संसदमा मन्त्रीहरूले नियम मिचेको भन्दै एमालेको आपत्ति
सारांश
- नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ ।
- एमाले प्रमुख सचेतक ऐन महरले नियमावलीको नियम २० को खण्ड ६ विपरीत मन्त्रीहरू सभामुख र बोलिरहेका सांसदको बीचबाट हिँडेको आरोप लगाए ।
- महरले मन्त्रीहरूको व्यवहारप्रति निन्दा गर्दै सभामुखबाट स्पष्ट रुलिङको माग गरेका छन् ।
काठमाडौँ । विपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएको छ । एमाले प्रमुख सचेतक ऐन महरले प्रतिनिधिसभा बैठकमा नियमापत्ति गर्दै प्रतिनिधिसभाको बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावलीको उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका हुन् ।
प्रतिनिधि सभा नियमावली २०७९ को नियम २० को खण्ड (६) बमोजिम नियमापत्ति जनाउँदै महरले मन्त्रीहरूले नै संसद्को गरिमा घटाउने काम गरेको आरोप लगाए । नियमावलीको त्यो बुँदामा ‘सभामुखको आसन तथा बोलिरहेको सदस्यको बिचबाट हिँड्न नहुने’ व्यवस्था छ।
प्रतिनिधिसभाको आकस्मिक समयमा नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले संसदमा आफ्नो धारणा राखिरहेका बेला दुई जना मन्त्रीहरू सभामुखको आसन र बोलिरहेका सांसद मल्लको बिचबाट हिँडेका थिए। सोही दृश्यप्रति लक्षित गर्दै सांसद महरले भने, ‘मन्त्रीज्यूहरू सरासर हिँडिरहनुभएको छ, यो नियम २० को खण्ड ६ विपरित छ। संसद्को गरिमा र मर्यादा कायम राख्नु हामी सबैको जिम्मेवारी हो, तर सरकारको त झन् बढी जिम्मेवारी हुन्छ।’
महरले मन्त्रीहरूको यस्तो व्यवहारप्रति घोर आपत्ति, निन्दा र दुःख व्यक्त गर्दै सभामुखबाट यस विषयमा स्पष्ट ‘रुलिङ’ हुनुपर्ने माग गरे । ‘मन्त्रीज्यूहरूले नियमावलीको धज्जी उडाउनु भएको छ, यसमा सभामुखको ध्यानाकर्षण होस् र आवश्यक रुलिङ गरियोस्,’ उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण