सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण कमजोर बन्यो पोखरामा एमाले

मङ्गलबार, ०३ जेठ २०७९, २१ : ४६
मङ्गलबार, ०३ जेठ २०७९

पोखरा महानगरपालिकालाई २०५४ को स्थानीय निर्वाचनपछि एमालेको गढको रुपमा चिनिन्थ्यो । २०५४ पछिको स्थानीय निर्वाचनमा एमालेले पोखरामा आफ्नो विजयको झण्डा फहराउँदै आएको थियो । तर यसपटकको निर्वाचनमा पोखरा महानगरको निर्वाचनमा एमालेको अवस्था पुरानो मत परिणाम भन्दा साह्रै कमजोर देखिएको छ । नेकपा(एमाले) विभाजनका बाछिटाहरुले पोखरा महानगरपालिकालाई राम्रो असर गरेको देखियो ।

पार्टी विभाजन पनि रक्षात्मक अवस्थामा रहेको एमालेलाई महानगरको प्रमुख र उपप्रमुखको उम्मेदवार चयनको विवादले झन कमजोर बनायो । नेकपा (एमाले)को तर्फबाट मेयरमा टिकट पाएका एमाले नेता दीपक पौडेलको सुन काण्डको भिडियो बाहिरिएपछि  पौडेलको टिकट रातारात खोसेर महानगर प्रमुखको टिकट कृष्ण थापालाई प्रदान गरियो ।

त्यसले पोखरामा महानगरपालिकामा एमालेका संगठन विभाग प्रमुख खगराज अधिकारी गुट र उपमहासचिव पृथ्वीसुब्बा गुरुङको  गुटको अन्तरसंघर्ष झन पेचिलो बन्दै गयो । एमाले भित्रको गुट संघर्ष पार्टीमा मात्र सिमित रहेन मत परिणाममा पनि देखापर्यो । 

नेकपा (एमाले) ले प्रमुख र उपप्रमुख पदमा विजय हासिल गरेका वडाहरूमा पराजय व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भयो । एमालेको गढ मानिएको पोखरा १, २४, २५ र २६ मा पनि गठबन्धनका मेयर उम्मेदवारले लिड गर्दै गएका छन् । पोखरा महानगरका करिब पाँच वटा वडामा नेपाली काँग्रेसले वडा नेतृत्व हत्यायो ।

अहिले गन्दै गरेको ६ वटा वडामा पनि काँग्रेसले नै नेतृत्व गरिरहेको छ भने महानगरका प्रमुख पदमा एकीकृत समाजवादीले अग्रता कायम गरिरहेको छ । पार्टी अन्तर संघर्षलाई व्यवस्थित गर्न नसक्दा एमालेभित्र विभिन्न काण्डका भिडियो र अडियो काण्ड भाइरल बन्दै गएका छन् । पछिल्लो समय प्रकाशित भइरहेको मत परिणाम र अडियो र भिडियो काण्डहरूले एमाले कार्यकर्तामा निराशा पैदा गरेको छ । पार्टीमा रहेको दुई गुटको लडाईले एमाले कार्यकर्ताहरूका बीचमा पानी बाराबारको अवस्था छ । 

यसकारण बलियो बने धनराज 
नेकपा (एमाले) विभाजनपछि एकीकृत समाजवादीमा लागेका धनराज आचार्य पार्टीको कमजोर उपस्थितिका बीचमा पनि ब्यालेटमा भने बलियो देखिए । बलियो पार्टी काँग्रेसको भोटको सहयोगमा निर्वाचन जित्ने योजनामा लागेका आचार्य सुक्ष्म योजनाहरु बनाएर निर्वाचनमा होमिए । 

आचार्यले निर्वाचनका समयावधिमा एमालेमाथि कहिल्यै आलोचना गरेनन् । एमालेलाई चुनावी सभामा आलोचना नगरे वापत आचार्यलाई एमाले कार्यकर्ताहरूले ब्यालेटमा सहयोग गरे । एमाले कार्यकर्ताहरूको सहयोगले नै आचार्यले करिब ३० हजार मतगणना गर्दा निरन्तर अग्रता कायम गरिराखेका छन् ।

केन्द्रमा गठबन्धन भएपनि पोखरामा भने गठबन्धन दलका बीचमा गठबन्धन हुन सकेन । तर धनराजले कसैलाई काखा र पाखा नगरी काँग्रेस र माओवादी कार्यकर्ताको बीचमा समानान्तर सम्बन्ध कायम गरि साझा उम्मेदवार बन्न सफल भए । त्यसको परिणाम पनि ब्यालेटमा देखियो । 

आचार्यले चुनावी अभियान र घरदैलोलाई अलि भड्किलो र उत्ताउलो गर्न सक्थे तर उनले त्यसो गरेनन् । सामान्य तरिकाले घरदैलो र चुनावी सभा गरेका थिए । त्यसको परिणाम नेकपा(एमाले)ले आचार्यलाई कमजोर आँक्यो, त्यहीकारण आचार्यले झन फराकिलो मैदानमा खेल्ने अवसर पाए । 

मत बदर अत्याधिक भएका कारण आचार्यको पराजय सुनिश्चित हुने आकलन गरेको एमालेलाई मतदाता शिक्षा सञ्चालन गरेर मत बदर कम गराउन सक्दा धनराज यतिबेला पोखरा महानगरमा विजयको बाटोमा अगाडि बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप