरीत एमालेसँग तालमेल गर्ने काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका उम्मेदवारले फिर्ता लिएर मित्रवत प्रतिस्पर्धा गर्ने पुनले बताए। ‘हामीले सकेसम्म पाँच दलीय गठबन्धनभित्रै तालमेल गर्ने । यदि सहमति नभएमा मित्रवत प्रतिस्पर्धा गर्ने भनेका थियौँ’ पुनले भने, ‘तर गठबन्धन नीति विपरित गएर एमालेसँग तालमेल गरेको पाइयो । त्यो फिर्ता लिएर गठबन्धनकै पक्षमा तालमेल गर्ने वातावरण बनाउँछौँ ।’ स्थानीय चुनावबाट एमालेलाई ब्यालेटबाट परास्त गरिने पुनले दाबी गरे।

 यस्तै नेपाली काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सचिव केशव रिजालले गठबन्धन विपरीत उम्मेदवारी दिएको भएमा फिर्ता हुने बताए । ‘गठबन्धन विपरित उम्मेदवारी दिएको भएमा काँग्रेसले फिर्ता गर्ने छ । अरु दलले पनि फिर्ता गर्न प्रयास गर्नेछ र थप गठबन्धनकै प्रयास गरिने छ,’ रिजालले भने,‘गठबन्धन नीति विपरित एमालेसँग तालमेल भएका उम्मेदवारी फिर्ता लिएर मित्रवत प्रतिस्पर्धा गर्ने वातावरण बनाउँछौँ।’ धेरैजसो नगरपालिकामा एमालेसँग काँग्रेस, माओवादी, जसपा र राष्ट्रिय जनर्मार्चाले तालमेल गरेका छन्। तर, एमाले र एकीकृत समाजवादीले भने कहिँकतै तालमेल गरेका छैनन्।

यी हुन् बागी उम्मेदवारी भएका महानगर–उपमहानगर 
केन्द्रबाट तालमेल भएको पोखरा, भरतपुर, ललितपुर र विराटनगर महानगरमा बागी उम्मेदवारी परेको छ । यस्तै उपमहानगरमा बुटवल, हेटौँडा, धनगढी, जनकपुरधाममा गठबन्धन दलबाटै बागी उम्मेदवारी परेको छ ।
पोखरा महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका ३ जना नेताले मेयरमा बागी उम्मेदवारी दर्ता गराएका छन् । काँग्रेस नेता विमलबहादुर काकी, नन्दूप्रसाद तिवारी र सोमबार ऋषि सापकोटाले बागी उम्मेदवारी दिएका छन्। गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्यले उम्मेदवारी दर्ता गराएका छन्। 

यस्तै चितवन महानगर मेयरमा काँग्रसकै जगन्नाथ पौडेलले उम्मेदवारी दिएका छन्। गठबन्धनबाट माओवादीबाट मेयरमा रेनु दाहाल भएपनि काँग्रेसका नेता पौडेलले बागी उम्मेदवारी दिएका हुन्। विराटनगर महानगर मेयरमा पनि जसपा नेताले उमेश यादवले बागी उम्मेदवारी दिएका छन्। गठबन्धनबाट मेयरमा नागेश कोइराला र उपमेयरमा अमरेन्द्र यादवले उम्मेदवारी दर्ता गराएपनि उमेश यादवले बागी उम्मेदवारी दिएका हुन्।

 ललितपुर महानगरमा काँग्रेस नेता सुविनकुमार शाक्यले उपमेयरमा बागी उम्मेदवारी दर्ता गराएका छन्। मेयरमा काँग्रेस नेता चिरिबाबु महर्जन र उपमेयरमा माओवादीका नेता बाबुराज बर्जचार्यले उम्मेदवारी दर्ता गराएपनि काँग्रेसकै शाक्यले उपमेयरमा दर्ता गराएका हुन्। ललितपुरमा एकीकृत समाजवादीले तालमेल विपरित मेयर उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। मेयरमा हरिकृष्ण थापा र उपमेयरमा उषा बर्जचार्यले दर्ता गराएका हुन्। 
यस्तै बुटवलमा जसपाले मेयर उपमेयरमा बागी उम्मेदवारी दिएको छ।

मेयरमा सुरज हिताङ उपमेयरमा सम्झना पौडेलले उम्मेदवारी दर्ता गराएकी छिन्। त्यहाँ मेयर काँग्रेस र उपमेयर एकीकृत समाजवादीलाई परेको थियो। हेटौँडा उपमहानगरमा पनि जसपाले मेयरमा दीमा लामा र उपमेयरमा हरिहर खतिवडाको नाम दर्ता गराएको छ। मेयर एकीकृत समाजवादी उपमेयर काँग्रेसको भाग पनि परेपनि जसपाले बागी उम्मेदवार उठाएको हो। यस्तै धनगढीमा जसपाले नै मेयरमा कवीन्द्र ऐर उपमेयरमा नन्कली रानाको उम्मेदवारी दर्ता गराएको छ। त्यहाँ मेयर काँग्रेस र उपमेयर माओवादी भएपनि जसपाले बागी उम्मेदवारी दिएको हो। 

जनकपुरमा काँग्रेसका मनोजकुमार साहले मेयरमा बागी उम्मेदवारी दिएका हुन्। जनकपुर मेयरमा जसपा उपमेयर काँग्रेसको भागमा परेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप