बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जापानमा ‘आपतकालीन गर्भनिरोधक चक्की’ प्रयोग गर्न महिलाले पुरुषमित्रको लिखित सहमति लिनुपर्ने

मङ्गलबार, १७ जेठ २०७९, १५ : १२
मङ्गलबार, १७ जेठ २०७९

जापानी महिलाले केही समयपछि इमर्जेन्सी प्रेगनेन्सी पिल (आपतकालीन गर्भनिरोधक चक्की) प्रयोग गर्नको लागि तिनको प्रेमी वा श्रीमानको लिखित सहमति लिनुपर्नेछ । यससम्बन्धी कानुन यही वर्षको अन्त्यमा स्वीकृत हुनेछ । जाापनको सन् १९४८ को मातृ सुरक्षा कानुनले जापानी महिलाले शल्यक्रियामार्फत गर्ने गर्भपतनका लागि पुरुषमित्रको सहमती अनिवार्य गराएको थियो । कानुनी सहमती नचाहिने केही अपवादका बुँदा राखिए पनि अभियानकर्मीले यसलाई महिलाप्रति विभेदकारी भन्दै आएका थिए ।

‘शल्यक्रियाबाट गरिने गर्भपतनमा जस्तै औषधीको प्रयोगमार्फत गरिने गर्भपतनका लागि पनि श्रीमानको सहमती आवश्यक छ भन्ने हामीले विश्वास लिएका छौं,’ स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ अधिकारी यासुहिरो हाशिमोतोले यही महिना संसदीय समितिमा भने ।

अभियानकर्मीले जोडीबीच झगडा भएमा वा श्रीमानले महिलालाई बच्चा जन्माउन दबाब दिइरहेको समयमा ‘श्रीमानको लिखित सहमती’ले समस्या सिर्जना गर्ने बताएका छन् । तिनका अनुसार महिलालाई गर्भका लागि करबल गर्नु आफैँमा हिंसा वा यातना हो ।

शल्यक्रियाबाट गरिने गर्भपतनको लागि कानुनले बलात्कार पीडितको हकमा लिखित सहमती नचाहिने भने पनि चिकित्सकले त्यस्तो शल्यक्रिया नगर्ने गरेको विभिन्न घटना बाहिरिएका छन् । यस सन्दर्भमा जापानको स्वास्थ्य मन्त्रालयले चिकित्सकीय संगठनलाई चिठ्ठी नै लेख्नुपरेको थियो ।

गत वर्ष एक जना २१ वर्षे जापानी महिला उनको नवजात बच्चा पार्कमा छाड्दै गर्दा पक्राउ परेकी थिइन् । अदालतमा महिलाले उनका पुरुषमित्रको सहमती पाउन नसकेपछि गर्भपतन गर्न नसकेको बताएकी थिइन् । यौन हिंसामा परेर उनको गर्भ रहेको भए चिकित्सकले उनलाई पुरुषमित्रको सहमती ल्याए मात्र गर्भपतन गराउने भन्दै पन्छिँदै आएका थिए ।

गर्भपतनका लागि तेस्रो पक्षको सहमती आवश्यक पर्ने विश्वमा ११ देशमा जापान पनि पर्छ । विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघीय महिलाविरुद्धको विभेद उन्मुलन समितिले जापानलाई यो अभ्यास अन्त्य गर्न आग्रह गर्दै आए पनि तिनको सुनुवाई भएको छैन ।

जापानको पुरुष बहुल संसदमा महिला स्वास्थ्यको विषयले त्यति महत्व पाउँदैन । महिलाहरुका लागि गर्भनिरोधका खाने चक्कीलाई सहमती दिन नौ वर्ष लगाएको थियो । जबकि पुरुषहरुले प्रयोग गर्ने भियाग्रा बजारमा आएको ६ महिनामै स्वीकृती दिइएको थियो ।

विपक्षी सोसल डेमोक्रेटिक पार्टीका सांसद मिजुहो फुकशिमाले शल्यक्रियाबाट गरिने गर्भपतनको महँगो मूल्य र त्यसका लागि पनि पुरुषमित्रको सहमती आवश्यक पर्ने भएकाले जापानमा कैयौँ महिलाले नचाहेको गर्भ पनि जन्माउनु पर्ने बाध्यता भोगिरहेको बताइन् ।

यही महिना संसदमा बोल्ने क्रममा फुकुशिमाले भनिन्, ‘महिला पुरुषको सम्पत्ति होइन । महिलाले बच्चा पाउनको लागि किन उसको पुरुषमित्रको सहमती लिनुपर्ने ? नौ महिना गर्भ बोक्ने त आखिर महिला हो नि ।’

द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप