मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्ना उम्मेदवारलाई ढाडस दिन शिर्ष नेताको ओईरो: कसले के भने ?

आइतबार, १७ मङ्सिर २०७४, ०९ : २६
आइतबार, १७ मङ्सिर २०७४

कपिलवस्तु - प्रतिनिधिसभा र प्रदेशसभाको मिति नजिकिएसँगै कपिलवस्तुको चुनावी माहोल तातेको छ । यहाँका राजनीतिक दलहरुले घरदैलो र चुनावी सभाहरुलाई पनि बढाउदै लगेका छन् भने उम्मेदवारलाई मतदाताको घरदैलोमा पुग्न तथा चुनावी सभालाई सम्बोधन गर्न भ्याई नभ्याई छ ।

जिल्लामा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दलका उम्मेदवारलाई ढाडस दिन दलका शिर्ष नेताहरुको ओइरो नै लागेको छ । आ– आफ्ना दलका उम्मेदवारलाई हौसला दिनका लागि भन्दै दलका शिर्ष नेताहरु जिल्लामा आएर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

आफ्ना उम्मेदवारलाई जिताउन नेपाली कांग्रेसका सभापती तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्ड लगाएत शिर्ष नेताहरु कपिलवस्तु आए ।

त्यस्तै जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, संघिय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादप पनि कपिलवस्तु आएका थिए । आज मात्रै नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई पनि यहाँ आउँदैछन् ।  भट्टराई कपिलबस्तुकोे मायाँदेवी गाउपालिका १ अन्र्तगत पर्ने बर्रोहा चौराहामा हुने चुनाबी सभालाई सम्बोधन गर्न आज यहाँ आउने कार्यक्रम रहेको जिल्ला संयोजक नारायण खनालले रातोपाटीलाई जानकारी दिए ।

कुन शिर्ष नेताले के भने ?
पकडीमा मंसिर १६ गते शनिबार भएको प्रतिनिधिसभा १ को आमसभालाई अवधी भाषामा सम्बोधन गर्दै प्रचण्डले भने,
-बामगठबन्धनको सरकार बने देशमा कुनै निरङकुशता आउने छैन ।
-चुनाव जित्नकै लागि मात्र निरङकुश शासनको कुरा आएकोले कुनै भ्रममा नपर्न सम्पूर्ण मतदातालाई आग्रह गर्दछु ।

प्रचण्ड प्रधानमन्त्री हुँदा आफ्ना प्रमुख राजनीतिक सल्लाहाकार भएका चन्द्र प्रकाश खनाल (बलदेब) लगाएतका उम्मेदवारलाई ढाडस दिन यहाँ आएका हुन् ।

मंसिर १२ गते मंगलवार तौलीहवाको सभालाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले भने,
-बामपन्थी भन्ने कम्युनिष्टहरुले जनता बोल्ल नपाउने शासन ल्याउन खोज्दै छन्  ।
-एमाले र माओवादी केन्द्रले सत्तास्वार्थको लागि लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले  गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराउँदै छन् ।
-संविधान खत्तम गरेर एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकमा ल्याउन खोजिदै छ ।

उनीसँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोईराला, नेता बालकृष्ण खाँण, उद्योगपति विनोद चौधरी पनि जिल्लामा आएका थिए । नेताहरु कांग्रेसका उम्मेदवार पुर्वराजदुत दीप कुमार उपाध्याय, पार्टी जिल्ला सभापति सुरेन्द्रराज आचार्य, पुर्व सांसद अभिसेक प्रताव शाह लगाएतलाई हौसला दिन आएका थिए ।

मंसिर ६ गते बुधबार दुई चुनावीसभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले भने,
-एमाले र माओबादी केन्द्र विचको पार्टी एकतामा कुनै शंका नगर्न आग्रह गर्दछु ।
-चुनावी माहोलमा तालमेल मात्रै होला भन्ने शंका उपशंका उब्जिएको होला तर, दुई पार्टीबीचको एकताको कोर्स धेरै अगाडि बढेको छ । 
-तपाईंहरु ढुक्क हुनुहोस् चुनावपछि पार्टी एकता हुन्छ ।

चुनावीसभामा माओबादी केन्द्रका नेता रामबहादुर थापा पनि आएका थिए । ओली बामगठबन्धनबाट उठेका बृजेश कुमार गुप्ता, चन्द्र प्रकाश खनाल (बलदेब) लगाएतलाई जिताउन यहाँ आएका थिए ।

कात्तिक २७ गते सोमबार चन्द्रौटामा भएको सभालाई सम्बोधन गर्दै जनमोर्चा अध्यक्ष चित्र बहादुर केसीले भने,
-एमाले र माओवादी केन्द्रसहितका वामपन्थी दल मिल्दा सबैभन्दा ठूलो भुइँचालो कांग्रेसमा आएको छ ।
-राणाशासन र राजतन्त्र फालेर गणतन्त्र ल्याएका नेपाली जनताले कम्युनिष्टले ल्याउने अधिनायकवाद पनि सहन सक्दैनन् । 
-कांग्रेसलाई अनावश्यक चिन्ता नगर्न आग्रह गर्दछु ।

आफ्नो पार्टीबाट उठेका माधबभाट क्षेत्री लगाएतलाई जिताउन केसी यहाँ आएका हुन्  ।

चुनावीसभालाई सम्बोधन गर्न संघियसमाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब लगाएत कपिलवस्तु आइसकेका छन् ।

शिर्ष नेताहरु आएसँगै मतदाता पनि उत्साहित भएका छन् । जिल्लामा नेपाली कांग्रेस र बामगठन्धनका बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

को-को छन् चुनावी मैदानमा ?
तीन निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा नेपाली कांग्रेसबाट क्षेत्र नं १ मा दीपकुमार उपाध्याय, क्षेत्र नं २ मा सुरेन्द्रराज आचार्य र क्षेत्र नं ३ मा अभिषेक प्रताप शाह चुनावी मैदानमा छन् ।

वामगठबन्धनबाट क्षेत्र नं १ मा माओवादी केन्द्रका चक्रपाणि खनाल ‘बलदेव’, क्षेत्र नं २ मा राष्ट्रिय जनता पार्टी परित्याग गरी स्वतन्त्र समूह गठन गरेका पूर्वमन्त्री बृजेशकुमार गुप्ता र क्षेत्र नं ३ मा स्वतन्त्र समूहकै ईश्वर दयाल मिश्र चुनावी मैदानमा छन् ।

प्रदेशसभातर्फ काँग्रेसबाट क्षेत्र नं १ को (क) मा पुरन चौधरी र (ख) मा राजेश आचार्य, क्षेत्र नं २ को (क) मा जवाहरलाल चौधरी र (ख) मा सुधाकर पाण्डेय तथा क्षेत्र नं ३ को (क) मा अजय थापा र (ख) मा वीरेन्द्र कनौडिया चुनावी मैदानमा छन् । 

यसैगरी गठबन्धनबाट क्षेत्र नं १ को (क) र (ख) मा एमालेका विष्णु पन्थी र अन्तराष्ट्रिय खेलाडी फैजुल रहमान (फैजल खाँन), क्षेत्र नं २ को (क) र (ख) मा राष्ट्रिय जनता पार्टी परित्याग गरी सूर्य चिह्नबाट उम्मेदवारी दिएका दीर्गनारायाण पाण्डे र धर्मबहादुर लाल श्रीवास्तव तथा क्षेत्र नं ३ को (क) मा एमालेका अर्जुन केसी र (ख) मा माओवादी केन्द्रका जावेद खाँ चुनावी मैदानमा छन् ।

मतदाता
जिल्लामा ३ लाख ११ हजार ७ सय ६० मतदाता छन् । ९ पदका लागि जिल्लामा २४ दल र स्वतन्त्र गरि १ सय ८१ उम्मेदवार चुनावी मैदानमा छन् । जिल्लामा २ सय ३३ मतदान स्थल र ४ सय १० मतदान केन्द्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप